ओलीको स्थिर सरकारको अस्थिर मन्त्री, स्थायी सरकारमा पनि यस्तो किन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 02:12:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले ५ वर्षे स्थिर सरकारको नारा दिएर चुनाव जितेको ३ वर्ष पूरा भयो । केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेको पनि २ वर्ष ९ महिना बितिसकेको छ । तर, यस अवधिमा प्रधानमन्त्री र उनका प्रीय पात्र बाहेक अरु सबैको मन्त्रालय पटक पटक हेरफेर हुँदै आएको छ ।

गृह र रक्षाबाहेक अन्य मन्त्रालयमा मन्त्रीहरु फेरबदलको क्रम हालसम्म पनि चलिरहेको छ । केही समयअघि रक्षा मन्त्रीको जिम्मेवारीबाट इश्वर पोखरेललाई मुक्त गर्दै उक्त मन्त्रालय आफू मातहत नै राखेका प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनपछि प्रचण्ड र माधव पक्षका ७ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएपछि एक राज्यमन्त्री र ८ मन्त्री नियुक्त गरे । आफू नेतृत्वको मन्त्रिपरिषद्मा नयाँ अनुहार भित्र्याएका ओलीले पूराना मन्त्रीको जिम्मेवारी पनि हेरफेर गरेका छन् ।

स्वास्थ्य मन्त्री रहेका भानुभक्त ढकाललाई प्रधानमन्त्रीले पर्यटन मन्त्रालयको जिम्मेवारी सुम्पिएका छन् । प्रधानमन्त्री ओलीले संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री रहेका हृदयश त्रिपाठीलाई स्वास्थ्य मन्त्री, कानुन मन्त्री रहेकी डा. शिवमाया तुम्बाहाम्फेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री, भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रहेकी पद्मा कुमारी अर्याललाई कृषि मन्त्री र सहरी विकास मन्त्री रहेका कृष्णगोपाल श्रेष्ठलाई शिक्षा मन्त्री बनाएका छन् ।

मन्त्रालयमा अस्थिरता

स्थिर सरकारको नारा दिएपनि वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुले आफ्नो जिम्मेवारी पटक पटक हेरफेर हुँदा काम गर्न सकेका छैनन् । मन्त्रालयमा पटक पटक मन्त्रीहरु फेरिँदा आफूहरुलाई समेत काम गर्न असजिलो हुने गरेको मन्त्रालयका अधिकारीहरु नै बताउँछन् ।

‘एक जना मन्त्री बनेर आउनुहुन्छ, उहाँले छलफल गरेर केही योजना ठिक्क पार्नु हुन्छ, फुत्त अर्को मन्त्री आइदिनुहुन्छ’ पर्यटन मन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा कार्यरत साथीहरुलाई के कस्तो छ म जान्दिन, तर हाम्रो हकमा भने हिजोका अस्थिर सरकार र अहिलेको सरकारमा केही फरक महशुस गर्न सकेका छैनौँ ।’

हुन पनि पर्यटन मन्त्रालयले मात्रै पछिल्लो २ वर्ष ९ महिनाको अवधिमा ३ जना मन्त्री पाईसकेको छ । ओली प्रधानमन्त्री बनेलगत्तै पर्यटन मन्त्री बनेका रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि योगेश भट्टराई पर्यटन मन्त्री बने । ५ महिना रिक्त रहेको मन्त्रालयमा भट्टराई पुगेपछि उनलाई काम बुझ्नै अर्को ५ महिना लाग्यो । बल्लतल्ल कामका केही छनकहरु देखिनै लागेका बेला मूलुकको राजनीतिक घटनाक्रम अप्रत्याशित रुपमा विथोलियो र फलस्वरुप भट्टराईले मन्त्री पदबाट राजीनामा दिए । उनको ठाउँमा अहिले भानुभक्त ढकाल मन्त्री बनेका छन् ।

पर्यटन मन्त्रालय त एउटा उदाहरण मात्रै हो । स्वास्थ्य र कानुन मन्त्रालयको अस्थिरता झन डरलाग्दो छ । स्वास्थ्य मन्त्रालयमा सुरुमा पद्मा कुमारी अर्याल मन्त्री भईन् । लगत्तै उपेन्द्र यादवलाई स्वास्थ्य मन्त्री बनाएर उनको पार्टीलाई सरकारका भित्र्याईयो । तर, पछि उपेन्द्र यादवलाई कानुनमा पठाएर भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयमा ल्याईयो । अहिले भानुभक्तलाई पर्यटनमा पठाएर हृदयश त्रिपाठीलाई स्वास्थ्य मन्त्री बनाईएको छ । भानुभक्त ढकाल सुरुमा कानुन मन्त्रालयको जिम्मेवारीका साथ मन्त्रिपरिषद्मा पुगेका थिए । 

कानुन मन्त्रालयको नेतृत्व गर्न भानुभक्त ढकाललाई लगिएको भएपनि पछि पार्टीको भागबण्डाका लागि उनको ठाउँमा उपेन्द्र यादवलाई पठाईयो । उपेन्द्र यादवको पार्टी सरकारबाट बाहिरिएपछि डा. शिवमाया तुम्बाहाम्फेलाई कानुन मन्त्री बनाईयो । अहिले डा. तुम्बाहाम्फेलाई भूमी व्यवस्था मन्त्रालयमा पठाएर लीलानाथ श्रेष्ठलाई कानुन मन्त्री बनाईएको छ ।

प्रधानमन्त्री ओलीकै कार्यकालमा श्रम मन्त्रालयमा गोकर्ण विष्ट र रामेश्वर राय यादव हुँदै गौरिशंकर चौधरी सम्मले भाग पाएका छन् । कृषि मन्त्रालयमा पनि चक्रपाणी खनाल, घनश्याम भुसाल र पद्मा अर्याल सम्म पुगेका छन् । 

केही स्थिर देखिएका उर्जा मन्त्रालयमा वर्षमान पुनपछि टोप बहादूर रायमाझी मन्त्री बनेका छन् । उद्योग मन्त्रालयमा मातृका यादवपछि मन्त्री बनेका लेखराज भट्ट यथावत छन् । तर, राज्यमन्त्रीमा भने मोतिलाल दुगडलाई हटाएर अहिले विमला विश्वकर्मालाई भित्र्याईएको छ ।

यी मात्रै नभई गृह र रक्षाबाहेका सबै मन्त्रालयहरुमा मन्त्रीहरु फेरबदल भईरहेका छन् । तर, विज्ञहरु भने अन्तराष्ट्रिय अभ्यास अनुसार कार्यकारी पद मात्रै स्थिर रहने र बाँकी मन्त्रीहरुले प्रधानमन्त्रीकै योजनामा काम गर्ने भएकाले यो सामान्य प्रक्रिया भएको बताउने गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved