सधैँका लागि विस्थापित हुँदै निला माइक्रो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 30, 2020 | 03:23:29 PM मा प्रकाशित

laxmi  sunrise bank

२० वर्ष पूराना सवारी साधन नचलाउने सरकारी निर्णय भएको ५ वर्ष पुग्न लाग्यो । यस बीचमा पूराना सवारी साधनहरु खासै विस्थापित भएको नदेखिएपनि अब भने पूराना सवारी साधन विस्थापनको अभियान तीव्र बन्दैछ ।

यसअघि एलपी ग्यासबाट चल्ने टेम्पो विस्थापित भएको इतिहास हाम्रा सामू छ । अब त्यसैगरी काठमाडौँका सडकमा देखिँदै आएका साना निलो माइक्रो बस पनि विस्थापित हुने चरणमा छ ।

निलो माइक्रो हटाईँदै

सरकारले पौष १७ गते अर्थात् सन् २०२१ जनवरी १ बाट पूराना निलो माइक्रो हटाउने भएको छ । २० वर्ष पूराना सार्वजनिक सवारीका साधन नचलाउने नीति अनुसार पहिलो चरणमा ३ सय वटा निलो माइक्रो हटाउन लागिएको बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

२०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले २० वर्षभन्दा पुराना सवारीसाधनलाई २ वर्षभित्र विस्थापन गर्ने निर्णय गरेको थियो । कालो र हरियो नम्बर प्लेट भएका सवारीमा २० वर्षे र कालो नम्बर प्लेटका विद्युतीय गाडीमा ३० वर्षे हद म्याद लागू भएको थियो । तर, उक्त निर्णयको करिब ५ वर्षपछि निलो माइक्रोसहित १ हजार माइक्रो बस २०२१ को सुरुबाटै बन्द हुँदैछन् । 

काठमाडौंमा ३ सयको हाराहारीमा निलो माइक्रो छन् । बौद्ध, कलंकी र गुर्जुधारा क्षेत्रमा चल्ने यस्ता माइक्रो बसमा आश्रित जनसंख्या ५० हजारभन्दा बढी रहेको व्यवसायीको दाबी छ ।

कहिलेबाट आए निलो माइक्रो ?

सरकारले सन् २००० देखि साना निलो माइक्रो बस भित्र्याएको थियो । ग्यासबाट चल्ने यस्ता निलो माइक्रो बस तत्कालिन सरकारले काठमाडौँमा प्रदूषण कम गर्ने लक्ष्यका साथ भित्र्याएको थियो । उक्त सरकारले यस्ता सवारी साधनलाई प्रदूषण नगराउने सवारीको दर्जा दिँदै सञ्चालनमा प्राथमिकता पनि दिएको थियो ।

१५ सिट क्षमताका निलो माइक्रो बस विस्थापित गर्नुपर्ने कारण भने सरकारले सडक जाम, पूराना बस्तु, प्रदूषण बढी र क्षमता कम हुनुलाई औल्याएको छ । कम क्षमताका यस्ता माइक्रोले साझा बस जस्ता ठूला बसले बोक्न सक्ने क्षमताको एक तिहाई मात्रै यात्रु बोक्ने तर, सडक जाम भने गराईरहने भएकाले अहिले हटाउने निर्णय गर्नु परेको बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

सन् १९९८ यताबाट ग्यासबाटै चल्ने तीन पांग्रे टेम्पो बस पनि सञ्चालनमा आएका थिए । तर, अहिले ग्यासबाट चल्ने टेम्पो बस विस्थापित भइसकेका छन् छन् ।

नीजिमा छैन हदम्याद

निजी सवारीसाधनमा भने चल्न पाउने निश्चित हदम्याद तोकिएको छैन । यस विषयमा हदम्याद लागू गर्ने निर्णय भएकै बेलामा प्रश्न उठेको थियो । तर, सरकारले सार्वजनिक यातायातभन्दा कम मात्रामा चल्ने र वातावरण प्रदूषण पनि कम गर्ने भएकाले नीजि सवारीमा हदम्याद नराखिएको बताएको थियो ।

तर, पछिल्लो समय नीजि सवारीको चाप सडकमा बढ्दो क्रममा छ । सबै यातायात कार्यालयहरु प्रदेश मातहतमा गईसकेकाले सम्बन्धित प्रदेश सरकारले यस विषयमा आवश्यक निर्णय गर्न सक्ने छन् ।

व्यवसायी भन्छन्, ‘बरु विद्युतीय बनाउँछौँ, चलाउन देउ’

व्यवसायीहरु भने निलो माइक्रोलाई आफूहरुले भित्र्याएको २० वर्ष पुगेपनि करिब १५ वर्ष मात्रै चलाउन पाएको बताउँछन् । यस कारण अहिले नै बन्द गर्दा आफूहरुको रोजीरोटी नै गुम्ने भएकाले विकल्पमा छलफल गर्न उनीहरुले आग्रह गर्दै आएका छन् ।

अब केही वर्ष चलाउन पाउने गरी हदम्याद थप गर्नुपर्ने उनीहरुको माग छ । यसका लागि आफूहरुले सबै निलो माइक्रोलाई ग्यासको सट्टा विजुलीमार्फत चलाउन मिल्ने गरी व्यवस्थापन गर्ने उनीहरुले प्रतिवद्धता पनि जनाएका छन् ।

ग्यासबाट चल्ने माइक्रो बसलाई विद्युतीय बनाउन राष्ट्रिय आविष्कार केन्द्रसँग पनि व्यवसायीले छलफल अघि बढाएका छन् । यसका लागि सरकारले तत्काल नीति बनाउनुपर्ने उनीहरुको माग छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved