गाँजा वैधको मुद्दा उठ्दा लोकल रक्सीको किन उठेन ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 03, 2021 | 11:15:44 AM मा प्रकाशित

laxmi  sunrise bank

स्थानीय उत्पादनको ब्राण्डिङ नगरी अर्थोपार्जन सकिन्न भन्ने अर्थविद्हरुको आवाज टड्कारो भईरहँदा घरेलु मदिरा भने सधैँ अवैध ठहरिँदै आएको छ । चाडबाड, रीतिरिवाज र संस्कृतिमा प्रयोग हुने घरेलु मदिराले कानुनी मान्यता नपाएकोमा केही समुदायहरु जहिल्यै चिन्तित छन् । गाउँ घरमा घरेलु मदिरा सेवन गरी झैझगडा हुने, मारपीट हुने जस्ता घटना घट्ने भन्दै सरकारले घरेलु मदिरालाई अवैध मान्दै आएको छ । यति मात्रै नभई मानव स्वास्थ्यमा गम्भीर असर पर्ने भनरे घरेलु मदिरा जहाँ भेट्यो त्यही नष्ट गर्ने अभियान नै चलाईएको छ ।

सर्वोच्चले भनेको के हो ?

सर्वोच्च अदालतले एक वर्षमा जम्मा ३० लिटरसम्म घरेलु रक्सी र ६० लिटरसम्म जाँड बनाउन पाउने फैसला सुनाएको ४ महिना भईसकेको छ । कानुन अनुसार त्यसको जानकारी नियमनकारी निकायलाई गराउनुपर्ने सर्वोच्चको फैसलामा भनिएको छ ।

घरेलु मदिरा तथा मदिराजन्य पदार्थले जीउज्यान, स्वास्थ्य र सम्पत्तिमा हानी पुर्याएको भन्दै उमेर नपुगेका व्यक्तिलाई मदिरा बिक्रीवितरण गर्न नपाइने सर्वोच्चको फैसलामा उल्लेख छ ।

‘विष भए थोरै खाए नि मरिन्छ नि’

घरेलु मदिरा चाडवाड, रीतिरिवाज र संस्कारमा समेत आवश्यक पर्छ । विशेषगरी खस आर्य समुदाय बाहेकका हरेक जसो समुदायमा रक्सी आवश्यक पर्छ । बिबाह लगायतका संस्कारमा पहिलो सगुनका रुपमा रक्सी दिने प्रचलन छ ।

सरकारले घरेलु मदिरा भनेर कानुनी रुपमा बर्जित गरेको रक्सी सर्वोच्चले थोरै चाँही बनाउन पाईने भनेर फैसला गरेको छ । यसलाई घरेलु मदिराले कानुनी मान्यता पाउनुपर्छ भनेर लागेका अभियान्ताहरुले भने हास्यास्पद भनेका छन् ।

‘घरेलु रक्सीलाई कानुनले चिन्दैन भनिन्छ, तर सर्वोच्चले ३० लिटर रक्सी र ६० लिटर जाँड बनाउन पाउने भनेको छ’ एक जना अभियान्ताले भने, ‘विष पनि भन्ने, अनि थोरै खाँदा चाँही मरिँदैन पनि भन्ने ? विष भए त थोरै खाए नि मरिन्छ नि ।’

‘हाम्रो संस्कारमा अनिवार्य रहेको रक्सीलाई कानुनी मान्यता दिईयोस् । खाएपछि झगडा हुन्छ भनेर हाम्रो आफ्नो उत्पादनलाई सधैँ कोमामा राख्ने काम ठिक भएन’ उनले आक्रोश हुँदै प्रश्न गरे, ‘सिल प्याक खानेहरु चाहिँ झगडा गर्दैनन् र ?’

‘गाँजाको कुरा उठ्दा लोकल रक्सीको कुरा किन उठ्दैन ?’

उच्च हिमाली क्षेत्रको भ्रमणमा जाँदा चिसोको समयमा घरेलु मदिरा तताएर खाँदा थकान मेटिएको स्मरण गर्छन् पूर्व प्रशासक दिपक खड्का । त्यतिबेला देखि नै उनले घरेलु मदिरालाई कानुनी दायरमा ल्याएर ब्राण्डिङ गर्नुपर्छ भन्ने आवाज विस्तारै विस्तारै उठाउँदै आएका थिए । सरकारी सेवामा बहाल रहेका बखत आवाज उठाउन नसकेपनि अवकाश पश्चात भने उनले यो आवाज निरन्तर उठाउँदै आएका छन् ।

अहिले गाँजाको विषय चर्कोसँग उठेको छ । तर, सँगै घरेलु मदिराको कानुनी मान्यताको विषयमा भने आवाज नसुन्दा खड्कालाई दुख लागेको छ । 

‘गाँजा हाम्रो सुन हो, यसमा लागेको प्रतिबन्ध फुकुवा गरिनुपर्छ भनेर आवाज उठेको सुन्दछु’ खड्का भन्छन्, ‘सँगै रक्सीको विषयमा पनि आवाज उठेको भए राम्रो सुनिन्थ्यो । विश्वमा सबैभन्दा बढी व्यापार हुनेमा रक्सी पर्छ । तर, नेपाल घुम्न आउँदा विदेशीले चाखेर मिठो, स्वादिलो भनेको रक्सी आफ्नै देशमा गैह्रकानुनी छ ।’

उनले सर्वोच्च अदालतले थोरै उत्पादनको अनुमति दिईसकेकाले अब जतिसक्दो धेरै उत्पादन गर्ने, ब्राण्डिङ गर्ने र विदेशी रक्सीको आयात रोक्ने गरी कानुन बन्नुपर्ने माग पनि गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved