चोक चोकमा ट्राफिकको चिटः नियम हो की नियत ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 13, 2021 | 03:27:25 PM मा प्रकाशित

laxmi  sunrise bank

फाइल फोटो

ट्राफिक प्रहरीले गल्तीको आशय र प्रकृति नबुझी चिट काट्ने गरेको गुनासो धेरैको छ । गल्ती गर्ने नियत नै नहुँदा पनि कुनै पनि समय गल्ती हुन सक्ने भएकाले ट्राफिक प्रहरीले त्यसतर्फ पनि ध्यान दिनुपर्ने नागरिकहरुको आवाज छ । तर, ट्राफिक प्रहरी यो कुरा मान्न तयार छैन ।

गल्ती नै नगरेका सवारी साधनका धनीलाई अनावश्यक झण्झट दिएर जबरजस्ती चिट भिडाईदिने क्रम बढ्यो भनेर ट्राफिक प्रहरी महाशाखाले कमिसन प्रणाली खारेज गरिदिएको छ । पहिला हरेक चिट बराबर उक्त चिट काटेको ट्राफिक प्रहरीले निश्चित रकम कमिसन पाउने व्यवस्था थियो । तर, कमिसनको लोभमा गल्ती नै नगरेका सवारी साधनका धनीलाई चिट भिडाउने क्रम बढ्यो र चोक चोकमा ट्राफिकले एम्बुस नै थाप्न थाले भनेर आलोचना भएपछि कमिसन प्रणाली हटाईएको थियो ।

पत्रकार टेनिश रोकाले एक पटक यस्तै भोग्नु पर्यो । 

उनले भनेका छन्, ‘हतारका कारण ब्लु बुक बोक्न भुलेछु । त्रिपुरेश्वर चेकिङमा लाइसेन्स छाडेर चिट नकाटी दिनुस् भनी ३÷४ मिनेटमा ब्लु बुक बोकेर पुगें । तर, हतार–हतार चिट काटेर लाइसेन्स दिएनन् । सरकार (ट्राफिक प्रहरी) को नीति सामान्य कमी कमजोरी खोज्दै जसरी पनि जनतालाई दुःख र सास्ती दिने हो र ?’

‘हाम्रो काम राजश्व उठाउने होइन’

ट्राफिक प्रहरी महाशाखाका प्रवक्तासमेत रहेका एसपी श्यामकृष्ण अधिकारी ट्राफिक प्रहरीको पहिलो काम दुर्घटना हुन नदिने र जाम हुन नदिने हो भन्छन् । उनका अनुसार राजश्व उठाएर राज्यको खातामा पठाउने जिम्मेवारी ट्राफिक प्रहरीको होइन भनेर खटिने ट्राफिक प्रहरीहरुलाई प्रशिक्षण नै दिने गरिएको छ ।

‘हाम्रो काम पब्ल्किसँग पैसा उठाएर राज्यको खातामा पठाउने होइन, हामीले गलत नियत राखेर नागरिकलाई चिट भिडाउने काम नगर्न प्रशिक्षण नै दिने गरेका छौँ’ एसपी अधिकारीले भने, ‘यदि नियत नै राखेर चिट काटेको पाईयो भने हामीले त्यसरी चिट काट्ने ट्राफिक प्रहरीलाई कारबाही पनि गर्ने गरेका छौँ ।’

‘संसारमा लेन अनुशासन सबैभन्दा महत्वपूर्ण कुरो मानिन्छ, तर हाम्रोमा खाली देख्नासाथ अर्को लेनबाट गाडीहरु कुदाउने गरिन्छ, अनि किन त्यसो गरेको भन्दा खाली थियो अनि हिडेँ भन्ने चालकहरु छन्’ एसपी अधिकारीले भने, ‘रातो बत्ती बलिराखेको हुन्छ, मोटरसाइकल फुत्त छिरिहाल्छन्, किन यसो गरेको भन्दा स्पिडमा थियो, कटिहाले भन्छन् । ट्राफिकले पनि पटक पटक सम्झाएको हुन्छ । एकैपटक झ्याप्पै चिट काट्दैन । मानिसहरुलाई आफ्नो गल्ती स्वीकार गर्न अफट्यारो भएको मात्रै हो ।’

चिट काट्नै जोर विजोर प्रणाली

लकडाउन खुकुलो पार्दै सरकारले जोर विजोर प्रणाली लागू गरेको थियो । चैत्रदेखि असार र साउनसम्म मानिसहरु घर भित्रै बस्न सक्ने अवस्था थिएन । जसका कारण कामको शिलशिलामा मानिसहरु बाहिर निस्कन थाले । निजी र सार्वजनिक दुबै खाले सवारी साधनहरु जोर विजोर प्रणालीका कारण कारबाहीमा परे । 

यसलाई मानिसहरुले निकै आलोचना गरे । आलोचना बढेपछि उपप्रधानमन्त्री इश्वर पोखरेल संयोजक रहेको कोरोनाविरुद्द लड्न सरकारले बनाएको समितिले जोर विजोर प्रणाली हटायो । 

सम्बन्धित क्षेत्रका विज्ञहरुको सुझावका आधारमा समितिले निर्णय गरेको भएकाले चिट काट्नकै लागि जोर विजोर प्रणाली लागू गरियो भनेर भन्न नहुने ट्राफिक प्रहरीको भनाई छ । दिईएको निर्देशन पालना गर्ने भएकाले निर्णय गर्ने तहमा आफूहरुको कुनै भूमीका नभएको एसपी अधिकारीको भनाई छ ।

कुन महिनामा कति राजश्व उठ्यो ?

चैत्र ११ गतेदेखि लकडाउन भयो । तर, ट्राफिक प्रहरीले चैत्र महिनामा लकडाउनको अवधि सुरु हुनु अगाडी नै २३ हजार ८६७ वटा सवारी साधनलाई कारबाही गरेर १ करोड ५० लाख ७३ हजार राजश्व उठाएको थियो । बैशाख र जेष्ठमा लकडाउन भएका कारण एउटै सवारी साधन कारबाहीमा परेनन् ।

असारमा खुकुलो भएको लकडाउनमा १६ हजार ९७३ सवारी कारबाहीमा परे । यसवापत १ करोड ११ लाख २२ हजार राजश्व संकलन भयो । साउनमा ३ हजार २ सय सवारी कारबाहीवापत २१ लाख ७३ हजार ५ सय राजश्व उठेको थियो ।

भदौ महिनामा भने एउटै सवारी कारबाहीमा परेनन् । असोज महिनामा १३ हजार ५३० सवारी साधन कारबाही गरेर ९३ लाख रुपैयाँ राजश्व उठाएको ट्राफिक प्रहरीले कार्तिक महिनामा १२ हजार ९०७ सवारीलाई कारबाही गरेर ८७ लाख ७ हजार ५ सय जरिवाना तिराएको छ ।

मंसिरमा ३३ हजार ५९८ सवारी कारबाही गरेर २ करोड १२ लाख ९४ हजार ५ सय राजश्व संकलन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक छ । पौष महिनामा यो वर्षकै हालसम्मको सबैभन्दा धेरै सवारी साधन कारबाहीमा परेका छन् । पौष २८ गतेसम्म ५४ हजार ५२६ वटा सवारी साधनलाई कारबाही गरी ३ करोड ३८ लाख ४० हजार ५ सय राजश्व संकलन भएको महाशाखाका प्रवक्ता एसपी अधिकारीले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved