ओली र नेपालबीच ५ दशक लामो सहयात्रा : काँध थाप्ने ओली, माधव नेपाल बैगुनी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 17, 2021 | 01:14:00 PM मा प्रकाशित

laxmi  sunrise bank

केपी शर्मा ओली र माधब कुमार नेपाल अहिले एक अर्काका कटु आलोचक भएर निस्किएका छन् । उनीहरुले सार्वजनिक मञ्चबाट एक अर्कालाई खुइल्याउने गरी गरेका भाषणले केपी र माधब हिजो एउटै पार्टीमा कसरी रहे भन्ने स्वभाविक प्रश्न उब्जिन्छ । हुन त तत्कालिन नेकपा एमालेको नवौँ महाधिवेशनबाट ओली अध्यक्षमा निर्वाचित भएपनि माधब नेपालले उनलाई अध्यक्ष मानेनन् । यद्यपी, सार्वजनिक रुपमा उनले त्यसो भन्दै हिडेनन् ।

अहिले दुबै नेताले गर्ने अधिकांश भाषणमा आफू ‘सिनियर’ रहेको दाबी कसिरहेका छन् । यति मात्रै होइन, एकले अर्कालाई विध्वंसको मतियार भएको आरोप पनि लगाईरहेका छन् । 

२८ सालमा पहिलो भेट

केपी शर्मा ओली र माधब कुमार नेपालको राजनीतिक सम्बन्ध ५ दशक लामो छ । पुष्पकमल दाहाल प्रचण्ड राजनीतिक रुपमा संगठित नहुँदै नेपाल र ओलीले संगठनलाई आकार दिलाईसकेका थिए । तर, अहिले उनै केपी र माधब फरक फरक कित्तामा उभिएका छन् । 

२०२८ सालमा माधब नेपाल बैंकमा जागिर गर्थे । तर, उनी त्योभन्दा पहिलेदेखि नै वामपन्थी बनिसकेका थिए । वीरगञ्जको ठाकुरराम बहुमुखी क्याम्पसमा पढ्दा नै नेपाल कम्युनिष्ट बनिसकेका हुनाले त्यतिबेलाका भूमिगत वामपन्थी नेताहरु नेपालको घर र डेरामा पुगिरहन्थे । त्यही शिलशिलामा नेपाल र ओलीबीच भेट भएको थियो ।

ओली र नेपालका समकालिन नेता आरके मैनाली (राधाकृष्ण मैनाली) ले २०२८ सालको अन्तिममा ओली र नेपालबीच रानीमा भेट भएको बताउने गरेका छन् । त्यसपछि बेलाबखत ठाकठुक भएपनि राजनीतिक आन्दोलनमा सँगै रहेका उनीहरुबीच अप्रत्याशित बिग्रह आएको छ ।

माधबको डेरामा ओलीको बास

२०२९ सालमा केपी ओली झापा आन्दोलनका प्रमुख बने । उनलाई प्रहरीले खोजी रह्यो । ओली लुक्ने बासको खोजीमा भौतारिए । प्रहरीले निरन्तर पछ्याउन थालेपछि केपी ओली लुक्दै मोरङ पुगे । 

त्यतिबेला ओलीलाई माधब नेपालले बास दिएर र लुकाएर राखे । आफू जागिर गर्ने र बेलाबेलामा संगठन निर्माणको काममा निस्कने तर ओलीलाई आफ्नो डेरामा लुकाएर ३ महिना माधब नेपालले राखे । पुलिसले ओलीको खोजी तीब्र बनाएपछि २०२९ सालको मंसिर देखि माघसम्म ३ महिना नेता नेपालले आफ्नो कोठामा लुकाएर ओलीलाई जोगाएको आरके मैनाली सम्झिन्छन् । 

वीरगञ्जबाट मोहनचन्द्र अधिकारी र केपी ओली संगठन बनाउन रौतहट हानिने क्रममा २०३० सालमा ओली र मोहनचन्द्र दुबै जना समातिए । संगठन निर्माणका क्रममा ओली समातिएपछि वाम संगठन निर्माण नहुने देखेर माधब नेपाल बैंकको जागिर छोडेर भूमीगत भए ।

‘मोरङमा जागिरको क्रममा रहेका माधब नेपाल आफ्नो घर रौतहट फर्किने बेला भएको चेकजाँचमा उहाँको झोलामा झापा आन्दोलनका पर्चाहरु भेटिएछ’ आरके मैनाली स्मरण गर्छन्, ‘त्यसपछि माधब नेपाल पनि पक्राउ परे । उहाँका बुबा मंगलप्रसाद उपाध्याय रौतहट जिल्ला भरी ख्याती प्राप्त पण्डित थिए, बुबाकै ख्यातीका कारण माधब नेपाल ३/४ दिन हिरासतमा बसेर तारेखमा छुटे । छुटेलगत्तै माधब नेपाल बैंकको जागिर छोडेर भूमीगत हुनु भएको हो ।’

ओलीलाई महासचिवमा पत्याईएन

१४ वर्ष लामो कठोर जेल सजाए भोगेपछि रिहा भएका केपी ओली आक्रामक रुपमा संगठन विस्तार गर्न लागे । माधब कुमार नेपाल पनि पूर्व पश्चिमका सबैजसो ठाउँमा संगठन बनाउन पुग्थे । पार्टीका रणनीतिका सम्बन्धमा प्रशिक्षण पनि उत्तिकै दिन्थे ।

ओली जेलबाट रिहा हुनुभन्दा अगाडी नै २०३९ सालमा सीपी मैनालीलाई कारबाही गरेर तत्कालिन मालेभित्र गुटको विजारोपण गरिएको कथन छ । सीपीलाई एक्लो बनाएको ५ वर्षपछि २०४४ सालमा ओली जेलबाट छुटे । त्यसपछि मदन भण्डारी, माधव नेपाल, केपी ओली र वामदेव गौतम एकै ठाउँमा उभिए । जनकपूरबाट अध्ययनकै क्रममा क्रान्तिकारी बनेर भूमीगत भएका ईश्वर पोखरेल पनि मदन पथमा उभिए । पछि प्रदीप नेपालले पनि साथ दिएपछि मदन भण्डारीले ‘जनताको बहुदलीय जनवाद’ (जबज) को कार्यक्रम अघि सारे । २०४९ सालको पाँचौ महाधिवेशनबाट यो कार्यक्रम पारित भयो । 

दासढुंगामा भएको सवारी दुर्घटनामा पार्टी महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएपछि एमाले नेता बिहिन जस्तै बन्यो । झलनाथ खनाल पहिल्यै नेतृत्वमा पुगेको भएपनि उनले संगठन विस्तारको काम गर्न सकेनन् । मदनको मृत्युपछि पार्टीको महासचिवमा स्वभाविक रुपमा माधब र ओलीको दाबेदारी रहन गयो । तर, ओलीले सार्वजनिक रुपमा आफ्नो दाबेदारी नरहेको, बरु जिम्मेवारी दिए चलाउन सक्ने बताए ।

ओलीमा नेतृत्व क्षमता रहेको भनेर त्यतिबेला नै राधाकृष्ण मैनाली र वामदेव गौतमले भेटेरै ओलीलाई महासचिव बन्न आग्रह गरेका थिए । दुई नेतासँगको भेटमा संगठनका नेताहरुले आफूलाई ‘जुनियर’ भन्ने गरेको र नेतृत्व गर्न सक्छ भनेर विश्वास नगरेको भन्दै ओली महासचिव नबन्ने तर्फ लागे । फलस्वरुप ओलीले महासचिव नबन्ने भनेपछि माधव नेपाल सर्वसम्मत महासचिव बने ।

अनि सम्बध चिसियो

२०५४ सालमा एमाले विभाजन भयो । यसको मूल कारण थियो, महाकाली सन्धी । यो सन्धीमा ओली र नेपाल एक ठाउँमा थिए । वामदेव र सहाना प्रधान फरक धारमा उभिए । मूलतः पार्टी विभाजन नै भयो । त्यसको अवशेषका रुपमा नेकपा माले अहिले पनि मूल धारको राजनीतिमा छँदैछ, केवल भूमीका कमजोर भएको छ ।

पार्टी विभाजनका बखत ओली र नेपालले डटेर त्यो कठोर समयको सामना गरे । ओलीले नेपाललाई कहिल्यै एक्लो हुन दिएनन् । फलस्वरुप वामदेव एउटा टिम लिएर माउ पार्टीमा फिर्ता भए । त्यतिबेला माधब र ओलीले आफूलाई एक अर्काको परिपूरकका रुपमा लिन्थे । यतिसम्म की, उनीहरु कहिल्यै एउटै प्लेनमा यात्रा सम्म पनि गर्दैनथे । किनकी, दुर्घटना हुँदा एउटा मरे पनि अर्को बाँच्नुपर्छ र कम्युनिष्ट आन्दोलनमा उचाईमा पुर्याउनुपर्छ भन्ने पवित्र भावना थियो ।

तर, २०५९ सालमा भएको पार्टीको सातौँ महाधिवेशनमा माधब नेपालले ओलीलाई एक्ल्याए । जनकपुरमा भएको उक्त महाधिवेशनमा वामदेवको समर्थनमा ओलीले महासचिव नभई अध्यक्ष प्रणालीमा जानुपर्ने प्रस्ताव पेश गरे । यसमा नेपालले साथ दिएनन्, र बहुमतबाट प्रस्ताव अस्वीकृत गर्दै नेपाल पुनः महासचिव बने । यसपछि ओली–नेपाल सम्बन्धमा निरन्तर चिसोपना देखिँदै आयो ।

३५ वर्षसम्म गलेको ओलीको काँध

२०६२/०६३ को जनआन्दोलन सम्म आईपुग्दा ओली नेकपा एमालेभित्र फरक धारको राजनीति बढाउँदै थिए । नेपाली काँग्रेसले गणतन्त्र भनेर बोलिनसकेको हुनाले देशमा गणतन्त्र आउँदैन भन्ने ओलीको ठोकुवा थियो । त्यतिबेला नै हो ओलीले ‘बयलगाडा चढेर अमेरिका पुगिँदैन’ भनेको ।

एक त उनलाई एजेण्डामा काँग्रेसको सहमति बिना देश गणतन्त्रमा प्रवेश गर्दैन भन्ने लागेको थियो, अर्को कुरा उनी अस्वस्थ थिए । त्यसकारण जनआन्दोलनमा ओली सडकमा देखा पर्न सकेनन् । दुवै मिर्गौलाले काम गर्न छाडेर सिकिस्त भएपछि उनी जनआन्दोलनलगत्तै भारत गएर मिर्गौला प्रत्यारोपण गरेर फर्किएका थिए । 

पृष्ठभूमीका कुरा आएपनि मूलतः माधब नेपाल महासचिवबाट बाहिरिएपछि ओलीले नेतृत्व पाउने आशा गरिएको थियो । नेपालले राजीनामा दिनुको मूल कारण २०६४ को पहिलो संविधानसभा चुनाव बन्यो । उक्त निर्वाचनमा नेकपा एमालेले बिर्सनलायक हार ब्यहोरेपछि नेपालले नैतिकताका आधारमा महासचिवबाट राजीनामा दिनु परेको थियो । त्यसपछि कार्यबाहक नै भएपनि ओली नेतृत्वमा आउँछन् भन्ने धेरैको अनुमानलाई गलत सावित गर्दै माधब नेपालले झलनाथ खनाल कार्यबाहक बनाईदिए । त्यसपछि ओली निरन्तर नेपाल विरुद्दको राजनीतिमा सक्रिय भए । 

‘२०६४ सालसम्म त केपीले माधबलाई काँधमा बोकेको ३५ वर्ष भईसकेको थियो’ ओली र नेपालका एक जना प्रिय पात्र भन्छन्, ‘तर, माधबले आफूले छोड्दै गर्दा कार्यबाहकको जिम्मा झलनाथ खनाललाई दिएपछि ओलीको चित्त दुख्यो । बरु संगठनात्मक राजनीतिबाट बिलय हुनै लागेका झलनाथ पो एक्कासी उदाए । २०६५ मा भएको पार्टीको आठौँ महाधिवेशनबाट त ओलीलाई हराएर झलनाथ अध्यक्ष नै बने ।’

अध्यक्ष प्रणालीको प्रस्ताव पारित, तर ओली पराजित

अहिले केपी ओलीको सबैभन्दा बचाउ गर्ने नेता हुन् इश्वर पोखरेल । उनी नवौँ महाधिवेशनबाट मात्रै ओली पक्षमा लागेका हुन् । आठौँ महाधिवेशनमा पनि ओलीले बहुपदीय अध्यक्षात्मक प्रणालीको प्रस्ताव गरे । उनको प्रस्ताव पारित भयो, सोही प्रणाली अनुसार ओली र झलनाथ अध्यक्षको चुनावी मैदानमा होमिए ।

आफ्नो प्रस्ताव पारित भएपनि माधब नेपालको असहयोगका कारण ओली अध्यक्षमा खनालसँग पराजित भए । इश्वर पोखरेल खनालको समूहबाट महासचिवमा निर्वाचित बने । २०७१ सालमा भएको नवौँ महाधिवेशनमा पोखरेल ओली तिर आए र महासचिवमै दोहोरिए ।

त्यतिबेला ओलीले नेपालको साथ खोजेका थिए । तर नेपाल सर्वसम्मत अध्यक्ष हुनुपर्ने भन्दै तटस्थ बसिदिए । 

ओलीलाई जिम्मेवारी दिन नेपाल अनिच्छुक

२०६४ सालको निर्वाचनबाट पहिलो पार्टी बनेको तत्कालिन मओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेका थिए । उनले प्रधानसेनापति रुक्माङ्गत कटुवाललाई हटाउने निर्णय गरे । तत्कालिन एमालेका नेता ओली र नेपालले प्रचण्डको उक्त कदमको खुलेर विरोध गरे । अन्ततः प्रचण्डले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भयो ।

माओवादी पुनः आन्दोलनमा पुग्यो । तर, ओलीले काँग्रेसको समर्थन लिएर नेपाललाई प्रधानमन्त्री बनाए । नेता नेपाल प्रधानमन्त्री हुँदा ओलीले दह्रोसँग हात दिए । त्यसकैको कारण माओवादी आन्दोलनको निशानामा ओली थिए । 

आफूलाई दर्विलो हात दिएर पटक पटक सहयोग गरेका ओलीलाई भने नेता नेपालले पार्टीको जिम्मेवारी दिन कहिल्यै इच्छा गरेनन् । २०७० सालको दोस्रो संविधानसभा निर्वाचनपछि तत्कालिन नेकपा एमालेको संसदीय दलको नेता चयन गर्ने विषयमा ओलीले पुनः नेपालको साथ खोजे । तर, नेपालले झलनाथ खनाललाई साथ दिए । नेपालको सहयोग बिना नै बहालवाला अध्यक्षलाई हराउँदै ओली संसदीय दलको नेतामा निर्वाचित भए ।

अन्ततः ४८ वर्ष लामो सहयात्रामा पूर्णविराम !

२०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनमा ओलीले आफू सर्वसम्मत अध्यक्ष बन्ने आशा राखेका थिए । वामदेव र इश्वर पोखरेल पनि आफूसँग भएकाले यसपटक प्रत्याशी कोही हुँदैनन् होला भन्ने ओलीको अनुमान थियो । ओलीको अनुमानलाई गलत सावित गर्दै नेता नेपाल आफैँ अध्यक्षको दाबेदारका रुपमा प्रस्तुत भए । तर, ओलीले माधब नेपाललाई ४२ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भए । 

‘जम्मा ४२ भोटले हारेको त हुँ नि’ भन्दै माधब नेपालले ओलीलाई अध्यक्ष स्वीकार नै गरेनन् । औपचारिक मञ्चमा बाध्यताले उभिएपनि सार्वजनिक मञ्चहरुमा माधब नेपाल ओलीलाई अध्यक्ष स्वीकार्दैन थिए । केपी ओली पहिलोपटक प्रधानमन्त्री बनेको समयमा तत्कालिन माओवादीले काँग्रेससँग मिलेर अविश्वासको प्रस्ताव पेश गर्दा पनि माधब नेपालले बचाउ गरेनन् । 

माओवादीसँग चुनावी तालमेल गरेर बहुमत हासिल गरेपछि ओली प्रधानमन्त्री बने । पार्टी एकता भएपछि ओलीले नै नेपाललाई तेस्रो वरियतामा राखेका थिए । मन्त्रीहरु छनौट गर्दा पनि ओली नेपालसँग छलफल गर्थे । तर, झलनाथ खनालको विरोधपछि माधब नेपाल चौथा वरियतामा झारिए ।

बालुवाटारमा माधब नेपालको जन्मदिनमा केक काटियो । तर, पार्टी भित्रको आन्तरिक किचलोले दुई नेताबीच यति फाटो ल्याईदियो कि, मिर्गौला फर्ने समयमा नेता नेपालले दिएको स्वास्थ्य लाभको कामनासमेत ओलीले अस्वीकार गरे । 

पार्टी भित्रको समिकरणमा आफू अल्पमतमा परेपछि प्रधानमन्त्री केपी ओलीले पौष ५ गते प्रतिनिधि सभा नै भंग गरिदिए । त्यसपछि नेपाल प्रचण्डको साथमा छन् । बराबर हैसियतको अध्यक्ष पनि बनाईएका छन् । तर, ओली र नेपालबीच आरोप प्रत्यारोपको श्रृङ्खला भने अस्वभाविक रुपमा बढ्दो छ । 

२०२९ सालदेखि साथमा रहेका यी दुई राजनीतिक हस्तिहरुले अन्ततः ४८ वर्ष लामो सहयात्रा, सहकार्य र सम्बन्धमा पूर्णविराम लगाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved