चुनाव खर्च जुटाउन खाने तेलको मूल्य बढाईएको हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 19, 2021 | 10:23:08 AM मा प्रकाशित

laxmi  sunrise bank

बजारमा खाने तेल र फलामे डण्डीको भाउ अस्वभाविक रुपमा बढेको विषयमा वाणिज्य विभागले प्रश्न उठायो । उद्योगी र व्यवसायीसँग मूल्य बढाउनुको कारण पनि माग गरेको थियो । उद्योगीले बुझाएको प्रज्ञापनपत्र हेरेपछि विभागले मूल्य बढ्नु स्वभाविक हो भन्ने निष्कर्ष निकाल्यो । 

तीन महिना अगाडीको तुलनामा खाने तेलको मूल्यमा भारी बढोत्तरी भईरहेको छ । तोरीको तेलको मूल्य एक लिटरमा ४० रुपैयाँ, सनफ्लावर (सूर्यमुखी) तेलको भाउ लिटरमै ४० रुपैयाँ र भटमासको तेलको मूल्य लिटरमा २५ रुपैयाँसम्मले बढेको छ । तेल बढी खपत हुने तिहारमा समेत नबढेको मूल्य अहिले एकाएक बढ्नुलाई विभागले स्वभाविक भनेपछि नागरिकले प्रश्न उठाउन थालेका छन् । 

मूल्य बढ्नु कसरी सही ?

उद्योगीहरुले विभागलाई बुझाएको प्रज्ञापनपत्रमा बाहिरबाट आयात हुने कच्चा पदार्थको भाउ उतै बढेकाले त्यसको प्रभाव नेपालमा पनि परेको भनिएको थियो । विभागले पनि उद्योगीहरुले भनेकै कुरालाई सदर गरिदिएको छ । 

विभागका निर्देशक शिवराम सेँढाइ उद्योगीहरुले बुझाएको प्रज्ञापनपत्र हेर्दा आयात हुने बस्तुको भाउ सम्बन्धित देशबाटै बढेर आएको देखिएको बताउँछन् । सोही अनुसार नेपालमै उत्पादन हुने खाने तेलको भाउ पनि बढेको विभागको तर्क छ ।

‘कच्चा पदार्थको भाउ भारत लगायतका देशमै बढेको छ, त्यसैले उत्पादन लागत नै बढ्न गएको हो भन्ने उद्योगीहरुको कुरा ठिक देखियो’ सेँढाइ भन्छन्, ‘उनीहरुले कच्चा ल्याउँदा तिरेको पैसा र उत्पादन लागत हेर्दा अनावश्यक रुपमा मूल्य बढाए भन्न मिल्ने अवस्था देखिएन ।’

उद्योगीहरुका अनुसार नेपालको तेल उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ विदेशबाट आयात गर्नुपर्छ । भटमास र सुर्यमुखीको उत्पादन एकदमै न्युन हुने भएकाले ९५ प्रतिशत विदेशबाटै आयात गर्नुपर्छ । तोरी पनि कम उत्पादन हुने भएकाले विदेशबाट नै आयात हुन्छ । त्यसैले सबै कच्चा पदार्थका लागि विदेशी बजारमा नै निर्भर हुनुपर्ने भएकाले अन्तराष्ट्रिय बजारमा हुने मूल्यको फेरबदलको सोझो प्रभाव नेपालका तेल उद्योगमा पर्ने उद्योगीहरुको दाबी छ ।

अन्तराष्ट्रिय बजारमा कति छ भाउ ?

कोरोना भाइरसका कारण कतिपय देशमा यसवर्ष कृषि उत्पादन घट्यो । यसैकारण तोरी, सुर्यमुखी र भटमासको दानाको मूल्य उकालो लागिरहेको र त्यसको असर यहाँ देखिएको उद्योगीहरुको भनाई छ ।

भारतमा तोरीको दाना टनको ९ सय भारुले बढिसकेको बताइन्छ । आजभन्दा ३ महिना पहिला तोरीको दाना प्रतिटन ५३ सय भारु भएपनि अहिले त्यो बढेर प्रतिटन ६२ सय भारु पुगेको छ । सनफ्लावर पनि ८ सय डलर प्रतिटनबाट बढेर १२ सय डलर पुगेको छ । भटमासको मूल्य पनि टनमा १५० डलरले बढेर ९ सय डलर पुगेको छ ।

‘तोरीको दानाको मूल्य बढेको आधारमा हिसाब गर्ने हो भने त तोरीको तेल लिटरमै ८० रुपैयाँले बढ्नुपर्ने हो’ बनस्पति घ्यू तेल उत्पादक संघका अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघको कर तथा राजश्व समिति सभापति सन्दीप कुमार अग्रवाल भन्छन्, ‘तर, नेपालका उद्योगीहरुले ४० रुपैयाँ मात्रै बढाएका छन् । मूल्य बढ्नु हुँदैन भन्नेमा हामी पनि छौँ, तर आयात गर्नुपर्ने कच्चा पदार्थकै मूल्य बढेपछि यहाँ त स्वभाविक रुपमा बढ्ने नै भयो । कि उत्पादन नै गर्नु भएन ।’

चुनावी खर्चको मेलो

सरकारले प्रतिनिधिसभा भंगपछि आगामी वैशाखमा चुनावको मिति घोषणा गरेको छ । मूलुकको अर्थतन्त्र धाराशायी बन्दै गएको अवस्थामा चुनाव घोषणा हुनुलाई नौलो मानिरहेको सर्वसाधारण भने चुनाव खर्च जोहो गर्नकै लागि निरन्तर भईरहेको मूल्य वृद्धिमा सरकार आँखा चिम्लेर बसेको आशंका गर्न थालेका छन् । 

अझ उद्योगपति मोतिलाल दुगडलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो विशेष आर्थिक सल्लाहकार बनाएपछि आशंकाको घेरा अझ फराकिलने बन्दै गएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved