पौषमा मात्रै ७६ हजार घरजग्गा किनबेच, कुन मालपोतबाट कति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 22, 2021 | 01:19:19 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण सुस्ताएको घरजग्गा कारोबारले लय समात्न थालेको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पौष महिनामा मात्रै देशभर ७६ हजार ५३२ घरजग्गा किनबेच भएका छन् । मंसिर महिनामा ६१ हजार ४५१ घरजग्गा किनबेच भएकोमा पौषमा आइपुग्दा यो संख्या १५ हजारले बढेर ७६ हजार नाघेको हो ।

‘अनलाइन प्रणालीले कारोबार बढायो’

मूलुकभर रहेका १२६ मालपोत कार्यालयमध्ये अहिले १०८ कार्यालयमा अनलाइन प्रणालीमार्फत काम हुन्छ । अनलाइन प्रणाली लागू भएपछि कारोबार बढेको विभागका महानिर्देशक शेषनारायण पौडेल बताउँछन् । उनका अनुसार हाल दैनिक ५ सयको संख्याको घरजग्गा कारोबार हुँदै आएको छ ।

‘हामीले १०८ मालपोत कार्यालयहरुमा अनलाइन प्रणाली लागू गरेका छौँ, अनलाइनमा दैनिक कारोबार संख्या र रिपोर्ट हेर्न सक्ने प्रवन्ध पनि मिलाएका छौँ’ महानिर्देशक पौडेल भन्छन्, ‘अनलाइन प्रणाली भएका मालपोत कार्यालयहरुको कारोबार धेरै छ । अनलाइन सुरु गरेकै कारण कारोबार बढेको हो ।’

अनलाइन प्रणाली सुरु गरेपनि पूराना कर्मचारी र सेवाग्राही अभ्यस्त नहुँदा केही समस्या भने रहेको उनको भनाई छ । यद्यपी, अनलाइन प्रणालीमा विश्वास जगाउने गरी विभागले स्थानीय तहहरुसँग मिलेर तालिम पनि सञ्चालन गरिरहेको पौडेल बताउँछन् ।

अनलाइन प्रणालीको सहजताकै कारण पौष महिनामा ६९ हजार १८२ घरजग्गा रोक्का र ४० हजार २६५ घरजग्गा फुकुवा गरिएको छ । 

७१ अपार्टमेन्ट खरिद बिक्री

भूकम्पपछि सुस्ताएको अपार्टमेन्टको खरिद बिक्रि विस्तार लयमा फर्किदै थियो, तर लकडाउन भएपछि मानिसहरु शहरबाट गाउँ फर्किन थाले । लकडाउनकै कारण थला परेको अपार्टमेन्टको कारोबार पनि उकालो लाग्न सुरु गरेको छ ।

पौष महिनामा सामूहिक अवासिय भवनका ७१ वटा अपार्टमेन्ट खरिद बिक्री भएका छन् । यीमध्ये ३३ ललितपुरको लगनखेल मालपोतबाट, १३ डिल्लीबजार मालपोतबाट, ११ टोखा मालपोतबाठ र ४ कलंकी मालपोतबाट किनबेच भएका छन् । बाँकी १० भने काठमाडौँ बाहिर कास्की मालपोतबाट किनबेच भएको विभागको तथ्यांकमा उल्लेख छ । 

मंसिर भने महिनामा ८७ अपार्टमेन्ट खरिद बिक्री भएका थिए । 

काठमाडौंका कुन मालपोतबाट कति किनबेच ?

काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौँ, भक्तपूर र ललितपूर) मा ९ वटा मालपोत कार्यालय छन् । यी मध्ये पौष महिनामा लगनखेल मालपोतबाट २ हजार १०७ घरजग्गा किनेबच भएका छन् । गोटिखेल मालपोतबाट ४३, डिल्ली बजार मालपोतबाट ३७९, चावहिल मालपोतबाट ८८७, कलंकी मालपोतबाट १ हजार ५६४, साँखु मालपोतबाट ९५१, मनमैजु मालपोतबाट ६६० र टोखा मालपोतबाट ३८६ घरजग्गा किनबेच भएका छन् ।

इनरुवा मालपोत पहिलो

पौष महिनामा सबैभन्दा धेरै कारोबार सुनसरीको इनरुवा मालपोत कार्यालयबाट भएको छ । यो मालपोत कार्यालयबाट मात्रै ३ हजार ५९१ घरजग्गा किनेबच भएका छन् । 

दोस्रो नम्बर मोरङको बेलवारी मालपोत कार्यालय परेको छ । बेलवारीबाट पुसमा मात्रै ३ हजार २२५ घरजग्गा किनबेच भएका छन् । मोरङकै विराटनगर मालपोतबाट १ हजार ८५६ घरजग्गा कारोबार हुँदा  रङ्गेली मालपोतबाट ६०९ घरजग्गा किनेबच भएका छन् । 

पौषमा झापाको भद्रपुर मालपोतबाट २ हजार ६९२ र दमक मालपोतबाट १ हजार ४ सय घरजग्गा किनबेच भएका छन् । 

पौषमा ६ अर्ब ६५ करोड राजश्व उठ्यो

पौष महिनामा देशभरका मालपोतबाट २ लाख १४ हजार ४६० सेवा प्रदान भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जनाएको छ । लिखत पारित, नामसारी, संसोधन, हालसाविक, रोक्का, फुकुवा, अपार्टमेन्टको लिखत पारित, जग्गा दर्ता, दाखिल खारेज, मोही हक कायम, मोहीयानी हक नामसारी, मोही लागत कट्टा, जग्गा बाँडफाँड, प्रतिलिपि जस्ता शिर्षकमा सेवा प्रदान गरेवापत पौष महिनामा ६ अर्ब ६५ करोड राजश्व संकलन भएको छ ।

विभागको तथ्यांक अनुसार मंसिरमा ५ अर्ब १४ करोड ४८ लाख रुपैयाँ राजश्व संकलन भएकोमा पौष महिनामा बढेर ६ अर्ब ६५ करोड ६३ लाख ५५ हजार रुपैयाँ पुगेको छ । 

रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ७४ करोड २३ लाख, पुँजीगत लाभकरबाट १ अर्ब ६७ करोड ८३ लाख, सेवाकरबाट ४३ करोड ३९ लाख, बागमति सभ्यता शुल्क शीर्षकबाट १९ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन भएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved