विकासको हल्लाले यी ठाउँमा रातारात आकाशियो जग्गाको भाउ

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 26, 2021 | 04:13:10 PM मा प्रकाशित

sarbottam cement

काठमाडौँ उपत्यका आसपासमा विकासको हल्लाले जग्गाको भाउ आकाशिएको छ । रियलस्टेट एजेन्सीहरु भौतिक विकासको हल्लाका कारण जग्गाको भाउ बढ्ने गरेको बताउँछन् । हल्ला चलेको दशौँ वर्ष भईसक्दा पनि परियोजना निर्माण भने सुरु भएको हुँदैन, तर जग्गाको भाउले आकाश छोईसकेको हुन्छ ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागमा उल्लेख भएका घर जग्गा कारोबारको तथ्यांक हेर्दा पनि त्यस्ता क्षेत्रमा बढी कारोबार देखिन्छ, जहाँ विकासे आयोजना बन्ने हल्ला चलेको हुन्छ । 

टोखा–छहरे सुरुङमार्ग

टोखा–छहरे सुरुङमार्ग बन्ने चर्चा चल्नासाथ जग्गाको भाउ अस्वभाविक रुपमा आकाशिएको छ । सुरुङमार्ग सँगै चीनबाट आउने रेल पनि त्यतै कतै मिलनबिन्दु बनाएर स्टेशन रहने हल्लाले अहिले जग्गाको भाउ तेब्बरसम्म बढेको छ । 

टोखाको झोर वरपर अहिले एक आना जग्गा किन्न १५ लाख रुपैयाँ खर्चिनुपर्ने अवस्था आइसकेको छ । जबकी ४ वर्षअघिसम्म सो क्षेत्रमा जग्गाको भाउ २ देखि ३ लाख रुपैयाँ आना पथ्र्यो । टोखाको झोरको भित्री गल्लीमा पनि आनाको १५ लाख पुगिसक्यो । मुख्य सडक छेउको जग्गाको भाउ त ३० लाख रुपैयाँ प्रतिआनामा पनि पाउन मुस्किल भइसक्यो ।

टोखा मालपोत कार्यालयको पछिल्लो तथ्यांकले पनि त्यस क्षेत्रमा घरजग्गा कारोबार बढेको देखाएको छ । चालु आर्थिक वर्ष २०७७/७८ को पौष महिनामा मात्रै टोखा मालपोतबाट ३८६ घरजग्गा किनबेच भएका छन् ।

नागढुंगा–नौबिसे सुरुङमार्ग 

नागढुंगा–नौबिसे सुरुङमार्गको हल्ला चल्न सुरु भएदेखि नै सो क्षेत्रमा जग्गाको भाउ आकाशिन थालेको हो । अहिले निर्माणको काम नै सुरु भएपछि त्यस वरपर जग्गाको भाउ छोइनसक्नु बनेको छ ।  

धादिङतर्फको भेगमा आनाको ५ लाख रुपैयाँमा बिक्रि हुन गाह्रो पर्ने जग्गाको भाउ अहिले आनाको १६ लाखसम्म पुगेको छ । सुरुङको काठमाडौँ पट्टिको जग्गाको भाउ आनाकै २५ लाख रुपैयाँसम्म छ । सुरुङमार्गको ३ किलोमिटर क्षेत्रसम्म जग्गाको भाउ १८ लाख रुपैयाँ प्रतिआना छ ।

कलंकीबाट १० किलोमिटर टाढाबाट सुरु हुने सुरुङमार्ग छेउछाउमा जग्गा खरिद गर्न पुग्नेहरुको संख्या बढेको घर जग्गा व्यवसायी सुरेन्द्र कुमार कार्की बताउँछन् । पूराना व्यवसायी होम बहादुर बुढाथोकी आजभन्दा ३ वर्षअघिसम्म ५ देखि ६ लाख रुपैयाँ आनामा पाईने जग्गा अहिले १८ लाख रुपैयाँ पुगेको बताउँछन् । 

धादिङतर्फको प्रवेशद्धार छेउको भित्तो पाखोको भाउ समेत आकासिएको छ । घरजग्गा एजेन्सीहरुले सुरुङमार्ग बनिसकेपछि १५ मिनेटमै कलंकी पुग्न सकिन्छ भनेर उक्साएर जग्गाको भाउ बढाईरहेका छन् । पाखो भित्तोमा अहिले प्लटिङ निर्माण पनि थालिसकेका छन् । त्यहाँ अहिले जग्गाको भाउ प्रतिआना १५ लाख रुपैयाँ पुगेको छ । 

काठमाडौँ–तराई द्रुतमार्ग

काठमाडौँ–निजगढ द्रुतमार्ग निर्माणको काम नेपाली सेनाले गर्दैछ । काममा ढिलाई भएर निर्माण सम्पन्न हुनेतर्फ परियोजना अगाडी नबढेपनि आसपासको जग्गाको भाउ भने निरन्तर उकालो लागिरहेको छ । 

काठमाडौँ–तराई द्रुतमार्गमा पर्ने ललितपुरको खोकनामा स्थानीय बासिन्दा आन्दोलित भइरहन्छन् । विभिन्न माग राखेर स्थानीय आन्दोलनमा उत्रिएपनि रियलस्टेट एजेन्सीहरुले जग्गाको भाउ ५ गुणासम्मले बढाएका छन् । आजभन्दा ४ वर्ष अगाडीसम्म करिब ४ लाख रुपैयाँ आनामा पाईने सो क्षेत्रको जग्गा अहिले प्रतिआना कम्तीमा १० लाख पुगेको छ । 

‘म खोकना क्षेत्रमा धेरै पटक पुगेको छु, आजभन्दा ५ बर्षअघि त्यहाँ लाख रुपैयाँमा रोपनी नै किन्न सकिन्थ्यो’ बुढाथाकी भन्छन्, ‘अहिले फास्ट ट्रयाकको हल्ला फिँजाएर आनाकै २० लाख पुर्याइदिए ।’

ललितपुरका बुङमति, सैंबु, डुकुछाप, खोकना क्षेत्र द्रुतमार्गको रुटमा परेपछि उच्च पदस्थ सरकारी अधिकारीहरुले अहिले त्यहाँ जग्गा जोडिसकेका छन् । ललितपूरदेखि निजगढसम्म नै जग्गा भाउ आकासिएको व्यवसायीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved