के बाबुआमाले सन्तानलाई अंश नदिन सक्छन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 28, 2021 | 04:08:09 PM मा प्रकाशित

laxmi  sunrise bank

अंशबण्डामा दाजु भाईबीच विवाद भएका घटनाहरु धेरै सुनिन्छ । विशेष गरी घरमूली बुबा र आमा स्वर्गीय भएपछि सम्पत्ति भागबण्डा गर्नु परेको अवस्थामा दाजु भाईबीच कुटाकुटकै स्थिति सिर्जना भएका कयौँ कटनाहरु प्रहरी र अदालतसम्म पुगेका छन् । बुबा र आमा जीवित रहँदै आफ्ना सन्तानलाई पाउने जति सम्पत्ति भाग लगाईदिएको खण्डमा भने खासै विवाद देखिएको छैन ।

के हो अंशबण्डा ?

बाबु बाजेबाट हक हस्तान्तरण हुँदै आएको सम्पत्ति र एकाघर परिवारका सदस्यहरूको एकल वा संयुक्त प्रयासबाट आर्जेको वा थप गरेको सम्पत्ति अंशियारबीच अंशबण्डा गर्नुपर्छ । पारिवारिक सम्पत्तिलाई अंशियारहरूबीच भागवण्डा लगाउने काम नै कानुनी भाषामा अंशबण्डा हो ।

यसअघिको कानुनी व्यवस्था अनुसार जीवित भएका व्यक्तिबीच मात्रै अंशबण्डा गर्नुपर्ने प्रावधान थियो । तर, हालको मुलुकी देवानी संहिता २०७४ ले अंशबण्डा गर्दाका बखत परिवारमा कुनै महिला अंशियार गर्भवती भए निजले जन्माउने शिशुसमेत अंशियार हुने व्यवस्था गरेको छ । 

को हुन् अंशियार ?

कानुनले एकाघरका ६ प्रकारका नाता सम्बन्ध भएका व्यक्तिहरु अंशियार हुन् भन्छ । पति, पत्नी, बाबु, आमा, छोरा, छोरीलाई मुलुकी देवानी संहिता २०७४ अनुसार अंशियार मानिन्छ । 

मुलुकी देवानी संहिता २०७४ मा सगोलको सम्पत्तिमा प्रत्येक अंशियारको समान हक हुने, अंशबण्डा गर्दा महिला अंशियार गर्भवती भए निजले जन्माउने शिशु समेतलाई भाग लगाएर मात्रै अंशबण्डा गर्नुपर्ने व्यवस्था छ ।

आमाबुबाबीच सम्बन्ध विच्छेद भए सन्तानको अंश हक के हुन्छ ?

कानुनबमोजिम विवाह हुन नसक्ने, विवाह भएको नमानिने वा वैवाहिक सम्बन्ध अन्त्य भएका आमा बुबाबाट जन्मिएका छोराछोरीले पनि अंश पाउने व्यवस्था छ । मुलुकी देवानी संहिता २०७४ अनुसार पीताको पहिचान नभएका छोराछोरीले आमाको नाममा रहेको सम्पत्तिबाट मात्रै भएपनि अंश पाउने व्यवस्था गरेको छ । 

कुनै एक पुरुषले घरमा नल्याई बाहिरै लुकाइछिपाई राखेका पत्नीबाट जन्मेका सन्तानले पीताको निधनपछि अंशमा दाबी गर्न नपाउने व्यवस्था मुलुकी देवानी संहिता २०७४ ले गरेको छ ।

कस्तो अवस्थामा अंशियारले अंश माग्न सक्छ ? 

सगोलको सम्पत्ति प्रयोग गरेर घरमूलीले सन्तालाई शिक्षा, स्वास्थ्य जस्ता कुराहरुमा पूर्ण बनाउने दायित्व बोकेको हुन्छ । तर, यो जिम्मेवारी बोकेको व्यक्तिले दायित्व पूरा नगरेमा वा आश्रित परिवारको सदस्यले आफूले संरक्षण नपाएको महशुस गरेमा अंश माग्न सक्ने व्यवस्था छ । घरमूलीले परिवारको संख्या बढेर सबैको हेरविचार गर्न नसक्ने अवस्था आएमा असन्तुष्ट अंशियारले आफ्नो भागमा पर्ने अंश लिएर भिन्न भएर बस्न सक्छन् । सबै अंशियारबीच सहमति भएमा जतिखेर पनि अंश लिई भिन्न बस्न सक्छन् । 

यसैबीच श्रीमानको मृत्यु भएका एकल महिलाले जतिखेर पनि आफ्नो अंश लिई छुट्टै बस्न सक्ने व्यवस्था छ । यसरी अंश लिएकी महिलाले अर्को विवाह गरेमा निजले अंशबापत पाएको सम्पत्ति आफ्नो पूर्व पतितर्फका सन्तान भएमा भएमा तिनले र नभएमा आफैँले भोगचलन गर्न सक्ने प्रावधान छ । 

अंशियारले पैतृक सम्पत्तिबाट अंश लिन्न पनि भन्न सक्छ । अंश लिन नचाहेका अंशियारले अंश छोडपत्र गर्न सक्ने व्यवस्था छ । अंश छोडपत्र गर्दा अंशियारको पति, पत्नी वा उमेर पुगेका छोराछोरी भएमा उनीहरुको मञ्जुरी लिएमा मात्र अंश छोडपत्र गर्नुपर्छ । केही पनि नलिई भने अंश छोडपत्र गर्न मिल्दैन । अंशबापत केही न केही लिनैपर्ने कानुनी व्यवस्था छ ।

आमाबाबुको सम्पत्ति सबैमा सन्तानको हक

आमा बाबुको नाममा रहेको सबै प्रकारको सम्पत्तिमा छोराछोरीको हक लाग्छ । यस्तो सम्पत्ति पैतृक सरह नै मानिन्छ र यस्तो सम्पत्तिबाट अंश पाउनु छोराछोरीको नैसर्गिक हक नै हो । 

कानुनमा छोराछोरीले बुबा आमाप्रति आफ्नो दायित्व पूरा नगरेपनि अंश दिन्न भन्न सक्ने कुरा उल्लेख गरेको छैन । ऐनमा सन्तानले अंश दाबी गरेमा अंश दिनैपर्ने बाध्यात्मक व्यवस्था छ । 

अंशबण्डा गर्दा सगोलको सम्पत्ति र सगोलको ऋण घटी–बढी नहुने गरी बण्डा गर्नुपर्ने प्रावधान पनि छ । अंशियारको भागमा परेको जग्गा वा घरमा आवतजावत गर्नका लागि बाटो वा निकास हुनैपर्छ । बाटो बन्द हुने गरी अंशवण्डा गर्न कानुनले दिँदैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved