किन आकाशियो जग्गाको भाउ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 29, 2021 | 03:14:42 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले घरजग्गाको कारोबार हेर्ने हो भने निकै बढी छ । हालसम्मकै धेरै घरजग्गा किनबेच पनि पौष महिनामा नै भएका छन् । भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक अनुसार पौष महिनामा ८० हजार घरजग्गा किनबेच भएका छन् । यो तथ्यांक इतिहासकै सबैभन्दा धेरै हो ।

८० हजार घरजग्गा खरिद बिक्रिमार्फत ७ अर्ब राजश्व संकलन भएको छ । विगतमा सबैभन्दा धेरै कारोबार भनेको ५० हजार मात्रै थियो । सो वापत ५ अर्ब राजश्व उठेको तथ्यांक थियो । यसपाली पौषको कारोबारले रेकर्ड ब्रेक गरेको छ ।

किन बढ्यो कारोबार ?

मूलुकभर १२६ मालपोत कार्यालय छन् । यीमध्ये १०८ वटामा अनलाइन प्रणाली लागू भएको छ । विभागको महानिर्देशकका रुपमा शेष नारायण पौडेल आएपछि उनले सबै मालपोत कार्यालयमा अनलाइनमार्फत काम गराउने नीति लिए । खर्च कटौतीका लागि थालिएको यो अभियानले राजश्व संकलनमा पनि बृद्धि गराएको छ । 

‘छिटो काम हुने भएकाले धेरै कारोबार भएको हो’ महानिर्देशक पौडेल भन्छन्, ‘अनलाइन प्रणालीमा विश्वास दिलाउन सके सेवाग्राहीले पनि झन्झट ब्यहोर्नु पर्दैन, छिटो काम हुन्छ । तर, अनलाइनप्रति विश्वास जगाउनै मुस्किल छ ।’

पौष महिनामा देशभरका मालपोतबाट लिखत पारित, नामसारी, संसोधन, हालसाविक, रोक्का, फुकुवा, जग्गा दर्ता, दाखिल खारेज, जग्गा बाँडफाँड लगायत शिर्षकमा २ लाख २५ हजार सेवा दिईएको विभागले जनाएको छ । यो इतिहासकै सर्वाधिक धेरै हो । मंसिरमा १ लाख ६८ हजार सेवा प्रदान गरिएको थियो ।

जग्गाको भाउ पनि बढ्यो

मंसिर र पौष महिनामा घरजग्गा कारोबार संख्या मात्रै नभई जग्गाको भाउले पनि आकाश छोएको छ । कोरोना भाइरसपछि सुस्ताएको कारोबार बढेसँगै मंसिरबाट जग्गाको भाउ पनि उकालो लागेको देखिन्छ । 

कित्ताकाट बन्द गरिँदा जग्गाको भाउ बढ्दै गएको कारोबारीहरुको अनुभव छ । रियल स्टेट एजेन्सीहरु पनि कोरोना पछि सबैभन्दा चाँडो लयमा फर्किएको व्यवसाय घरजग्गाको कारोबार नै भएको स्वीकार गर्छन् । 

‘घरजग्गा बेच्नेहरु यो बीचमा बढे, कोही काठमाडौँ र अरु शहर तिर भएका जग्गा बेचेर फरक खालको व्यवसायमा लाग्ने सोच बनाए, काठमाडौँमा भएको जग्गा भन्दा पनि घरहरु बढी बिक्रि भएको देखिन्छ’ घरजग्गा व्यवसायी होम खड्का भन्छन्, ‘देख्नलाई बैंकको किस्ता, ब्याज तिर्न घर बेचेको भनिएपनि त्यस्तो होइन । घर बेचेर बैंकको ब्याज कसैले तिर्छ ? भाडामा बस्नेलाई भाडा बढाईदिन्छन्, तर घर नै चाहिँ बेच्दैनन् ।’

आँखिर कारण के त ? कारण भनेको खरिदकर्ता बढ्नु नै हो । चैत्रमा लकडाउन भएपछि घर जग्गा जोड्ने मनसाय बनाएकाहरुले किन्न पाएनन् । 

‘असारमा मालपोत खुलेपछि चैत्रदेखि रोकिएका कामहरु भए । भदौ ४ गते सरकारले फेरि निषेधाज्ञा लगाउँदा भदौमा कारोबार हुनै पाएन । तर, कर्तिकबाट केही कारोबार हुन सुरु भएपनि दशैँ र तिहारको प्रभाव पर्यो’ खड्का भन्छन्, ‘त्यसपछि मंसिरबाट रोकिएका सबै काम एकैपटक हुँदा कारोबार बढी देखियो र यसैलाई देखाएर रियल स्टेटवालले जग्गाको भाउ चुली पुर्याए ।’

माग बढ्दा मूल्य बढ्यो 

अहिले जग्गाको माग ह्वात्तै बढेको छ । सरकारले घोषणा गरेका पूर्वाधार निर्माण स्थल नजिक पायक पर्नेगरी जग्गा खोज्नेहरु बढेका छन् । यसले पनि मूल्य बढाएको छ । कित्ताकाटमा रोक्का हुँदा जग्गाको उपलब्धता सिमित मात्रै छ । एउटै जग्गा एकबाट अर्को र अर्कोबाट अर्कोलाई ‘सप्लाई’ हुँदै आएको छ ।

माघ महिनामा पनि ८० हजारभन्दा बढी घरजग्गा किनबेच हुने देखिन्छ ।

सस्तो ब्याजदर

नेपाल राष्ट्र बैंकले होम लोन (घरकर्जा) र अटो लोन (हायर पर्चेज कर्जा)  फिक्स्ड ब्याजदरमा उपलब्ध गराउन बैंकहरुलाई निर्देशन दिएसँगै बैंकहरुले फिक्स्ड ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् अहिले कर कर्जामा बैंकले सस्तो ब्याजदरमा ऋण दिईरहेका छन् । १४ प्रतिशतभन्दा माथि रहेको घर कर्जाको ब्याज अहिले ८ प्रतिशतसम्म झरेको छ । बैंकमा अधिक तरलता भएर ब्याजदर निकै तल झर्दा पनि घरजग्गाको कारोबार बढेको हुनसक्ने अनुमान गरिन्छ ।

बैंकले सस्तो ब्याजमा घर कर्जा उपलब्ध गराउन थालेपछि बैंकबाट ऋण लिएर घरजग्गामा लगानी गर्नेहरु पनि बढेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved