भानुभक्तले योगेशका महत्वकांक्षी योजनालाई निरन्तरता देलान् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 29, 2021 | 04:56:50 PM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफू म्याद तोकिएरै बैशाख १७ गते सम्मका लागि पर्यटन मन्त्रालयमा आएको बताएका छन् । पर्यटन विधामा कलम चलाउने पत्रकारहरुसँग मन्त्री ढकालले बैशाखमा निर्वाचन हुने भएकाले निर्वाचन सम्मका लागि आफू पर्यटन मन्त्रीका रुपमा रहने र त्यसपछि जनताको आदेश अनुसार सरकार बन्ने भएकाले अहिले नै भविष्यवाणी गर्न नसकिने संकेत गरेका छन् ।

प्रतिनिधिसभा भंगको सिफारिस गर्ने निर्णयमा विमति जनाउँदै योगेश भट्टराईले मन्त्री पदबाट राजीनामा दिएपछि स्वास्थ्यबाट भानुभक्त पर्यटनमा सारिए । त्यसपछि उनी निरन्तर पर्यटन क्षेत्रको अवस्थाका बारेमा बुझ्न तल्लिन छन् ।

योगेशले ल्याएका कार्यक्रमबारे ढकाल के भन्छन् ?

अहिले नेकपाको फरक फरक धारमा उभिएपनि योगेश र भानुभक्त तत्कालिन नेकपा एमालेबाट उदाएका युवा नेता हुन् । पार्टी मात्रै एउटै नभई उनीहरु भातृसंस्थामा पनि अनेरास्ववियूबाट आएका हुन् । योगेश कुनै समय अखिलको अध्यक्ष भएका नेता हुन् भने ढकाल माधब ढुंगेल अखिलको अध्यक्ष हुँदा इन्चार्ज थिए ।

पर्यटन मन्त्रीका रुपमा रहँदा भट्टराईले केही महत्वकांक्षी योजना अघि सारेका थिए । ती योजनाहरुलाई भानुभक्त ढकालले कसरी लिएका छन् भन्ने चासो सर्वत्र छ ।

‘अहिले जहाँ जहाँ उभिएको भएपनि यो मन्त्रालय मेरै सहयोद्धाले सम्हालेको मन्त्रालय हो’ मन्त्री ढकालले भने, ‘उहाँले लामो समय अध्ययन गरेर ल्याएका योजनाहरु उल्ट्याउनुपर्छ भन्ने पक्षमा म छैन, हुबहु लागू गरिहाल्नुपर्छ भन्ने कुरा पनि व्यवहारिक नहुन सक्छ । व्यवहारिक रुपमा हेरेर के कति गर्न सकिन्छ, म त्यसमा डटेर लाग्छु ।’

योगेशका महत्वकांक्षी योजनाले निरन्तरता पाउलान् ?

मन्त्रीका रुपमा बहाल रहँदा योगेश भट्टराईले मुख्यतः ३ वटा योजना निकै दीर्घकालिन रुपमा प्रभाव पार्ने खालका ल्याएका थिए । पहिलो, हप्तामा २ दिन बिदाको अवधारणा । दोस्रो एक स्थानीय तह एक पर्यटकीय गन्तव्य । र तेस्रो, सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाउने । यी बाहेक अन्य योजना नयाँ थिएनन् ।

हप्तामा २ दिन बिदा दिँदा पर्यटन क्षेत्र उकासिन्छ भन्नेमा मन्त्री ढकाल आशावादी देखिएनन् । अहिले आफूले हप्तामा २ दिन बिदा दिन पर्यटन मन्त्रालयले गरेको सिफारिसबारे अध्ययन गरिरहेको उनको भनाई छ ।

‘हप्तामा २ दिन बिदा दिन सिफारिस गरिएको बारे अहिले अध्ययन गर्दैछु, म पनि यो मन्त्रालयमा नयाँ छु, सचिव पनि भर्खरै आउनु भएको छ’ मन्त्री ढकालले भने, ‘म अर्कै मन्त्रालयमा हुँदा पनि यसबारे जानकार नै थिएँ, तर अहिले आएर अध्ययन गर्दा २ दिन बिदा दिनु भनेको टाढा घुम्न नजानु नजिकै मात्रै जानु भन्ने अर्थमा आएको हो की जस्तो लाग्न थाल्यो ।’

उनले हप्तामा २ दिन दिने मोडल केही परिवर्तन गर्न सकिने संकेत पनि गरेका छन् । हप्तामा २ दिन बिदा दिँदा वर्षमा ४८ दिन बिदा पाउने भएकाले यसलाई २ चरणमा २४/२४ दिन बिदा दिएर घुम्न पठाउने मोडलमा कार्यान्वयन गर्न सकिने मन्त्री ढकालको भनाई छ ।

योगेश भट्टराईले सय पर्यटकीय गन्तव्य कार्यक्रम खारेज गर्दै एक स्थानीय तह एक पर्यटकीय गन्तव्यको अवधारणा ल्याएका थिए । तर, यो अवधारणा कार्यान्वयनका लागि पहिलो चरणमा २ सय वटा कार्यक्रमले बजेट पाउने प्रवन्ध गरिएको थियो । एउटा कार्यक्रमले करिब ४० लाख रुपैयाँ बजेट पाउने गरी अहिले बजेट व्यवस्थापन गरिएकाले ४० लाखले गतिलो पर्यटन पूर्वाधार तयार हुने नदेखिएकाले यसको स्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयसँग छलफल सुरु गरिएको मन्त्री ढकालको भनाई छ । 

योगेशले सार्वजनिक मञ्चमा सन् २०२१ लाई आन्तरिक भ्रमण वर्षका रुपमा मनाउने भनेपनि यो लिखित निर्णय थिएन । यसबारे मन्त्री ढकाल सन् २०२१ नै भनेर नतोक्ने तर आन्तरिक घुमघामसँगै विदेशी पर्यटक भित्र्याउने योजनामा सरकार रहेको र सोही अनुसार नीतिहरु तर्जुमा गरिने बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved