गाँस, बास र कपासलाई आधारभूत आवश्यकताका रुपमा लिईएको छ । अहिले घरजग्गा व्यवसायीहरु आवासलाई चौथो आवश्यकताका रुपमा परिभाषित गर्छन् । आर्थिक उन्नतिको एउटा चरणमा पुगेपछि मानिसले घर र जग्गा किन्ने गर्छन् । यो निरन्तर प्रक्रिया हो भन्छन् नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले ।
के अहिले घरजग्गा किन्ने समय हो ?
कोरोना भाइरसको महामारीपछि सबैभन्दा छिटो लयमा फर्किएको क्षेत्र घरजग्गा कारोबार नै हो । सेयर बजारपछि अहिले घरजग्गाको कारोबार उच्च छ । कमर्शियल अपार्टमेन्ट र आवासीय भवनहरुको बिक्रिले लय समातिसकेको छ ।
अहिलेको बजारमा कारोबारको दर हेर्दा घरजग्गा खरिद गर्ने उपर्युक्त समय हो । किनकी बैंकहरुले घर कर्जामा ब्याजदर घटाएका छन् । बैंकहरुले लिएको स्थिर ब्याजदरको रणनीतिका कारण घर तथा जग्गामा लगानी गर्ने उपर्युक्त वातावरण निर्माण भएको रियलस्टेट व्यवसायीहरुकै भनाई छ ।
‘सेयर बजार बढ्दा घरजग्गाको कारोबार केही सुस्ताएको जस्तो देखिन्छ, तर सेयर बजार स्लो हुनासाथ लगानी घरजग्गामै बढी भइहाल्छ’ नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले भन्छन् ।
अहिले वाणिज्य बैंकहरुबीच कसले सस्तो ब्याजदरमा घर कर्जा उपलब्ध गराउने भन्ने प्रतिस्पर्धा नै देखिएको छ । अहिले न्युनतम ८ प्रतिशतदेखि घर कर्जा उपलब्ध हुँदै आएकोले घर कर्जा लिनेहरु बढेका छन् । यो ब्याजदर अझ घट्न सक्ने रियलस्टेट व्यवसायीहरुको आशा छ ।
‘उद्योगको मान्यता नपाउँदा लगानी बढेन’
उद्योग विभागले रियलस्टेट हाउजिङ भनेर यस्ता व्यवसायीहरुलाई उद्योगको मान्यता दिने गरेको छ । तर अरु निकायले रियलस्टेट व्यवसायीलाई उद्योगको मान्यता दिँदैनन् । यसकारण रियलस्टेट व्यवसायीले घरजग्गा वा अपार्टमेन्टमा लगानी बढ्न नसकेको बताउने गरेका छन् ।
‘उद्योगको मान्यता पाउने वित्तिक्कै लोन टू रेसियो बढाउनुपर्ने हुन्छ, यो रिसयो नबढाउन बैंकहरुले नै लविङ गरेका कारण रियलस्टेट हाउजिङ कम्पनीहरुले उद्योगको मान्यता पाएका छैनन्’ अध्यक्ष वाग्लेले भने, ‘२०४६ सालदेखि लोन टू रेसियो तोकिएर ४० प्रतिशत मात्रै कायम गरिएको छ । उद्योगको मान्यता दिने वित्तिक्कै यो रेसियो ७० देखि ८० प्रतिशत पुर्याउनुपर्ने हुन्छ ।’
२०६६ सालमा राष्ट्र बैंकका गर्भनर रहेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको नीतिका कारण घरजग्गा व्यवसायमा लगानी बढ्न नसकेको रियलस्टेट व्यवसायीहरुको आरोप छ ।
‘घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा परिभाषित गरिएको छ, तर उत्पादनमूलक क्षेत्रबाट उत्पादन हुने सबै बस्तुहरु खपत हुन्छ भनेर भन्दिएको छैन’ वाग्लेले प्रश्न गरे, ‘उत्पादनमूलक उद्योगका सबै बस्तु खपत हुने क्षेत्र कसरी उद्योग हुन सक्दैन ?’