अपार्टमेन्टहरुको होटल यात्राः बाध्यता कि रहर ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 08, 2021 | 10:36:56 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका ठूला अपार्टमेन्टहरु होटलमा रुपान्तरण भएका छन् । विशेषगरी ७ वटा अपार्टमेन्टहरु आफ्नो अस्तित्व मासेर तारे होटलमा परिणत भए । रियलस्टेट व्यवसायीहरु यो रहर नभई बाध्यता भएको बताउँछन् । 

सानेपाको एल्लो हाउस होटल, झम्सिखेलको भिभान्ता होटल, रबिभवनको होटल क्राउन इम्पेरियल, धुम्बाराहीको होटल आकामालगायत चर्चित होटलहरु कुनै समय अपार्टमेन्ट थिए ।

के हो बाध्यता ?

२०६६ सालमा नेपाल राष्ट्र बैंकका गर्भनर रहेका निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको नीतिका कारण घरजग्गा व्यवसायीहरुमा त्रास पैदा गरेका कारण ठूला अपार्टमेन्टहरुले बाध्यतामा होटल बन्नु परेको नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेको बुझाई छ । त्यतिबेला राष्ट्र बैंकले आफ्नो नीतिमार्फत घरजग्गा कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा परिभाषित गर्ने गल्ती गरेका कारण अपार्टमेन्टहरुले अस्तित्व गुमाउनु परेको वाग्लेको भनाई छ ।

‘घरजग्गाको कारोबारलाई अनुत्पादक क्षेत्रका रुपमा परिभाषित गरियो, जुन गलत थियो’ वाग्ले भन्छन्, ‘उत्पादनमूलक क्षेत्रका सबै उत्पादन खपत हुने क्षेत्र कसरी अनुत्पादक क्षेत्र हुन्छ ? सिमेन्ट, डण्डी, इट्टा, पाइप, झ्याल, ढोका, मार्बल सबै यही क्षेत्रमा खपत हुन्छ । उत्पादन मूलक भनिएका उद्योगको कुनै एउटा उत्पादन छैन कि, जुन घरजग्गामा खपत नहोस् ।’

२०६६ सालमा आएको नीतिले हाउजिङ र रियलस्टेट भनेर १० र १५ वर्षको सिलिङ तोकिदिएका कारण त्यतिबेला कारोबारमा मन्दी आएको उनको भनाई छ । तर, २०७० सालपछि डा. खतिवडाले ल्याएको नीति ‘फेल’ भएकाले पुनः कारोबारले लय समातेको थियो । यो ४ वर्षको अवधिमा अपार्टमेन्टहरु बिक्रि हुन नसकेपछि होटलमा रुपान्तरण हुनु परेको व्यवसायीको बुझाई छ ।

भूकम्पले तहसनहस

२०७० सालसम्म नीतिका कारण अफ्ट्यारोमा परेको घरजग्गा कारोबार २०७० पछि लयमा फर्किन खोज्दै थियो । तर, २०७२ को सुरुमै भूकम्प गयो । त्यसपछि मानिसहरु गगनचुम्बी भवनमा बस्न डराउन थाले । 

‘२०६६ देखि ७० भित्रको नीतिले मारमा परेका अपार्टमेन्टहरु भूकम्पपछि त झन थला नै परे, त्यही भएर अपार्टमेन्टहरु होटलमा बदलिए । जुन साह्रै असजिलो काम थियो’ वाग्ले भन्छन् । 

नेपाली बुद्धिले होटल बने

भूकम्पपछि अताल्लिएका व्यवसायीहरुले ‘नेपाली बुद्धि’ लगाएर अपार्टमेन्टलाई होटलमा रुपान्तरण गरेर चलाउन सकिन्छ भन्ने सोचे । 

‘फास्ट डिशिजन गरेर होटल बनाए, यो नेपाली मेन्टालिटी हो’ वाग्ले थप्छन्, ‘अपार्टमेन्टको डिजाइनलाई होटलमा रुपान्तरण गर्दा त्यसको स्टक्चर नै फेर्नुपर्छ । अपार्टमेन्टमा साना साना ३ वटा कोठा बनाएर भएपनि युनिट युनिट बनाईएको हुन्छ, त्यसलाई होटल बनाउँदा त पूरै संरचना नै फेर्नुपर्ने हुन्छ ।’

यति ठूलो आँट गरेर व्यवसायीले होटलमा रुपान्तरण गरेपनि धेरैजसो अहिले पनि घाटामै छन् । धुम्बाराहीको होटल आकामा अझै कति वर्ष घाटामै चल्ने हो यकिन छैन । 

यो बाहेक व्यवसायी दीपक मल्होत्राले काठमाडौँको कालिकास्थानमा तयार पार्दै गरेको अपार्टमेन्टलाई होटलमा परिणत गर्दैछन् । गोल्यान समूहले सोल्टीमोडमा बनाइरहेको ‘द रेसिडेन्सेस’ अपार्टमेन्टमा पाँचतारे होटल बनाउने भएको छ । सुन्धारास्थित सिभिल होम्स अपार्टमेन्ट व्यवसायी इच्छाराज तामाङबाट अजेयराज सुमार्गीले खरिद गरेर होटल बनाउँदै छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved