यी २ कारणले बन्न सकेनन् नयाँ अपार्टमेन्ट

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 10, 2021 | 11:07:17 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समय भइसक्दा पनि नयाँ अपार्टमेन्ट परियोजनाहरु आउन सकेका छैनन् । काठमाडौँ उपत्यका, पोखरा र भैरहवामा गरी १ दर्जन अपार्टमेन्ट बन्दैछन् भनिएपनि कहिले बन्छन् टुंगो छैन । भूकम्पपछि थला परेका अपार्टमेन्ट र हाउजिङ व्यवसायीहरु बल्ल तयारीमा जुटेका हुन् ।

हाल मूलुकभर ६४ वटा अपार्टमेन्ट छन् । काठमाडौँस्थित राष्ट्रपति भवन शितलनिवास अगाडी एउटा अपार्टमेन्ट भने निर्माणको अन्तिम चरणमा पुगेको छ । यो अपार्टमेन्टले युनिट बिक्रि गर्न थालेपछि देशभर अपार्टमेन्टको संख्या ६५ पुग्नेछ ।

किन आउन सकेनन् नयाँ परियोजना ?

लामो समयदेखि नयाँ अपार्टमेन्ट परियोजना किन आउन सकेनन् ? अहिले घरजग्गा तथा आवास विकासकर्ता एवम् रियलस्टेट व्यवसायीले बारम्बार सामाना गरिरहेको प्रश्न हो यो ।

नयाँ परियोजना आउन नसक्नुमा मुख्य गरी २ कारण रहेको बताउँछन् घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले । वाग्लेका अनुसार एउटा नीतिका कारण र अर्को नीति नहुँदाका कारण नयाँ परियोजना आउन नसकेका हुन् ।

नीतिमा समस्या भनेको भौतिक विकासका कामको अनुगमन, नियमन गर्नेदेखि परियोजना स्वीकृत गर्ने सम्मका निकायहरुबीच समन्वय छैन । शहरी विकास मन्त्रालय, सम्बन्धित नगरपालिका र काठमाडौँ उपत्यका विकास प्राधिकरणका नीति नै फरक फरक छन् । नगरपालिकाले बनाएको एउटा नीति र प्राधिकरणसँग भएको अर्को नीतिका कारण शहरी विकास मन्त्रालय नै अलमलमा पर्ने भएकाले नयाँ परियोजना आउन समस्या भएको वाग्लेको बुझाई छ ।

‘यी ३ निकायबीच वान डोर सिस्टम हुनुपर्यो’ अध्यक्ष वाग्ले भन्छन्, ‘यी ३ वटै निकाय हामीसँग काम गर्दा ठोकिन्छन्, तर मन्त्रालय, प्राधिकरण र नगरपालिकाबीच वान डोर सिस्टम छैन, यदि वान डोर सिस्टम लागू भयो भने नयाँ परियोजना आउन केही सहज हुन्थ्यो ।’

‘अर्को भने नीति नै नहुँदाको समस्या हो । यो भनेको के हो भने जग्गाको मूल्य बढ्ने वा घट्ने कुनै नीति नै छैन । जसका कारण नजिकै एउटा आयोजना बन्ने हल्ला चलेकै भरमा जग्गाको भाउ आकाशिन्छ’ वाग्ले थप्छन्, ‘रिङ रोडभित्र जग्गा किन्नै सकिँदैन, रिङ रोड बाहिर थोरै तल्लाका थोरै इकाई रहने गरी अपार्टमेन्ट बनाउँ न त भन्दा यो हाम्रो कल्चर नै भएन । जबरजस्ती बनाउँदा बिक्रि भएन भने के गर्ने फेरि ?’

जग्गाको मूल्य बढेका कारण नयाँ परियोजना आउन नसकेको भन्दै उनले लागत र आम्दानीबीच सन्तुलान नहुँदा व्यवसायीहरु मर्कामा परेको गुनासो पनि गरेका छन् । 

‘निर्माणको मूल्य समयक्रममा विस्तारै बढ्दै जाने हो, तर जग्गाको मूल्य हेर्नुस् त, कसरी बढेको छ ?’ वाग्ले प्रश्न गर्छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved