किन महँगा छन् विदेशको तुलनामा नेपालका अपार्टमेन्ट ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 10, 2021 | 01:18:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एउटै विशाल अग्लो भवनमा सयौँको संख्यामा फ्ल्याट बनाउन सकिने भएकाले शहरी क्षेत्रमा अपार्टमेन्ट गज्जबको आवास योजना हो । तर, नेपालमा अपार्टमेन्टको बसाई निम्न आय भएकाहरुको पहुँचभन्दा टाढा छ । एउटै भवनमा सयौँ इकाई भएर पनि अपार्टमेन्ट बसाई महँगो हुने गरेको छ । जसका कारण निम्न र मध्यम आय भएकाहरुको रोजाईमा अपार्टमेन्ट पर्न सकेको छैन । 

नेपालका अपार्टमेन्टहरुको मूल्य विदेशका अपार्टमेन्टको तुलनामा महँगो हुने भएकाले पनि निम्न आय भएका मात्रै नभई मध्यम आय भएकाहरुले समेत बस्न नसक्ने अवस्था छ ।

किन महँगा भए अपार्टमेन्ट ?

नेपालमा २ बेडरुम भएको अपार्टमेन्टको मूल्य १ करोड ५० लाखभन्दा माथि छ । फ्याटमा साँघुरा कोठा भएको अपार्टमेन्ट खरिद गर्न पनि १ करोडले भ्याउने स्थिति छैन । शहरी विकास एवं आवास विज्ञ किशोर थापाका अनुसार नेपालमा सामूहिक आवासको परिकल्पना नै गलत गरी भएको बताउँछन् ।

‘सामूहिक अवास परियोजना भनेको उच्च वर्ग लक्षित हुँदै होइन, संसार भरी कहीँपनि मानिसहरु रहरले अपार्टमेन्टमा बस्दैनन्’ थापा भन्छन्, ‘निम्न आय भएकाहरु, जो जग्गा किनेर घर बनाएर बस्न सक्दैनन्, तिनका लागि गरिएको परिकल्पना हो । हाम्रोमा भेराइटी नभएका तर उच्च वर्ग लक्षित अपार्टमेन्ट मात्रै भए ।’

क) जग्गाको मूल्य 

निम्नमध्यम र मध्यम वर्गको पहुँच हुन सक्ने अपार्टमेन्ट नबन्नुमा जग्गाको मूल्यले पनि रोल खेल्ने उनको भनाई छ । बास्तविक मूल्यभन्दा बढी मूल्यमा जग्गा किनबेच हुँदै आएकाले जग्गाको भाउ दिनानोदिन बढ्दै छ । यस कारण अपार्टमेन्ट र हाउजिङ डेभलपर्सले जग्गा किनेर अपार्टमेन्ट बनाउन सक्ने अवस्था नरहेकाले पनि नेपालका अपार्टमेन्ट महँगो हुने गरेको थापा बताउँछन् ।

ख) कच्चा जग्गा

डेभलपरले ऋण गरेर खरिद गरेको जग्गा पनि कच्चा जग्गा मात्रै हो । पूर्वाधार बिनाको जग्गा किनेर डेभलपर्स आफैँले बाटो, पानी, बिजुली, ढल जस्ता सबै प्रवन्ध गर्नुपर्ने भएकाले पनि अपार्टमेन्ट महँगो हुन गएको बुझाई छ थापाको । 

‘सरकारले गरिदिनुपर्ने काम पनि डेभलपर आफैँले गर्नुपरेपछि महँगो हुने नै भयो’ उनले भने ।

ग) निर्माण लागत

नेपालमा भौतिक संरचना निर्माणको लागत नै बढी छ । निर्माण सामग्रीको मूल्य अनावश्यक रुपमा बढ्नाले अपार्टमेन्टको लागत नै बढी हुने गरेको छ । थापाका अनुसार नेपालबाट नजिकै पर्ने भारतको पटनामा एउटा अपार्टमेन्ट बनाउँदा जति खर्च लाग्छ, नेपालमा बनाउँदा त्यसको दोब्बर लाग्ने अवस्था छ । त्यसकारण अपार्टमेन्ट महँगो हुने गरेको छ ।

घ) डेभलरपको नाफा

नेपालका डेभलपरहरुले अपार्टमेन्टबाट अधिक नाफा  लिने गरेको गुनासो छ । 

‘नेपालका अपार्टमेन्टहरु नै उच्च आय भएकाहरुका लागि लक्षित गरेर बनाइन्छ, पैसा कमाउने मान्छेलाई राख्ने भएपछि जति लिएपनि भयो’ थापा भन्छन्, ‘ठूलाठालुबाट पैसा जतिपनि पाईने भएपछि डेभलपरले महँगोमा अपार्टमेन्ट बिक्रि गर्ने भए । उनीहरुले त सकेसम्म धेरै नाफा लिन खोज्ने नै भए नि ।’

‘व्यवस्थित शहर र बसोबासका लागि अपार्टमेन्ट आवश्यक हो’ थापा भन्छन्, ‘विदेश तिर अपार्टमेन्ट बनाउँदा डेभलपरलाई सरकारले सहुलियत दिन्छ, सस्तो मूल्यमा जग्गा उपलब्ध गराउँछ । तर, हाम्रोमा सरकारले कुनै पनि सहयोग नै गर्दैन ।’

नेपाल जग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्लेका अनुसार अपार्टमेन्टका लागि जग्गा किनेर निर्माण सुरु गर्दा पनि स्थानीयले अपार्टमेन्ट बन्ने स्थानको वरपर मन्दिर, सडक, ढल, खानेपानीदेखि हरेक कुराको माग राख्छन् । ती मागहरु पूरा गर्दिनैपर्ने भएकाले नेपालका अपार्टमेन्टहरु महँगो हुने गरेका छन् । 

हाउजिङ र अपार्टमेन्ट परियोजनाको स्वीकृति लिनै झण्डै २ वर्ष लाग्ने गरेको गुनासो डेभलपरहरुकै छ । तीन तहको सरकारबाट स्वीकृति पाउँन २ वर्ष कुर्नुपर्ने वाग्लेको अनुभव छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved