पेट्रोलको मुल्य अत्यधिक महँगो हुँदा पनि बेफिक्री किन छ ओली सरकार ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 17, 2021 | 12:57:57 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयाल निगमले ६ दिनको अन्तरालमा २ पटक पेट्रोलियम पदार्थको मूल्य बढायो । गत बिहिबार मात्रै मूल्य बढाएको निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी फेरि भाउ बढाएको छ । 

निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर ११४ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९७ रुपैयाँ तथा आन्तरिक तर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर मूल्य ६७ रुपैयाँ कायम भएको छ । यस्तै बाह्य हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर ८६८ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४ सय तोकिएको छ ।

आजभन्दा ७ दिनअघिसम्म पेट्रोल प्रतिलिटर ११० रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९३ रुपैयाँ र आन्तरिक तर्फको हवाई इन्धनको प्रतिलिटर ६५ रुपैयाँमा उपलब्ध हुँदै आएको थियो ।

११ महिना अघि फर्किँदा

कार्तिक २०७१ मा नेपालमा पेट्रोल प्रतिलिटर १३० र डिजेल १०३ रुपैयाँ पुगेको थियो । तर, पुनः मूल्य घटेर २०७३ सालमा पेट्रोल प्रतिलिटर ९७ रुपैयाँ र डिजेल प्रतिलिटर ७३ रुपैयाँसम्म झरेको थियो । 

अन्तरदेशीय पेट्रोलियम पाइपलाइनको उद्घाटन भएकै दिन निगमले डिजेल, पेट्रोल र मट्टितेलको मुल्य प्रतिलिटर २ रुपैयाँका दरले घटाएको थियो । 

नेपालमा २०७० सालको फागुनमा पेट्रोलियम पदार्थको मूल्य हालसम्म्बै उच्च थियो । त्यतिबेला पेट्रोलको मूल्य १४० रुपैयाँ, डिजेल तथा मट्टितेलको मूल्य १०९ रुपैयाँ, आन्तरिक तर्फको हवाई इन्धनको मूल्य १४३ रुपैयाँ र अन्तराष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर १ हजार ४ सय अमेरिकी डलर थियो । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४७० रुपैयाँ थियो ।

कोरोनाका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएपछि निगम सञ्चालक समितिले गत वर्षको चैत १९ गते पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकै पटक प्रतिलिटर १० रुपैयाँले घटाएको थियो । त्यतिबेला काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको थियो भने डिजेल र मट्टितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटर कायम भएको थियो ।

सो समयमा निगमले आन्तरिक उडान तर्फको हवाई ईन्धनको मूल्य प्रतिलिटर १५ रुपैयाँले घटाएको थियो । 

गत वर्षको चैतको तुलनामा हेर्दा करिब ११ महिनाको बीचमा पेट्रोलको भाउ प्रतिलिटर १८ रुपैयाँले बढिसकेको छ । गत वर्षको तुलनामा डिजेल र मट्टितेलको भाउ पनि प्रतिलिटर १२ रुपैयाँ महँगिएको छ ।

निगम भन्छ, ‘घाटै घाटा छ’

भारतीय आयाल निगम (आईओसी) ले पठाएको नयाँ मूल्य सूचीअनुसार भाउ बढाउँदा पनि नेपाल आयाल निगमले भने अझै १५ दिनमा १ अर्ब ७ करोड घाटा व्यहोर्नुपर्ने अनुमान गरेको छ । 

निगमको दाबी अनुसार बढाईएको मूल्यमा पनि पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ४ रुपैयाँ १३ पैसा घाटा हुनेछ । मट्टितेलमा भने हुँदै आएको नाफा घटेर प्रतिलिटर २१ रुपैयाँ ५२ पैसा, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ ३२ पैसा, अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको नाफा ३४ रुपैयाँ १९ पैसामा झरेको निगमको भनाई छ । एलपी ग्यासमा भने प्रतिसिलिन्डर २९५ रुपैयाँ ८३ पैसा घाटा रहेको निगम बताउँछ ।

किन विरोध गर्दैनन् कोही ?

एकताका यस्तो समय थियो, पेट्रोलियम पदार्थको मूल्य बढ्नासाथ विद्यार्थी संगठनहरु सडकमा उर्लिन्थे । विशेषगरी तत्कालिन नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूले यस्तो मुद्दामा अगुवाई गथ्र्यो । तर, अहिले कुनै पनि राजनीतिक दलका भातृ संगठन र नागरिक समाज पेट्रोलियम पदार्थको भाउ बढ्नुलाई मुद्दा बनाउन हिचकिचाईरहेका छन् ।

यस विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँङ्ग्रेसले भने केन्द्रीय कमिटीको बैठकबाट धारणा बनाउने बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकका एजेण्डामा ‘राष्ट्रिय राजनीति र समसायिक विषय’ पनि समावेश हुने भएकाले यही शीर्षकमा पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिबारे पनि छलफल हुने बताए ।

‘अन्रतष्ट्रिय बजारमा भएको मूल्य वृद्धिअनुसार भएको हो कि, सरकारले आफूखुशी गरेको हो भन्नेबारे आजको केन्द्रीय कार्यसमिति बैठकमा छलफल हुन्छ’ प्रवक्ता शर्माले भने, ‘छलफलपछि पार्टीले एउटा धारणा बनाएर बोल्छ ।’

हप्ता दिनमै २ पटक पेट्रोल, डिजेल तथा खाना पकाउने एलपी ग्यासको मूल्य बढ्दा पनि प्रतिपक्षी दल नेपाली काँङ्ग्रेस, नागरिक समाजका अगुवा नबोल्नुलाई शंकाको रुपमा हेरिएको छ । के सरकारले आफूखुशी सर्वसधारणको ढाड सेक्नेगरी गरेको मूल्य वृद्धिमा उनीहरुले मौन समर्थन जनाएका हुन् ?

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved