किन घट्दैछ सुनको भाउ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 20, 2021 | 10:50:45 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले सुनको भाउ दैनिकजसो ओरालो लागिरहेको छ । ८ महिना अगाडीकै मूल्यमा झरेको सुनको बजार भाउ अहिले ८८ हजार २ सय छ । गत साउन २१ गते सुनको पहिलोपटक तोलाको १ लाख नाघेको थियो । रेकर्ड तोड्ने क्रममा सो दिन नेपाली बजारमा सुनको भाउ प्रतितोला १ लाख १ हजार ४ सय पुगेको थियो । साउन २३ गते भने तोलाकै १ लाख ३ हजार ५ सय रुपैयाँ पुगेर सुनको भाउले हालसम्मका सबै रेकर्ड तोड्यो ।

त्यसपछि विस्तार घट्न सुरु भएको सुनको भाउ अहिले ८८ हजारमा आईपुगेको छ । यो क्रम अझै जारी रहने व्यवसायीहरु बताउँछन् । नेपालीको सुन किन्ने क्रय क्षमता नै कम भएकाले सुनको भाउ ७० देखि ७५ हजार रुपैयाँ प्रतितोलाभन्दा माथि जान नहुने तर सुनको मूल्य निर्धारणमा नेपालको कुनै हात नहुने भएकाले अन्तराष्ट्रिय बजार अनुसार नै चल्नुपर्ने बाध्यता छ ।

किन घट्दैछ भाउ ?

सेयर बजार र जग्गाको कारोबार अस्वभाविक रुपमा बढेपछि सुनको भाउमा गिरावट आउन थालेको छ । भाउ घट्न थालेपछि व्यापार पनि तुलनात्मक रुपमा फस्टाएको व्यवसायीहरुको अनुभव छ । गत मंसिरबाट व्यापारमा सुधार आउन थालेको नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष दियशरत्न शाक्यको भनाई छ ।

‘कोरोनाको खोप अभियान पनि सुरु भईसकेको छ, विश्वभरीकै सेयर बजार बढिरहेको छ’ उनले भने, ‘सेयर बजारबाट कमाएकाहरुले अहिले अलिअलि भएपनि सुनका गहना जोड्नुपर्छ भनेर सुन किन्न थालेका छन् । यसका कारण सुनको कारोबार लयमा छ, भाउ पनि क्रमशः घट्दो छ ।’

सेयर बजारबाट नाफा कमाएर जग्गा वा सुनमा लगानी गर्ने परम्परा नै रहेकाले मानिसहरु अहिले पनि त्यसै गरिरहेको व्यवसायीहरुको बुझाई छ । 

‘सेयरबाट नाफा कमाउने वित्तिकै मान्छेले घरजग्गामा लगानी गरिहाल्छ, अहिले भएको पनि त्यही हो’ गोरखकाली सुनचाँदी पसलका सञ्चालक बाबुराम लोहार भन्छन्, ‘कोभिडको त्रास क्रमशः कम हुँदै गएकाले अन्तराष्ट्रिय बजारमै सुनको भाउ घट्दो छ, नेपालमा पनि ८ महिना अगाडीकै भाउमा झरिसक्यो, यसैले अहिले कारोबार बढिरहेको छ ।’

गत वर्ष यति नै खेर नेपाली सेयर बजार परिसूचक १३ सय अंकको हाराहारीमा थियो । अहिले बढेर २६ सय अंक कटिसकेको छ । 

माग कति ?

सुनको बजार माग मंसिरदेखि बढ्न थालेको हो । अहिले दैनिक २० किलो सुनको कारोबार हुन थालेको छ । यो माग बिबाहका लगन भएका महिनामा दैनिक ४० किलोसम्म पुग्छ । 

नेपाल नेपाल  सुनचाँदी व्यवसायी महासंघले कोभिडका बेला सरकारले तोकेको कोटा प्रणाली पुनरावलोकन गर्नुपर्ने माग पनि राख्न थालेको छ । कोभिडका समयमा सरकारले विदेशी मुद्रा संचितीमा दबाब पर्ने भन्दै दैनिक १० किलोसम्म मात्रै सुन आयात गर्न पाउने गरी कोटा तोकेको थियो । 

अहिले पनि त्यही कोटा अनुसार दैनिक १० किलो मात्रै सुन आयात हुन्छ । तर बजार माग भने २० किलो पुगिसकेकाले व्यवसायीहरुले कोटा बढाउनु पर्ने माग गर्दै आएका छन् । कोभिडमा बिक्रि नभएर स्टकमा रहेको सुन मंसिर र माघमा सकिएकाले फागुनमा बिबाहको लगन भएकाले माग बढिरहेपनि दैनिक आयात हुने १० किलोले नपुग्ने व्यवसायीहरुको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved