रातो इँटाको सट्टा ‘इन्टरलक ब्रिक’ कति फाइदाजनक ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 21, 2021 | 11:28:44 AM मा प्रकाशित

laxmi  sunrise bank

अहिले परम्परागत पोलेको इँटाको विकल्पमा ‘इन्टरलक ब्रिक’ प्रयोग गर्न थालिएको छ । सस्तो र बलियो हुने भन्दै यस्तो इँटाको प्रयोग बढिरहेको छ । इन्टरलक ब्रिक प्रयोग गरेर घर बनाउँदा इँटामा लाग्ने लागत ३० प्रतिशत सस्तो हुने निर्माण व्यवसायीहरु नै बताउँछन् । 

करिब १० वर्ष अघिबाट यस्तो इँटा प्रयोग हुन थालेको भएपनि २०७२ सालको भूकम्पपछि भने यसले व्यवसायीक गति लिन थालेको हो । पोलेको इँटा पुग्न ढुवानीमा समय लाग्ने गाउँ गाउँमा इन्टरलक ब्रिकले उपस्थिती जनायो । किनकी यस्तो इँटा घर घरमै बनाउन सकिन्छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको तथ्यांकअनुसार भूकम्पपछि बनेका नीजि आवासमा इन्टरलक ब्रिक प्रयोग गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको गोरखाको लाप्राक नमुना बस्तीमा पनि इन्टरलक ब्रिक नै प्रयोग गरिएको छ । निर्माण स्थलमै अटोमेटिक मेसिन जडान गरेर इन्टरलक ब्रिक उत्पादन गरिँदा सो क्षेत्रका स्थानीयले रोजगारीसमेत पाएका थिए ।

गाउँ गाउँमै उत्पादन 

गाउँमा सुधारिएको चुल्हो बनाउने अभियान चल्दादेखि नै हाते मेसिनबाट इँटा बनाउने गरिन्थ्यो । त्यसैको ठूलो आकारमा रुपमा इन्टरलक ब्रिकलाई बुझ्दा हुने यस्तो इँटा बनाईरहेका कम्पनीहरु बताउँछन् । अहिले गाउँगाउँ र घर घरमा साना हाते मेसिनबाट इन्टरलक इँटा उत्पादन गर्ने उद्योगको संख्या अत्याधिक छ । ग्रामिण भेगमा यस्ता इँटा उत्पादनको तालिम नै दिइन्छ ।

इन्टरलक ब्रिक हेर्दा आकर्षक, बोक्न हलुका, बलियो र पर्यावरण मैत्री पनि हुने भएकाले भूकम्प प्रतिरोधी संरचना निर्माण गर्दा यसको प्रयोग बढिरहेको छ । इको सेल, बिल्ड अप नेपाल, हिमालयन ब्रिक्स जस्ता दर्जनौ कम्पनीले इन्टरलक इँटा उत्पादन गर्दै आएका छन् । 

कसरी बनाइन्छ इन्टरलक ब्रिक ?

विकासमा पछाडी परेका गाउँहरुमा यस्तो इँटा निर्माणले उद्यमशीलताकै रुप लिएका छन् । विभिन्न उद्योगहरुले इन्टरलक ब्रिक इँटा बनाउन तालिम र मेसिन पनि गाउँ गाउँमा पुर्याएका छन् । कर्णालीका हुम्ला, जुम्ला र बागमतीका दोलखा, रामेछाप, सिन्धुपाल्चोक र नुवाकोटमा इन्टरलक ब्रिकको उत्पादन र प्रयोग बढ्दो छ । 

यो इँटामा बढी मात्रामा ४० प्रतिशत चिम्टाइलो माटो, ५० प्रतिशत बालुवा र १० प्रतिशत सिमेन्ट मिसाइन्छ । ३ हजार पीएसआई फोर्समा आइड्रोलिक मेसिनबाट कम्प्रेस गरेर यस्तो इँटा तयार पारिन्छ । यसरी इँटा तयार पारेपछि २४ घण्टा (एक दिन) सम्म घाम नलाग्ने ठाउँमा राख्नुपर्छ । ३ हप्ता अर्थात् २१ दिनसम्म निरन्तर पानीले भिजाईरहनुपर्छ । त्यसपपछि मात्रै प्रयोगयोग्य हुने उत्पादकहरु बताउँछन् ।

भवन निर्माण संहिताबाट स्वीकृत

इन्टरलक ब्रिक इँटाको बीचमा फलामे डण्डी छिराउन मिल्ने प्वाल राखिएको हुन्छ । प्वाल भएको ठाउँ भनेको एउटा इँटामाथि अर्को इँटा इन्टरलकिङ हुन्छ । यसकारण यो इँटाबाट संरचना निर्माण गर्दा बढी बलियो हुने विश्वास लिइन्छ ।

भवन निर्माण संहिताले इन्टरलक इँटाको प्रयोगलाई स्वीकृति दिएको छ । उक्त संहिताले यस्तो इँटाका  १७ प्रकारका डिजाइन सिफारिस पनि गरेको छ । 

मूल्य कति ?

एउटा इन्टरलक ब्रिकको आकार चार वटा पोलेका इँटा बराबर हुन्छ । एउटा इन्टरलक इँटाको मूल्य ५० रुपैयाँ पर्छ । सँगै रातो पोलेको इँटाको मूल्य १६ रुपैयाँ प्रतिगोटा पर्छ । यो हिसाबले चार वटा रातो इँटाको मूल्य ६४ रुपैयाँ पर्छ भने ४ वटा रातो इँटाको आकार एउटै इन्टरलक ब्रिकले ओगटेको हुँदा ५० रुपैयाँमै पाईने भएकाले पोलेको रातो इँटाभन्दा इन्टरलक इँटा १४ रुपैयाँ सस्तो पर्न जान्छ ।

सामान्यतया, ४ कोठे एक तल्ले घर बनाउन १२ हजार वटा रातो पोलेको इँटा खपत हुने अनुमान गरिन्छ । १६ रुपैयाँ प्रतिगोटाका हिसाबले ४ कोठे एक तल्ले घर बनाउन १ लाख ९२ हजारको रातो इँटा किन्नुपर्ने हुन्छ । तर, सोही आकारको घर बनाउँदा इन्टरलक इँटा प्रयोग गरिए १ लाख ५० हजारले नै पुग्ने देखिन्छ । 

गाह्रोमा प्लास्टर गर्न नपर्ने

इन्टरलक ब्रिकको गाह्रो लगाउँदा जडान खर्च पनि बचत हुने उत्पादकहरुको दाबी छ । ४ वटा पोलेको इँटा बराबर एउटै इन्टरलक इँटा हुने भएकाले मसला (सिमेन्ट, बालुवा मिसाएर घोलेको) कम मात्रै भए पुग्ने निर्माण व्यवसायीहरु पनि स्वीकार गर्छन् ।

इन्टरलक इँटा जडान गर्ने मसला बनाउँदा पानी बढी प्रयोग गरिन्छ । तर, पोलेको इँटाको गाह्रो लगाउँदा बाक्लो मसला प्रयोग हुन्छ । इन्टरलक इँटाले लगाएकोमा गाह्रोमा प्लास्टर पनि गर्नु पर्दैन ।

इन्टरलक ब्रिक आगो प्रतिरोधी हुन्छ । रातो इँटा बनाउन भट्टामा राखेर आगो बालेर पोल्नुपर्छ । तर, इन्टरलक ब्रिक बनाउा पोल्न पर्दैन । यसले गर्दा वातावरणमा धुवाँ निस्केर वायु प्रदूषण पनि हुन नपाउने उद्योगीको दाबी छ । यो दाबीमा सरकारले पनि सहमति जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved