
 2mb (1).gif)
सिमेन्टमा मूलुक आत्मनिर्भर भएपनि गुणस्तरमा भने कमजोर बन्दै गएको छ । बजारमा मूल्य अनुसार प्रतिस्पर्धा हुन थालेपछि केही उद्योगले कमजोर गुणस्तरका सिमेन्ट बजारमा ल्याउने गरेको भेटिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले आफ्नो ‘बुलेटिन’मा समेत त्यस्ता ब्राण्डहरुको नाम सार्वजनिक गर्ने गरेको पाईएको छ ।
तर, विभागका महानिर्देशक भने अहिले बजारबाट संकलित स्याम्पल परीक्षण गर्दा गुणस्तर कम भएको नपाईएको बताउँछन् । अनुगमनका क्रममा सबै उद्योगका उत्पादन पर्न सक्ने र अहिले सबै उद्योगहरुले गुणस्तरयुक्त सिमेन्ट नै उत्पादन गर्ने गरेको महानिर्देशक विश्वबाबु पुडासैनी बताउँछन् ।
‘अहिले त धेरै राम्रो हुँदै गएको छ, अनुगमनबाट स्याम्पल लिएर परीक्षण गर्दा खराबी भेटिए हामीले तुरुन्त बजारबाट त्यो लटको उत्पादन फिर्ता लैजान भन्छौँ’ महानिर्देशक पुडासैनीले भने, ‘कुनै कुनैमा केही केही खराबी नभेटिने पनि होइन ।’
कुन कुन ब्राण्डमा छ खराबी ?
विभागले सिमेन्ट उत्पादनको ३ दिन, ७ दिन र २८ दिनको नमूना परीक्षणपछि गुणस्तर प्रमाणपत्र जारी गर्छ । ३ दिनको सिमेन्ट परीक्षण गर्दा १६ एमपीए, ७ दिनको सिमेन्ट परीक्षण गर्दा २२ एमपीए र २८ दिनको सिमेन्ट परीक्षण गर्दा ३३ एमपीए न्यूनतम हुनुपर्ने मापदण्ड छ ।
विभागका महानिर्देशकले अहिले बजारमा आउने कुनै पनि सिमेन्टमा खासै खराबी नभेटिएको दाबी गरेपनि हरेक वर्ष कम गुणस्तरको भनेर दर्ज हुने ५ वटा ब्राण्डका सिमेन्ट छन् ।
रिलायन्स सिमेन्ट उद्योगले रिलायन्स सिमेन्ट भैरहवाबाट र रिलायन्स सुपरटेक वीरगञ्जबाट गरी २ वटा ब्राण्ड उत्पादन गर्दै आएको छ । पीपीसी सिमेन्ट उत्पादन गर्ने रिलायन्सका २ वटै ब्राण्ड कम गुणस्तरको सिमेन्टका रुपमा चिनिन्छन् ।
गोयन्का सिमेन्टको पनि गुणस्तरमा बारम्बार प्रश्न उठ्ने गरेको छ । रिलायन्स र गोयन्काबाहेक विजया, एडभान्स, ब्रीज, आरएमसी र अग्नी ब्राण्डका सिमेन्ट पनि सदाबहार कम गुणस्तरका हुन् । यी सिमेन्टको नमूना परीक्षण गर्दा गतिलो ‘रिजल्ट’ आएको रेकर्ड नै नभएको स्रोतले बताएको छ ।
घोराही सिमेन्ट उद्योग दाङ र मेगा सिमेन्ट उद्योग झापामा पनि समस्या देखिने गरेको छ । गत वर्षको पौषमा पनि विभागले विशाल सिमेन्ट (रुपन्देही), इन्टरनेशनल सिमेन्ट (पर्सा), आरएमसी सिमेन्ट (बारा) र हिमालयन सिमेन्ट (झापा) लाई कारबाही गरेको थियो ।
आजभन्दा करिब २ वर्ष अघि होङ्सी सिमेन्ट (नवलपरासी), अर्घाखाँची सिमेन्ट (रूपन्देही) र शुभश्री जगदम्बा सिमेन्ट (बारा) बाट उत्पादित ओपिसी सिमेन्टको गुणस्तर कम भएको पाईएपछि विभागले स्पष्टिकरण सोधेको थियो । त्यसपछि भने यी ब्राण्डका सिमेन्टले गुणस्तरमा मसिनो गरी ध्यान दिएका छन् । बजारमा अहिले यी नै ब्राण्डको दबदबा छ ।
कारण के ?
बजारमा अहिले सिमेन्टको मूल्यमा प्रतिस्पर्धा भईरहेकाले लागत कम गर्ने रणनीतिमा उद्योगीहरु छन् । उच्च गुणस्तरको सिमेन्ट उत्पादन गर्न मूल्य पनि धेरै लाग्ने भएकाले केही ब्राण्डका सिमेन्टहरुले बजारमा प्रतिस्पर्धा गर्न कम गुणस्तरको सिमेन्टलाई उच्च गुणस्तरको भनेर बजारमा ल्याउने गरेका छन् ।
र, अर्को कुरा सबैजसो सिमेन्ट उद्योगले आफैँ क्लिंकर उत्पादन गर्छन् । क्लिंकरको स्ट्याण्डर्ड नभएकाले पनि समस्या उत्पन्न भएको उद्योगीहरुकै बुझाई छ । कतिपय उद्योगीहरु भने अहिले सिमेन्ट उद्योगहरु प्रविधियुक्त भएकाले कम गुणस्तरको सिमेन्ट बजारमा पठाउने कुनै नियत नहुने दाबी गर्छन् । तर, पछिल्लो २ वर्षको तथ्यांक हेर्ने हो भने गुणस्तर कम भएर कारबाही भोगेका सिमेन्ट उद्योगको सूची लामै छ ।