घाटामा तेल बेचेको दाबी गर्ने आयल निगम नाफामा कसरी ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 02, 2021 | 11:59:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले हप्तैपिच्छे जसो पेट्रोलियम पदार्थको मूल्य बढाउन थालेको छ । २ हप्ता अघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमले सोमबार राति १२ बजेदेखि लागू हुने गरी फेरि डिजेल, पेट्रोल, मट्टितेल तथा आन्तरिक हवाई इन्धनको मूल्य बढायो ।

आजबाट लागू भएको मुल्य अनुसार अब अब पेट्रोल प्रतिलिटर ११६ रुपैयाँ, डिजेल र मट्टितेल प्रतिलिटर ९९ रुपैयाँ तोकेको छ । आन्तरिक तर्फको हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ बढाएर प्रति लिटर ७२ रुपैयाँ मूल्य कायम गरिएको छ । अन्तराष्ट्रिय तर्फको हवाई इन्धनको मूल्य प्रति कि।लि २५ डलर बढाएर प्रति ८९३ अमेरिकी डलर पुर्याइएको छ । 

‘अटो प्राइसिङ’ नभई व्यावहारिक

मूल्य बढाउँदा पनि आफुलाई घाटा नै रहेको निगमको दाबी छ । स्वचालित मूल्य प्रणाली अपनाउने भनेर भन्न नथाक्ने निगमको मूल्य वृद्धि ‘अटो प्राइसिङ’ नभएर व्यावहारिक समायोजन मात्रै हो । पटक पटक मूल्य वृद्धि गरेको भन्दै आलोचना खेपिरहेको निगमले पनि व्यावहारिक रुपमा समायोजन गर्ने गरिएको बताएको छ । 

भारतीय आयल कर्पोरेशनबाट आएको मूल्यसूची अनुसार हरेक १५ दिनमा समायोजन गर्नुपर्ने भएपनि निगमले त्यस अनुसार समायोजन गर्ने गरेको छैन । भारतीय आयल कर्पोरेशनबाट आएको मूल्य अनुसार नभई आफ्नो अनुकुल हेरेर नेपाल आयल निगमले आफूलाई लागेकै आधारमा मूल्य बढाउने गरेको छ । यसलाई निगमले व्यवहारिक समायोजन भन्ने गरेको छ । 

निगमको नीतिः सर्वसाधारणलाई मूल्यवृद्धि, कर्मचारीलाई बोनस र व्यवसायीलाई कमिशन

अटो मेकानिजम अनुसार मूल्य समायोजन गर्न तयार रहेपनि विभिन्न कारण त्यो कार्यान्वयन गर्न नसकिएको निगमका अधिकारीहरु बताउँछन् । 

‘अटो प्राइसिङ सिस्टममा एक पटकमा २ रुपैयाँभन्दा बढी घटाउन नमिल्ने अवस्थामा पनि हामीले एकैपटक १० रुपैयाँसम्म मूल्य घटाएको रेकर्ड छ’ निगमका महानिर्देशक सुरेन्द्र पौडेल भन्छन्, ‘सञ्चालक समितिको निर्णयबाट घटाउनुपर्ने बेला घटाएका छौँ, बढाउनुपर्ने बेला स्वभाविक रुपमा बढ्छ ।’

घाटामा तेल बेचेको दाबी गर्ने निगम कसरी नाफामा ?

निगमले आर्थिक वर्ष २०७६/०७७ मा १० अर्ब ८६ करोड रुपैयाँ नाफा कमाएको छ । १ लिटर पेट्रोलमा २५ रुपैयाँ २० पैसा भन्सार शुल्क लाग्दै आएको छ । ०.०२५ रुपैयाँ भन्सारको सेवा शुल्क, ४ रुपैयाँ सडक मर्मत शुल्क र १.५० रुपैयाँ प्रदुषण शुल्क लाग्छ ।

पूर्वाधार कर १० रुपैयाँ र मूल्य अभिबृद्धि कर १२.६५ रुपैयाँ गर्दा उपभोक्ताले एक लिटर १ लिटर पेट्रोल किन्दा ५४.४७ रुपैयाँ त कर मात्रै बुझाउनुपर्ने बाध्यता छ । आयल निगमले ५२.३९ रुपैयाँ प्रतिलिटरमा खरिद गरेको डिजेल अहिले ९५ रुपैयाँमा बिक्री गरेको छ । एक लिटर डिजेलमा १२ रुपैयाँ भन्सार कर, ०.०२५ रुपैयाँ भन्सार सेवा शुल्क, २ रुपैयाँ सडक मर्मत दस्तुर र १०.६९ रुपैयाँ भ्याट गरी ३७ रुपैयाँ कर मात्रै बुझाउनुपर्ने बाध्यता छ ।

कर तिरेपछि पनि पेट्रोल खरिद गर्दा निगमको मौज्दात ब्याज खर्चका लागि १५ पैसा, निगमको प्रशासनिक खर्च र बीमाका लागि ६८ पैसा, प्राविधिक नोक्सानीका लागि १२ पैसा, ह्रास खर्चवापत १.७२ रुपैयाँ सर्वसाधारणले ‘एक्स्ट्रा’ तिर्नुपर्ने बाध्यता छ  । एक लिटर पेट्रोलमा निगमले कर बाहेक आफ्नो खर्चका लागि मात्रै ४.५७ रुपैयाँ शुल्क लिन्छ ।

यति मात्रै नभई पेट्रोल पम्पले समेत एक लिटर पेट्रोलमा ४.३४ रुपैयाँ कमिसन लिन्छन् । निगमले एक वर्षमा ६७ अर्ब रुपैयाँ त कर मात्रै असुलेको छ । यति हुँदाहुँदै पनि मासिक १ अर्ब रुपैयाँ घाटा ब्यहोरिरहेको बताउने निगमले आफ्ना शेयर धनीहरुलाई भने अघिल्लो वर्षको नाफाबाट २ अर्ब २० करोड रुपैयाँ लाभांश बाँडेको छ । यो रकम कुल नाफाको २० प्रतिशत हो ।

सरकारलाई ६६ अर्ब ८८ करोड राजश्व दाखिला गरेको निगमले पेट्रोल पम्पले लिने कमिशनमा डिजेलमा प्रतिलिटर २१ पैसा र पेट्रोलमा प्रतिलिटर १२ पैसा बढाईदियो । अब कर्मचारीलाई ६ करोड रुपैयाँ बोनस खुवाँदैछ । 

घाटामा तेल बेच्नुपरेको बताउने निगमले उपभोक्तालाई मूल्य वृद्धिको बोझ बोकाएर आफू भने नाफाको ब्यापार गरिरहेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved