यस्तो छ तरलताको वास्तविक अवस्था, सेयरबजारमा कस्तो असर पर्ला ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 02, 2021 | 09:04:36 PM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्लो दिनमा सेयरबजारमा आएको गिरावटलाई तरलता संकुचनसँग जोडिएर व्याख्या गरिएको छ। निक्षेपको तुलनामा कर्जाको माग बढिरहेको र आगामी दिनमा तरलता संकुचन हुन सक्ने र त्यसले ब्याजदर बढ्ने बजारमा एक समुहको बुझाई छ। त्यस्तै केहि संस्थागत लगानीकर्ता तथा सेयर विश्लेषकहरुले भने तत्कालै तरलता संचुकनको सम्भावना नरहेको प्रतिकृया दिईरहेका छन्। 

के साच्चिकै निक्षेपको तुलनामा कर्जा बढेको हो ?

बाणिज्य बैकहरुको छाता संगठन नेपाल बैंकर्स संघले फागुन १४ गतेसम्मको निक्षेप तथा कर्जा परिचालनको तथ्यांक सार्वजनिक गरेको छ। उक्त तथ्यांकअनुसार एक सातामै निक्षेप १० अर्बले बढेको छ भने कर्जा लगानी २७ अर्बले बढेको छ। यस तथ्यांकले पनि बजारमा चर्चा गरिएझैं निक्षेपको तुलनामा पछिल्लो समय कर्जाको माग बढिरहेको देखाउँछ। 

त्यस्तै नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पनि निक्षेपको तुलनामा कर्जाको माग अत्यधिक बढिरहेको देखाएको छ। नेपाल राष्ट्र बैंककाअनुसार आजको दिनमा बैंकिङ प्रणालीमा ७१ अर्ब रुपैयाँ तरलता रहेको छ। तर यो तरलता पुनर्कर्जाको रकमका कारण देखिएको हो। 

पुष मध्यतिर बैंकिङ प्रणालीमा २ खर्ब अधिक तरलता थियो भने यसको साथसाथै ८४ अर्ब रुपैयाँ पुनर्कर्जाको रकम पनि थियो। जसअनुसार बजारमा पुषमध्यतिर झन्डै ३ खर्ब तरलता रहेकोमा राष्ट्र बैंकले प्रशोचन गरेको ९ अर्ब ५४ करोड बाहेक अहिले बजारमा मात्र ७१ अर्ब रुपैयाँ तरलता छ। अर्थात पुनर्कर्जाको रकम तरलताको रुपमा देखिएको छ। 

राष्ट्र बैंकको यो तथ्यांकले कोरोनाको लकडाउन सामान्यअवस्था तर्फ बढिरहेको र आर्थिक गतिबिधि पुन: पुरानै अवस्थामा फर्किने बाटोमा रहेकोले कर्जाको माग ह्वात्तै बढेको देखिन्छ। त्यसमा पनि चालू आर्थिक बर्षको ७ महिनाको आयात गत आर्थिक बर्षको ७ महिनाको आयातको स्तरमा पुगेकाले आयातको लागि कर्जाको माग बढिरहेको देखिएको छ। 

एकातर्फ आर्थिक गतिबिधि पुरानै अवस्थामा अर्थात सामान्य अवस्थामा फर्किएको र आयातको मात्रा पनि बढिरहेकाले तरलतामा दबाब बढ्ने देखिन्छ। तरलतामा दबाब बढ्दै गर्दा त्यसको प्रत्यक्ष असर निक्षेप संकलनमा हुने देखिन्छ। बैशाख जेठ असारलाई सरकारले खर्च गर्ने महिनाको रुपमा लिईने भएपनि सरकारले पर्याप्त खर्च गर्न सकेको अवस्थामा तरलतामा सहजता होला तर वर्तमान अवस्थाले बैंकिङ प्रणालीमा तरलतामा दबाब बढिरहेको देखाउँछ। 

तरलतामा दबाब बढ्ने अवस्था आएमा त्यसको पहिलो असर सेयर धितो कर्जामा पर्ने निश्चित छ। विगतको अभ्यासलाई हेर्दा पनि बैंकहरुले तरलताको सहज अवस्थामा सेयरकर्जामा सहजै कर्जा लगानी गर्छन् भने तरलतामा दबाब पर्दा पहिलो निशाना पनि सेयरधितो कर्जा उठाउने नै हुन्छ। यस्तो अवस्थामा सेयरधितो कर्जा लिनेहरु माथि कर्जा चुक्ताको दबाब पर्न जाँदा त्यसले बजारमा सेयर आपूर्ति बढाउँछ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved