चिनियाँ लगानीको होङ्सी सिमेन्टले किन पाएन बिजुली ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 09, 2021 | 02:44:39 PM मा प्रकाशित

laxmi  sunrise bank

पूर्वी नवलपरासी (बर्दघाट सुस्ता पूर्व) बाट सिमेन्ट उत्पादन गर्दै आएको मूलुककै ठूलो होङ्सी शिवम् सिमेन्टले हालसम्म बिजुली पाउन सकेको छैन । २०७५ साल जेठबाटै व्यवसायिक उत्पादन थालेको होङ्सी सिमेन्टले अहिलेसम्म बिजुली नपाउँदा उत्पादन लागत घटाउन नसकिएको बताएको छ ।

नेपालको शारदा समूह र चीनको होङ्सी समूहले ३६ अर्ब लगानी गरेर नवलपरासीको सर्दीमा उद्योग स्थापना गरी उत्पादन सुरु गरेको करिब ३ वर्ष हुनै लाग्दासमेत उद्योगले बिजुली पाउन सकेको छैन । 

कारण के ?

जिल्लाको बिनयी त्रिबेणी गाउपलिका वार्ड नंबर ४ सर्दीमा बिजुली नै नपुगेका कारण आफूहरुले बिजुली नपाएको होङ्सी सिमेन्टका सञ्चालक मध्येका एक उद्योगी एवम् नेपाल उद्योग परिसंघका अध्यक्ष सतिश कुमार मोर बताउँछन् । 

‘हामीले बिजुलीको प्रवन्ध गरिदिन स्थानीयदेखि केन्द्र सरकार सम्मलाई भनिरहेका छौँ, अहिलेसम्म हाम्रो प्लान्ट भएको ठाउँमा बिजुलीको पोल पनि पुगेको छैन’ मोरले भने, ‘अब जति चाँडो गर्दा पनि ६ महिना त लाग्ने नै होला ।’

अहिले उद्योगले सिमेन्ट उत्पादनमा प्रयोग हुने ऊर्जा नै प्रयोग गरेर १० मेगावाट विद्युत उत्पादन गरी काम भईरहेको उनको भनाई छ । बाँकी अपुग विद्युतको पूर्ति भने जेनेरेटरबाट भईरहेको छ । आफ्नो क्षमताको ५० प्रतिशत क्षमतामा मात्रै चल्दै आएको होङ्सी सिमेन्ट उद्योगलाई हाल दैनिक २५ मेगावाट बिजुली आवश्यक पर्दै आएको छ । 

क्षमता कति ?

हाल दैनिक छ हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्दै आएको होङ्सी सिमेन्टको कुल क्षमता भने दैनिक १२ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्न सक्ने छ । तर, अहिले विभिन्न कारण आधा क्षमतामा मात्रै उद्योग सञ्चालन हुँदै आएको छ ।

अहिले उद्योगमा ४ सय चिनियाँ र १ हजार नेपाली कामदारले प्रत्यक्ष रोजगारी पाएका छन् । कारखाना पूर्ण क्षमतामा सञ्चालन हुन ८० मेगावाट विद्युत् आवश्यक पर्ने र अहिले पनि ५० मेगावाट आवश्यक परिरहेको भएपनि प्रसारण लाइन नहुँदा उद्योग आफैँले विद्युत् उत्पादन गर्नुपरेको छ ।

बिजुली दिए लागत घट्ने

उद्योगले अहिले प्रतिबोरा उत्पादन लागत ६ सयको नजिक रहेको बताएको छ । बिजुली प्राप्त हुने बित्तिक्कै उत्पादन क्षमता पनि अहिलेको तुलनामा सत् प्रतिशत बढ्ने र लागत पनि २० देखि २५ रुपैयाँ प्रतिबोरा घट्ने दाबी उद्योगको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved