
 2mb (1).gif)
कलोपत्रे सडकको सट्टा कंक्रिट सिमेन्टको प्रयोगमार्फत सडक पूर्वाधार बनाईनुपर्ने बहस तात्तिदै छ । अलकत्राको सट्टा नेपालमै उत्पादन हुने कंक्रिटको प्रयोग गरिए सिमेन्टको खपत पनि बढ्ने र सडक पनि बलियो हुने पूर्वाधार विज्ञहरु बताउँछन् ।
कालोपत्रे सडकको सतहले सवारी साधनको भारलाई थेग्न नसक्ने भएकाले निर्माणको केही समयमै सडकको ‘लिक’ अग्लो र होचो हुन्छ । तर, कंक्रिट सडकमा भने यस्तो नहुने विज्ञहरुको दाबी छ ।
इन्धनको कम खपत
नेपालले सवारी साधनमा प्रयोग हुने इन्धन भारतबाट खरिद गर्दै आएको छ । सवारी साधनको पांग्रो सडकमा पर्दा कालोपत्रे सडकको सतह लच्किने किमिसको भएकाले लिक अग्लो र होचो हुन्छ । तर, कंक्रिटमा त्यस्तो नहुने भएकाले सवारी साधनहरु एकनाशले गुड्न सक्छन् । जसका कारण सवारी गुड्न अवरोध कम मात्रामा हुन्छ र इन्धनको खपत पनि कम नै हुन आउँछ ।
एक समय भारतमा गरिएको अध्ययनले कालोपत्रे सडकको तुलनामा कंक्रिट सडकमा गुड्ने सवारी साधनमा इन्धनको खपत १४ प्रतिशतले कमी देखाएको छ ।
कालोपत्रे सडक चाँडै तात्छ
सडकमा कुनै कारणले सवारीबाट डिजेल, पेट्रोल, लुब्रिकेन्टस् आदि पोखियो भने पोखिएको ठाउँमा कालोपत्रे सडक लच्किन्छ । डिजेल, पेट्रोल, लुब्रिकेन्टस्ले कालोपत्र सडकमा प्रयोग भएको बिटुमिनलाई घुलाईदिन्छन् । बिटुमिन तेलमा घुलेपछि बिटुमिन र रोडा बालुवाबीचको ‘जोइनिङ’ फुस्किन्छ । जसका कारण सडकमा खाना साना खाल्डाहरु÷कचौरा आकारका खाल्डा (पट होल्स) पर्छ । तर, कंक्रिट सडकमा भने डिजेल, पेट्रोल, लुब्रिकेन्टस्ले कुनै असर गर्न सक्दैन ।
बिटुमिन प्रयोग भएकोे सडक सतहको रंग कालो हुने भएकाले चाँडै तात्ने गर्दछ । यसरी तातेपछि बिटुमिन पग्लिने र पग्लेपछि सडकको सतह नै नरम भएर बाटो चाँडै बिग्रिन्छ ।
तर, कंक्रिट सडकको सतह सेतो वा खैरो रंगको हुने भएकाले घामको असर एकदमै न्यून मात्रामा पर्ने सडक पूर्वाधार क्षेत्रका विज्ञहरु बताउने गर्छन् ।
कंक्रिट सडक पानी मैत्री
कालोपत्रे वा बिटुमिन प्रयोग भएका सडकको सतहभन्दा मुनि पानी पसेर कमजोर हुने गर्दछ । पानीले बिटुमिन र रोडाबीचको जोइनिङ फुस्काउँदै लैजाने भएकाले सडकले धेरै भार थेग्न नसक्ने जोखिम हुन्छ ।
तर, कंक्रिट सडकलार्य भने पानीले पनि सहयोग गर्छ । पानीले कंक्रिटको जोइनिङलाई बलियो बनाउने भएकाले कंक्रिट सडकलाई ‘पानी मैत्री’ सडक पनि भन्ने गरिन्छ ।
सडकको सतह प्रशस्त मात्रामा खस्रो भएको खण्डमा सवारी साधन बढी सुरक्षित हुने विश्वव्यापी मान्यता छ । कालोपत्रे सडकको तुलनामा कंक्रिट सडक खस्रो हुने भएकाले यसलाई सुरक्षित मान्न सकिन्छ ।
बिटुमिन तताउन प्रयोग हुने इन्धन र बिटुमिन आफैंले पनि तातेर वातावरण प्रतिकुलका ग्यासहरु निस्कने तर, कंक्रिट तयारी सिमेन्टबाट बन्ने र पानी मात्रै प्रयोग हुने भएकाले कंक्रिट सडक वातावरणमैत्री पनि हुने विज्ञहरुको सुझाव छ ।