ब्याजदर घट्दा घरजग्गा कारोबार हालसम्मकै उच्च, राजश्व संकलनमा रेकर्ड ब्रेक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2021 | 12:03:55 PM मा प्रकाशित

laxmi  sunrise bank

फागुन महिनामा घरजग्गाको कारोबारले नयाँ रेकर्ड कायम गरेको छ । गत पुस महिनामा हालसम्मकै उच्च कारोकार भई कायम भएको रेकर्ड फागुन महिनाको कारोबारले तोडेको हो ।

पुसमा उच्च बिन्दुमा पुगेको घरजग्गा कारोबार माघमा भने केही घटेको थियो । तर, फागुन महिनामा हालसम्मकै उच्च कारोबार भएको भूमि, व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ । 

फागुनमा देशभरका मालपोत कार्यलयबाट २ लाख १४ हजार ४ सय ९१ वटा घरजग्गा सम्बन्धि सेवा प्रवाह भएका छन् । माघमा २ लाख ११ हजार र पुसमा २ लाख १४ हजार ४६० सेवा प्रवाह भएका थिए । 

बैंकको ब्याजदरको ठूलो भूमीका

देशभरका भूमिसुधार तथा मालपोत कार्यलयबाट लिखित पारित, नामसारी, संशोधन, रोक्का, फुकुवा जस्ता सेवामार्फत घरजग्गाको कारोबार बढ्दो क्रममा छ । व्यवसायीहरु सबै खालका उद्योग व्यवसायमा कोरोनाले असर पार्दा व्यवसायीको लगानी घरजग्गामा थुप्रिँदा कारोबार बढेको बताउँछन् । 

विभागका महानिर्देशक शेषनारायण पौडेल भने बैंकले ब्याज सस्तो भएकाले कोरोनाको समयमा अन्य व्यवसायको तुलनामा घरजग्गा नै सुरक्षित महशुस गरी लगानीकर्ताले घरजग्गामा लगानी गरेको बताउँछन् । 

७६ हजार घरजग्गा किनबेच

फागुन महिनामा ७६ हजार ४९१ घरजग्गा किनबेच भएको छ । भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा–सुनसरीले सबैभन्दा बढी कारोबार गरेको छ । यो कार्यालयले फागुन महिनामा ३ हजार ५१४ घरजग्गा कारोबार गरेको छ । मालपोत कार्यालय बेलवारी– मोरङले ३ हजार ५०, भद्रपुुर–झापाले २ हजार ७९२, नेपालगञ्ज–बाँकेले २ हजार ५०७ र जनकपुरधाम–धनुषाले २ हजार ३२३ घरजग्गाको कारोबार गरेको छ ।

७६ हजार ४९१ लिखित पारित हुँदा ५ हजार १६४ नामसारी, ५ हजार १८६ संशोधन, ६४ हजार ४३८ रोक्का र ३६ हजार ९४२ फुकुवा गरिएको विभागले जनाएको छ । फागुनमा ५८ वटा अपार्टमेन्टको लिखित पारित, ३६ जग्गा दर्ता, १ हजार ५९७ दाखिला खारेज भएका छन् ।

काठमाडौँ उपत्यकामा अधिकतम कारोबार गरेको भक्तपुर मालपोत कार्यालयले फागुनमा ५ हजार ८ सय ३० कारोबार गरेको छ । 

राजश्व संकलनमा पनि रेकर्ड ब्रेक

कारोबारसँगै राजश्व संकलनमा पनि रेकर्ड ब्रेक भएको छ । गत पुसमा सबैभन्दा धेरै घरजग्गा कारोबार हुँदा ६ अर्ब राजश्व संकलन भएकोमा फागुनमा ७ अर्ब ५ करोड ९ लाख राजश्व संकलन भएको छ । माघमा विभागले ६ अर्ब ७३ करोड २७ लाख ८० हजार राजश्व संकलन गरेको थियो ।

सेवा करवापत ४१ करोड ७६ लाख ४० हजार, बाग्मतीबाट ३० करोड ५९ लाख ४३ हजार, रजिष्ट्रेसन दस्तुरबाट ३ अर्ब ८७ करोड ९४ लाख, छुटबाट ५८ करोड २४ लाख र पूजीँगत लाभ करबाट १ अर्ब ६९ करोड ७० लाख ४३ हजार राजश्व संकलन भएको विभागले जनाएको छ । 

मुख्यमन्त्री स्वछता अभियान कोषबाट ४ करोड ५९ लाख ५७ हजार राजश्व संकलन भएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved