विश्वासको भरमा हलाल खाना, सरकारलाई नै थाहा छैन प्रमाणित गर्ने निकाय

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 23, 2021 | 01:10:41 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालले पर्यटनलाई अर्थतन्त्रको महत्वपूर्ण पिल्लरका रुपमा लिने गर्दछ। तर, विश्वका विभिन्न देशबाट नेपाल आउने पर्यटकका लागि उनीहरु अनुकुलका खानेकुरा उपलब्ध हुँदैन। खानाको उपर्युक्त प्रवन्ध नहुँदा नेपालमा रहेका मध्यपूर्वका देशका राजदूतावासले पनि आफ्ना कार्यक्रमहरु होटल, रेष्टुरेन्टमा गर्न सक्दैनन् ।

साउदी, कतार जस्ता देशका नेपालस्थित राजदूतावासले आफ्ना कार्यक्रमहरु दूतावास परिसर भित्रै गर्नुपर्ने बाध्यता छ । सत प्रतिशत हलाल खाना नहुँदा बजेट भएपनि उनीहरुले दूतावास परिसर बाहिर आएर कार्यक्रम गर्न सकेका छैनन्। 

यस अघि:
-पहिलोपटक सिंहदरबारभित्र हलाल क्यान्टिन

-टंगालमा खुल्यो मिडलइष्टका परिकार पाइने ‘अलेभ केबाब सल्टनेट’, शतप्रतिशत हलाल

हलाल खानाको आवश्यकता कति ?

मध्यपूर्वका देशसँग भारतसँगको जस्तै सम्बन्ध बन्दै गएकाले नेपालमा हलाल खानाको आवश्यकता धेरै बढेर गएको टंगालस्थित अलेभ केबाब सल्टनेटका सञ्चालक कृष्ण पौडेल बताउँछन् । खानाकै कारण मध्यपूर्वका देशका कार्यक्रमहरु दूतावास बाहिर गराएर नेपालका हर क्षेत्रमा मुस्लिम खाना पाइन्छ भन्ने सन्देश दिन सके मध्यपूर्वका देशबाट अहिलेको तुलनामा दोब्बर पर्यटक तान्न सकिने उनको दाबी छ ।

यसका लागि सरकार र सम्बन्धित पक्षले हलाल खानाको आवश्यकता महशुस गर्नुपर्ने पौडेल बताउँछन् । हलाल मासुमा छालाको प्रयोग नहुने भएकाले स्वास्थ्यका दृष्टिकोणले पनि यसलाई राम्रो मानिन्छ।

विदेश गएर फर्किएका नेपाली नागरिकले हलाल खाना खाएर त्यसको महत्व बुझेपनि नेपाल आएपछि उनीहरुले हलाल खानाको आवश्यकता र महत्वलाई स्थापित गर्न नसक्नु दुःखद भएको होटलका अभियन्ताहरु बताउँछन्।

हलाल सर्टिफाइड गर्ने निकाय छैन

हालसम्म हलाल खाना प्रमाणित गर्ने कुनै निकाय नभएका कारण मध्यपूर्वका देशहरुले विश्वास गर्न नसकेको कृष्ण पौडेल बताउँछन् । पर्यटन क्षेत्रको नियामक निकायका रुपमा पर्यटन विभागले होटलको वर्गीकरण गर्ने भएपनि खानाको विषयमा भने विभागले कुनै नियम बनाएको छैन।

‘यो विषयमा मलाई ठ्याक्कै केही पनि जानकारी छैन’ विभागकी निर्देशक समेत रहेकी सूचना अधिकारी मिरा आचार्य भन्छिन्, ‘खानेकुरा सम्बन्धि भएको हुनाले खाद्यले गर्ने हो कि, त्यो पनि थाहा छैन, मैले चाहिँ माउण्टेरिङ बारेमा मात्रै भन्न सक्ने भएकाले यस विषयमा केही भन्न सकिन ।’

जामे मस्जिदले हलाल प्रमाणित गर्छ भन्ने हल्लाका कारण होटलवालाहरु जामे मस्जिद पनि पुगे । तर, मस्जिदले प्रमाणित नगर्ने भनेपछि उनीहरु फर्किए।

‘विश्वासको भरमा चलेको छ’

यो चाहिँ हलाल हो भने प्रमाणित गर्ने कुनै निकाय नभएपछि व्यवसायीहरुले विश्वासको भरमा अहिलेसम्म धान्दै आएको बताएका छन्। सत प्रतिशत हलाल खानाका परिकार पाइने अलेभ केबाब सल्टनेटका सञ्चालक कृष्ण पौडेल मासु सप्लायर्सको विश्वासमा अहिलेसम्म नेपालका होटलहरु चलिरहेको बताउँछन्।

‘त्यस्तो कुनै निकाय रहेनछ, हामीले पनि धेरैतिर बुझ्यौँ’ उनले भने, ‘मासु सप्लायर्सकै विश्वासमा चलिरहेको छ।’

तारे स्तरका होटलहरु आफूहरुले बनाउने परिकार सत प्रतिशत हलाल हुने दाबी गरेपनि उसैगरी सप्लायर्सकै भरमा छन्। ठूला ठूला सप्लायर्सले सर्टिफिकेट दिएरै सप्लाई गर्ने र त्यो सर्टिफिकेट आफूहरुले मध्यपूर्वबाट नेपाल आएका पर्यटकलाई देखाउनुपर्ने होटल संघ नेपाल (हान) का प्रथम उपाध्यक्ष विनायक शाह बताउँछन्।

‘हामीसँग सप्लायर्सले दिएको सर्टिफिकेट हुन्छ, कतार, इतिहाड जस्ता एयरलाइन्सले हलालको सर्टिफिकेट अनिवार्य खोज्छन्, उनीहरुले सर्टिफिकेट नभई मान्दैनन्’ शाह भन्छन्, ‘सरकारी स्तरमा हलाल प्रमाणित गर्ने निकाय छैन, अहिलेसम्म सप्लायर्सकै विश्वासमा चलाउँदै छौँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved