थापाथलीमा केन्द्रीय कार्यालय सार्न लागेको एमालेले कति तिर्छ भाडा ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 29, 2021 | 10:34:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सत्ताको बागडोर सम्हालिरहेको नेकपा एमालेले आफ्नो केन्द्रीय कार्यालय धुम्बाराहीबाट थापाथलीमा सार्दैछ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गत बुधबार पार्टी कार्यालय बस्ने भवनको स्थलगत अवलोकन पनि गरिसकेका छन् ।

बुधबार प्रधानमन्त्रीले नयाँ केन्द्रीय कार्यालय रहने भवनको अवलोकन गर्दैछन् भन्ने जानकारी मंगलबार नै बिजपाटीसहित केही सञ्चार माध्यममार्फत सार्वजनिक भएको थियो । त्योभन्दा अगाडीसम्म यसबारे सामान्यतया सर्वसाधारणलाई कमै मात्रामा जानकारी थियो । तर, एकाएक कार्यालय सर्दैछ भन्ने जानकारी सञ्चार माध्यममार्फत सर्वजनिक भएपछि धेरैले धरै थरी लख काटेका छन् ।

घर कसको हो ? एमालले मासिक भाडा कति तिर्छ ? धुम्बाराहीबाट किन सर्दैछ ? पूरानो मुख्यालय बल्खुमै किन फर्किएन ? जस्ता प्रश्नहरु सर्वसाधारणको मनमा उब्जिएका छन् । 

कसको हो घर ?

एमालले आफ्नो केन्द्रीय कार्यालय राख्न लागेको यो भवन व्यवसायी सञ्जय अग्रवालको हो । धेरैले यो घर राजेश कुमार अग्रवालको भएको दाबी गरेपनि यथार्थमा भने यो भवन केही समय अघि प्याकेजिङ उद्योग चलाउने सञ्जय अग्रवालको हो ।

तर, अहिले सञ्जय अग्रवाल आफैँ भाडाको घरमा बस्दै आएका छन् । इम्पेरियल गार्मेन्ट चलाउँदा अमेरिकाले नेपाली गार्मेन्ट उत्पादनको कोटा खारेज गरेपछि प्याकेजिङ इन्डष्ट्रिज खोलेका अग्रवालले उक्त प्याकेजिङ उद्योग पनि चलाउन सकेनन् ।

त्यसपछि आफूले बनाएको घर भाडामा दिएर सञ्जय भने कालिमाटीमा भाडामा बस्दै आएका छन् । 

भाडा कति ?

पार्टीको केन्द्रीय कार्यालय सार्नैपर्ने भएपछि यसको मुख्य जिम्मेवारी अध्यक्ष ओलीले उपमहासचिव विष्णु पौडेल र आफ्ना प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई दिएका थिए । तर, यो भवन भने प्रधानमन्त्रीका विशेष आर्थिक सल्लाहकारसमेत रहेका पूर्व उद्योग राज्यमन्त्री मोतिलाल दुगडले खोजेका हुन् ।

२०७२ को भूकम्पले बल्खुको पार्टी मुख्यालय भत्काएपछि एमालेले धुम्बाराहीस्थित पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा आफ्नो केन्द्रीय कार्यालय सारेको थियो । २०७२ साउनमा धुम्बाराही सर्दा मासिक १ लाख ५० हजार रुपैयाँ भाडा तिर्ने सहमति भएको थियो । तर, लामो समय बसेपछि अहिले भने मासिक १ लाख ८० हजार रुपैयाँ भाडा तिर्दै आएको छ । 

यसअघिः
गेटमा ओलीको फोटो राखेर थापाथली सर्दै एमाले केन्द्रीय कार्यालय

अब थापाथलीस्थित युनाइटेड नेसन्सको (महिला) कन्ट्री अफिस बसेको घरमा केन्द्रीय कार्यालय सार्ने अन्तिम तयारीमा रहेको एमालले मासिक २ लाख १० हजार रुपैयाँ तिर्ने स्रोतले बताएको छ । भवन खोजेर प्रधानमन्त्रीबाट अवलोकन पनि गराईसकेका दुगड भने ५ वर्षका लागि भाडामा लिने पक्का भएको तर, भाडा कति तिर्ने भन्ने यकिन भईनसकेको दाबी गर्छन् । 

तर, स्रोतले भने मासिक २ लाख १० हजारमा पक्का भएको र वर्षको एकैपटक भूक्तानी गर्ने गरी सम्झौता भईसकेको बताएको छ । यदि यसो भएमा एमालले सञ्जय अग्रवाललाई वर्षमा २५ लाख २० हजार रुपैयाँ भूक्तानी गर्नेछ ।

अग्रवाल निकट व्यवसायीले भने दुगडले आफू बस्ने भनेर लिएको घर पार्टी कार्यालयलाई दिएको र यसमा सञ्जय अग्रवालको कुनै जानकारी नभएको दाबी गर्दै आएका छन् । ४ रोपनी क्षेत्रफलमा बनेको २.५ तले यो घरमा १६ वटा कोठा छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved