
 2mb (1).gif)
भक्तपूरको राधेराधेस्थित वेवारिसे अवस्थामा रहेको भवनबारे बिजपाटीले निरन्तर फलोअप गर्ने क्रममा अर्को ट्वीष्ट फेला पारेको छ । अपार्टमेन्टका लागि निर्माणको स्वीकृति पाएको भनिएको उक्त गगनचुम्बी भवन अपार्टमेन्टका लागि नभई ‘कमर्शियल कम्प्लेक्स’ निर्माणका लागि मात्रै स्वीकृति लिईएको खुलेको हो ।
सहरी विकासले खोल्यो पोल
घरजग्गा तथा आवास विकास संघका अध्यक्षसमेत इच्छाराज वाग्लेले ५ रोपनी जग्गा विष्णु न्यौपानेलाई बेचेका थिए । त्यसपछि न्यौपानले उक्त जग्गामा भवन निर्माणको काम सुरु गरे । उक्त भवनको निर्माण कम्पनी सौरभ समूहको भगीनी संस्था शुभश्री जगदम्बा डेभलपर्स प्रा.लि. हो । आवासीय अपार्टमेन्टको लागि भनेर उपत्यका विकास प्राधिकरणबाट निर्माणको स्वीकृति पाएको बताईएपनि सहरी विकास तथा भवन निर्माण विभाग भने अपार्टमेन्ट नभई ‘कमर्शियल कम्प्लेक्स’ बनाउन अनुमति पाएको बताउँछ ।
विभागका सूचना अधिकारी गणेश कर्माचार्य भन्छन्, ‘अपार्टमेन्टका लागि अनुमति पाएको होइन, अपार्टमेन्टका लागि त सुरुमै विभागबाट डिजाइनको समेत पूर्व स्वीकृति लिनुपर्ने हुन्छ । तर, यो भवनको विषयमा विभागको आवास शाखामा कुनै कुरै आएको थाहा छैन । त्यसकारण यो भवन अपार्टमेन्टका लागि नभई कमर्शियल कम्प्लेक्सका लागि बनाईएको हुनुपर्छ ।’
तर, गोप्य स्रोतले भने अपार्टमेन्ट निर्माणका लागि शुभश्री जगदम्बा डेभलपरले उपत्यका विकास प्राधिकरणबाट १३ तल्लाको स्वीकृति पाएको थियो । तर, पछि थप गरेर १७ तल्ला पुर्याइएपछि प्राधिकरणले स्पष्टिकरण सोधेको थियो । ५ तल्ले भवनको लागि भने २०६७ साल मंसिर २ गते नै नगरपालिकाबाट स्वीकृति पाईसकेको थियो ।
यो पनिः
राधेराधेको वेवारिसे भवन बिक्रि भएको हो ?
प्राधिकरण भक्तपूर कार्यालयका सूचना अधिकारी गणेशराम कोजु भने विवाद नमिलेपछि न्यौपानेले विभागबाटै स्वीकृत गराएर ल्याउने पहल थालेका थिए । तर, अहिलेसम्म के भयो भन्ने जानकारी नगरपालिकालाई गराईएको छैन ।
‘नगरपालिकाले नभनी विभागले केही गर्दैन’
सहरी विकास तथा भवन निर्माण विभागले भने व्यक्ति मात्रै आएर विभागले केही गर्न नसक्ने बताएको छ । विवाद नगरपालिकासँग भएकाले नगरपालिकाको अनुरोधमा विभागले भवन निर्माण संहिता पालना भए नभएको मात्रै हेर्ने भएकाले अहिलेसम्म नगरपालिकाबाट त्यस्तो कुनै ‘रिक्वेष्ट’ विभागमा नआएको सूचना अधिकारी कर्माचार्यको भनाई छ ।
‘हामीले हेर्न सुरुमा नगरपालिकाबाट रिक्वेष्ट आउनुपर्यो, तर विभागको भवन निर्माण संहिता शाखामा त्यस्तो रिक्वेष्ट आएको छैन’ कर्माचार्यले भने, ‘घर धनी एक्लै आउन सक्दै सक्दैनन्, नगरपालिका हो यसको मुख्य जिम्मेवार ।’
आवास विकासकर्ता के भन्छन् ?
न्यौपानेले त्यहाँ मात्रै नभई काठमाडौँका विभिन्न स्थानमा स्तरीय भवन बनाएर कर्पोरेट हाउसका कार्यालयहरु राख्दै आएकाले राधेराधेको उक्त भवन पनि निर्माण सम्पन्न गर्नतर्फ सबै सरोकारवालाले भूमीका निर्वाह गर्नुपर्ने आवास विकासकर्ताहरु बताउँछन् ।
यसअघिः
भक्तपूरमा १० वर्षदेखि वेवारिसे भवनको भित्री कथा
‘विष्णु न्यौपानेले राधेरोधेको त्यो भवनमा ठूलो रकम लगानी गरिसकेका छन्, सामान्य विषयलाई हेरेर लफडामा गएकै कारण अर्बौ लगानी फसेको अवस्था छ’ एक जना घरजग्गा तथा आवास विकासकर्ता भन्छन्, ‘एक जना व्यवसायीले एउटा प्रोजेक्टमा अर्बौ लगानी फसाउनु भनेको लगानीको वातावरण छैन भन्ने सन्देश जानु हो, विवाद के हो भनेर मिलाउन नगरपालिकाले पनि पहल गरिदिनुपर्छ ।’
घरजग्गा तथा आवास विकास संघका अध्यक्ष वाग्लेले पनि न्यौपानेले संघमार्फत पहल थाले आफूहरु समस्या समाधानमा लाग्ने बताएका छन् । उक्त भवनका मालिका न्यौपाने संघमा सदस्य नरहेकाले संघमार्फत अहिले नै समस्या सधानमा पहल गर्न नसकिएको उनको स्वीकारोक्ति छ ।