मेलम्ची आएपछि जार र ट्याङ्करको पानी बेच्नेहरु तनावमा

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 12, 2021 | 02:21:02 PM मा प्रकाशित

laxmi  sunrise bank

चैत्र १५ गते काठमाडौँवासीका लागि उत्सव र सरकारका लागि देशव्यापी वाहवाहीको दिन बन्यो । किनकी, चैत्र १५ गते आइतबारबाट काठमाडौंवासीको घरघरमा मेलम्चीको पानी भित्रियो । 

आफ्नो घर छेउको धारामा पानी झर्ने दिन पनि मानिसहरुलाई पानी आउनेमा विश्वास थिएन । किनकी, हरेक वर्ष कहिले बैशाख, कहिले दशैँ, कहिले माघे संक्रान्तिमा मेलम्चीको पानी आउँछ भनेर जनतालाई झुक्याईने गरिएको थियो । 

ट्याङ्कर र जारवाला तनावमा

काठमाडौँमा वर्षौ लामो समय लगाएर मेलम्चीको पानी भित्रिएपछि ट्याङ्कर र जारको पानी व्यवसायी भने तनावमा छन् । काठमाडौँ उपत्यकाको खानेपानीको अभावलाई ट्याङ्की र जारमार्फत पानी वितरण गरी पूरा गर्दै व्यवसायीहरु विस्थापित हुने पो हौँ कि भन्ने चिन्तामा देखिएका छन् ।

तोकिएको मितिभन्दा वर्षौ ढिला गरी मेलम्ची काठमाडौँ आएको छ । तोकिएको समयमा मेलम्ची आइनपुग्दा आफ्नो व्यवसाय विस्तार गरेका व्यवसायीहरु अब विस्तारै अर्को विकल्पको खोजीमा देखिएका छन् । 

‘अहिले नै ठ्याक्कै असर परेको त देखिएको छैन’ मातातीर्थ खानेपानी संघमा आवद्ध एकजना सदस्य भिम बहादुर कटुवाल भन्छन्, ‘हाम्रो मातातीर्थको पनि खासै माग घटिसकेको छैन, चोभारको पनि घटेको भनेर खबर आएको छैन । अहिले नै त नघट्ला तर, विस्तार विस्तार घट्न त घटिहाल्छ ।’

८० प्रतिशत माग घट्ने अनुमान

काठमाडौँ उपत्यकामा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले पानीको आपूर्ति गर्दै आएको छ । अहिले काठमाडौँमा एक दिनमा ३५ करोड लिटर पउिने पानीको माग छ । तर, उपत्यका खानेपानी लिमिटेडले वर्खामा १० देखि १२ करोड लिटर दैनिक र हिउँद महिनामा ८ करोड लिटर मात्रै पानी उपलब्ध गराउँछ । 

काठमाडौँ उपत्यकामा ७ स्थानबाट बोरिङको पानी निकालिन्छ । यसरी निकालिएको पानी ट्याङ्करले उपभोक्ताको घरघरमा पु¥याउँदै आएका छन् । अब ट्यांकरको आफूहरुले धान्दै आएको पानीको माग र आफूहरुमार्फत उपभोक्ताको घरमा जाने पानीको माग ८० प्रतिशत घट्ने व्यवसायीहरुको अनुमान छ ।

खानेपानी उद्यमी तथा व्यवसायी संघका अध्यक्ष उज्वल शाक्यका अनुसार अहिले तत्कालै माग नघटेपनि एक वर्षभित्र उपत्यकाबासी सबैको घरघरका धारामा मेलम्ची झरेपछि भने जारको पानीको माग केही बाँकी हुने देखिएपनि ट्याङ्करको पानीको माग भने शून्यमै झर्ने अनुमान गरिएको छ । 

काठमाडौँ उपत्यकामा अहिले हजारभन्दा बढी ट्याङ्कर सञ्चालनमा छन् । यो क्षेत्रले २५ हजारलाई रोजगारी दिएको व्यवसायीहरुको दाबी छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved