धेरै पढेका भन्सार एजेन्ट आउने भएपछि डरायो महासंघ, योग्यता घटाउन माग

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 19, 2021 | 10:49:39 AM मा प्रकाशित

laxmi  sunrise bank

भन्सार विभागले २० वर्षपछि भन्सार एजेन्टका लागि नयाँ विज्ञापन खुलायो । २०७७ साल चैत १६ गते विभागले ६६० जना भन्सार एजेन्ट माग गर्दै भन्सार एजेन्ट बन्न चाहनेका लागि नयाँ विज्ञापन खुलाएको थियो । तर, त्यसमा राखिएको प्रावधानप्रति भन्सार एजेन्ट महासंघले विरोध जनाएको छ ।

उच्च शैक्षिक योग्यता लगायतका प्रावधान राखेर पूराना र अनुभवी भन्सार एजेन्टहरुलाई विस्थापित नियतका साथ नयाँ विज्ञापन खुलेको महासंघको आशंका छ । नयाँ विज्ञापन खुलेपनि राखिएका ‘ट्रम्स एण्ड कण्डिशन’ मा आफूहरुले आपत्ति जनाएको महासंघको भनाई छ ।

विरोध किन ?

महासंघले लामो समयदेखि काम गर्दै आएका भन्सार एजेन्टहरु विस्थापित हुने गरी नयाँ विज्ञापन खुलाएको भन्दै प्रेस विज्ञप्तिमार्फत आपत्ति जनाएको हो । महासंघका अध्यक्ष शान्त कुमार शर्माका अनुसार विगत लामो समयदेखि काम गर्दै आएका भन्सार एजेन्ट विस्थापित हुने गरी नयाँ भन्सार एजेन्टको मापदण्ड तोकिएकोले महासंघले आपत्ति जनाउनु परेको हो । 

‘महासंघले नयाँ भन्सार एजेन्ट थप गर्ने, यसका लागि विज्ञापन खुलाउने लगायत विषयमा कुनै आपत्ति जनाएको छैन’ उनले भने, ‘२०५७ सालदेखि भन्सार एजेन्टको रुपमा काम गरिरहेकाहरुलाई व्यवस्थित गरेर मात्रै नयाँ विज्ञापन खुलाईयोस् भन्ने हाम्रो माग थियो । तर, भन्सार विभागले हाम्रो भनाईको कुनै वास्ता नै नगरी नयाँ विज्ञापन खुलाएको छ, यसमा हाम्रो आपत्ति हो ।’

विभागले भन्सार एजेन्टको लाइसेन्स प्राप्त गर्न स्नातक तह उत्तीर्ण गरेको हुनुपर्ने शैक्षिक योग्यता तोकेको छ । तर, अहिले काम गर्दै आएका भन्सार एजेन्टहरु एसएलसी देखि प्लट टू उत्तीर्ण छन् । २०५४ सालम भन्सार एजेन्टको लाइसेन्स खुल्दा १० कक्षा उत्तीर्ण भएको हुनुपर्ने भनिएकोमा भन्सार ऐन २०६४ मा संशोधन हुँदा प्लस टू बनाईएको थियो । 

यो पनिः
२० वर्षपछि खुल्यो भन्सार एजेन्टको विज्ञापन, कतिले पाउँदैछन् नयाँ लाइसेन्स ?

‘भन्सार एजेन्ट वा एजेन्ट प्रतिनिधि भनेको प्राविधिक पद हो, यो काम जसले पायो त्यसले गर्न सक्दैन’ शर्मा भन्छन्, ‘२०६४ सालदेखि काम गर्दै आएका अनुभवीहरुलाई पाखा लगाउन अहिले खुलेको विज्ञापनमा स्नातक पास गरेको हुनुपर्ने भनेर शैक्षिक योग्यता तोकिएको छ । यसमा हाम्रो आपत्ति छ ।’

उनले थपे, ‘अहिले १० कक्षा पासले भन्सार एजेन्टको रुपमा काम गर्दै आएका छन्, उनीहरुसँग २० वर्ष लामो अनुभव छ । तर, अहिले हामीलाई अयोग्य ठहर्याउने र हामीलाई बेरोजगार बनाउने गरी स्नातक तह उत्तीर्ण भनिएको हाम्रो ठहर हो ।’

माग के ?

भन्सार एजेन्ट महासंघले हाल भएका ३३० जना भन्सार एजेन्टहरुको व्यवस्थापन बिना खुलेको नयाँ विज्ञापन सच्याउन माग गरेको छ । विभागले अहिले तोकेको मापदण्डमा हाल काम गर्दै आएका एजेन्टहरुले प्रतिस्पर्धा गर्न नसक्ने भएकाले काम गर्दै आएकालाई समेट्ने गरी नयाँ विज्ञापन खुलाईनुपर्ने महासंघको माग छ ।

महासंघको मूल माग भनेको शैक्षिक योग्यतामा देखिएको छ । आफ्ना माग पूरा नगरिए प्रथम उपाध्यक्ष काशिराम उपध्यायको संयोजकत्वमा गठित संघर्ष समितिमार्फत आन्दोलन गर्ने महासंघको चेतावनी छ । 

के भन्छ विभाग ?

विभागले भने पहिल्यै लाइसेन्स लिइसकेकाको हकमा अहिले खुलेको विज्ञापनको कुनै सम्बन्ध नहुने बताएको छ । विभागका सूचना अधिकारीसमेत रहेका निर्देशक शिशिर घिमिरेले पहिल्यै लाइसेन्स लिएर हाल काम गरिरहेकाहरुले पुनः परीक्षा दिएर फेरि लाइसेन्स लिनुनपर्ने भएकाले भन्सार एजेन्ट महासंघले शैक्षिक योग्यताका विषयमा प्रश्न उठाउन नमिल्ने बताए ।

‘पहिल्यै लाइसेन्स लिएर काम गरिरहेकाहरुलाई फेरि परीक्षा दिनुपर्छ भनिएको छैन’ उनले भने, ‘उहाँहरुलाई फेरि परीक्षा दिनुपर्छ भनेको भए पो हामी प्रतिस्पर्धा गर्न सक्दैनौँ भन्न मिल्छ त, त्यसो भनिएकै छैन । अनि विरोध किन गरिरहनु भएको छ ?’

उनले आफूले विज्ञप्ति पढ्न नपाएको तर सञ्चार माध्यममा आएका समाचारका आधारमा भन्दा पूराना एजेन्टहरुलाई नयाँ खुलेको विज्ञापनले कुनै असर नगर्ने बताए ।

यसअघिः
कसरी बन्ने भन्सार एजेन्ट, के के हुन्छ काम ?

‘आफूभन्दा धेरै पढेका व्यक्तिहरु आउँछन्, उनीहरुले हेप्छन् भन्ने मानसिकता हो भने त शिक्षकले विद्यार्थी पढाउनु भएन आफूभन्दा जान्ने हुन्छन् भनेर । बाउ आमाले पनि छोराछोरी पढाउनु भएन पढेर हेप्छन् भनेर’ घिमिरेले भने, ‘अर्को पुस्ता आउँदा अवश्यनै केही बढी पढेको, बढी प्रविधि बुझेको नै आउँछ नि, अब उसले बढी पढेको छ भनेर आउनै नदिने त ?’

परीक्षाको मिति तोकियो 

भन्सार एजेन्टको लागि आवेदन दिने अन्तिम दिन आइतबार सकिएको छ । दोब्बर दस्तुर तिरेर भने बैशाख १२ गतेसम्म आवेदन दिन सकिने छ । 

विभागले आवेदन दिएकाहरुका लागि लिईने लिखित परीक्षाको मिति नै तोकेको छ । परीक्षा केन्द्र पछि तोकिने गरी विभागले जेठ २२ गते शनिबार दिउँसो १ बजे लिखित परीक्षा हुने जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved