काठमाडौँ बाहिरका यी शहर बन्दैछन् हाउजिङ र अपार्टमेन्टको ‘हब’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 20, 2021 | 10:06:00 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ को माहामारीका कारण काठमाडौँ उपत्यकामा सामूहिक आवास र अपार्टमेन्ट परियोजना निर्माणको स्वीकृति लिन आउन् घटेका छन् । कोभिड पश्चात ललितपुरमा कोलोनी र काठमाडौँको ज्ञानेश्वरमा अपार्टमेन्ट बनाउन काठमाडौँ उपत्यका विकास प्राधिकरणले स्वीकृति दिएको छ ।

तर काठमाडौँ उपत्यका बाहिर भने कोलोनी र अपार्टमेन्ट बढ्न थालेका छन् । काठमाडौँको जग्गा अत्याधिक महँगो भएकाले ‘डेभलपर्स’ ले किनेर हाउजिङ वा अपार्टमेन्ट बनाउन नसक्ने भएकाले आवास विकासकर्ताहरु काठमाडौँभन्दा बाहिर आकर्षित भएको नेपाल घरजग्गा तथा आवास विकास संघका अध्यक्ष इच्छाबहादुर वाग्ले बताउँछन् ।

‘काठमाडौँ बाहिर व्यवस्थित बस्ती विकास हुनु राम्रो’

राजधानी काठमाडौँ योजनाबद्ध रुपमा विकास भएको शहर होइन । तर, काठमाडौँ भित्रका केही केही ठाउँमा भने योजनाबद्ध रुपमा बस्ती विकास भएका छन् । 

वर्षौ अगाडीदेखि काठमाडौँ अव्यवस्थित रुपमा बसोबासको केन्द्र रहँदै आएकाले अब यसलाई व्यवस्थित बनाउन नसकिने भएकाले विकास हुँदै गएका उपत्यका बाहिरका शहरमा व्यवस्थित बस्ती विकासमा आवास विकासकर्ताहरु लाग्नु राम्रो भएको ‘अर्वन प्लानर’ विपिन गैरे बताउँछन् ।

‘हाम्रो जग्गा थोरै छ, यो तन्काउन मिल्ने होइन’ अर्वन प्लानर गैरे भन्छन्, ‘हाउजिङ भन्दा पनि हामी भर्टिकल (बहुतले) बसोबासमै जानुपर्छ, यसका लागि मानिसहरुलाई अभ्यस्त बनाउनुपर्छ । भूकम्प प्रतिरोधी संरचनाहरु बन्नुपर्छ ।’

काठमाडौँ बाहिर पोखरा, भैरहवालगायत तीव्र गतीमा विकास भईरहेका शहरमा हाउजिङ तथा अमार्टमेन्टको निर्माण बढ्नु राम्रो भएको डेभलपर्सहरुको भनाई छ । यसले ती शहरहरुलाई काठमाडौँ जस्तो अव्यवस्थित हुनबाट जोगाउने उनीहरुको तर्क छ ।

‘प्लान गरेर शहर नै बनाउँछु भन्दा यो असम्भव हुने देखेर हामीले सातदोबातोमा पाइलट प्रोजेक्टको रुपमा सुन्दर १२ वटा घरहरु सहितको हाउजिङ बनाउँदैछौँ’ उनले भने, ‘शहर नै बनाउन नसकेपनि एउटा सुन्दर टोल (छिमेक) त बनाउन सक्छौँ नि भनेर हामी लाग्यौ, यही सोचले अर्वन स्पेसको जन्म भयो ।’

अर्वन प्लानर गैरेले आफूहरुले बनाउन सुरु गरेको यो परियोजना सम्पन्न भएपछि केही वर्षमा २५० घर सहितको सुन्दर हाउजिङ बनाउने योजना पनि सुनाए । यसले देशका विभिन्न शहरहरुमा व्यवस्थित बस्ती विकासको सन्देश फैलने उनको दाबी छ ।

बोधी होम्स

काठमाडौं उपत्यका बाहिर पहिलो पटक भैरहवामा विशाल हाउजिङ परियोजना बन्ने भएको छ । भैरहवामा ४ अर्ब रुपैयाँ लगानीमा ३ सय घर भएको ‘बोधी होम्स’ हाउजिङ परियोजना निर्माण सुरु भएको हो ।

दुई चरणमा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको यो हाउजिङ परियोजना आधुनिक सुविधा सम्पन्न हुनेछ । पहिलो चरणमा १०५ घर निर्माण र दोस्रो चरणमा १९५ घरहरु निर्माण गरिने हाउजिङ परियोजनाका अध्यक्ष जलेश्वर पाण्डेले जानकारी दिएका छन् । उनका अनुसार पहिलो चरणमा बन्ने घरहरु १ वर्ष ६ महिना र दोस्रो चरणका घरहरु पहिलो चरणको निर्माण सकिएको एक बर्षपछि निर्माण सुरु गरेर दुई बर्षभित्र गर्ने लक्ष्य लिइएको छ । 

१४ बिघा क्षेत्रफल जग्गामा निर्माण हुने यो हाउजिङ परियोजनामा व्यवसायीदेखि सांसदसम्मको लगानी छ । बोधी होम्स हाउजिङमा जलेश्वर पाण्डे, दीपक पाण्डे, सांसद प्रमोद यादव, दिनबन्धु पोखरेल, छबिलाल कुँवर र रविन्द्र कुवँरको लगानी छ ।

निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमालस्थलबाट ३ किलोमिटर पूर्वतर्फ बन्ने हाउजिङ परियोजनाको बुकिङ भने खुल्न बाँकी छ । हाउजिङका घरहरुको मूल्य तय भइनसकेको र केही दिनमै मूल्य तय गरेर बुकिङ खुल्ला गरिने परियोजनाले जनाएको छ । 

परियोजना भित्र बन्ने घरहरु १३ धुरदेखि १८ धुर क्षेत्रफलसम्म फैलेका हुनेछन् । साढे दुई तलामा बन्ने सबै घरहरु चारवटा विभिन्न डिजाइनमा तयार हुनेछन् । 

भैरहवा क्षेत्रकै सबैभन्दा ठूलो मानिएको यो हाउजिङ परियोजनाभित्र चौडा सडक, पर्याप्त खुला ठाउँ, हेल्थ क्लब, स्वीमिङ पुल, रेष्टुरेन्ट, सपिङ सेन्टर र सुविधासम्पन्न हल निर्माण हुनेछ ।

द हब लुम्बिनी 

सीई समूहको रुपन्देहीको भैरहवामा ‘द हब लुम्बिनी’ नामक परियोजना बनाउँदैछ । आवाससहित व्यावसायिक प्रयोजनका लागि बन्ने यो परियोजना निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलभन्दा १३  किलोमिटर दूरीमा छ ।

परियोजनामा तारे होटल, रेष्टुरेन्ट, आवासीय तथा व्यापारिक भवन लगायत संरचना बन्ने छन् । ब ७ बिघा जमिनमा बन्दै गरेको यो परियोजनाभित्र २५ वटा घरसहितको हाउजिङ बन्नेछ । 

सीई कन्सट्रक्सनका अनुसार ४० युनिटको माया अपार्टमेन्ट बिक्री भइसकेको छ ।

तिलोत्तमा होम्स 

बुटवलमा एकीकृत आवास विकास परियोजनाको निर्माण सुरु भएको छ । लुम्बिनी अष्टदीप मल्टिनेशनल प्रा.लि.ले २ अर्ब लगानी गरेर तिलोत्तमा होम्स नामक एकीकृत आवास विकास परियोजनाको निर्माण थालेको हो । 

रुपन्देहीको तिलोत्तमास्थित बुटवल–भैरहवा सडकको भलबारी चोकबाट १.५ किलोमिटर भित्र ६ विगाहा जग्गामा एकीकृत आवास विकास परियोजना तयार पार्न लागिएको हो । परियोजनाभित्र २२३ वटा सुविधा सम्पन्न आधुनिक घरहरु बन्नेछन् । 

यो आवास परियोजनाभित्र खेल मैदान, बँगैचा, स्वीमिङ पुल, बास्केटबल कोर्ट, कभर्ड हल, हेल्थ क्लब, सैलुन, रेष्टुरेन्ट, मन्दिरलगायत सबै सुविधा उपलब्ध हुनेछन् ।

परियोजनाभित्र सडक, पार्क, स्वीमिङ पुल, बँगैचा जस्ता आकर्षक पूर्वधारका लागि ४० प्रतिशत ठाउँ खुला राखिएको छ । 

यो परियोजनालाई लुम्बिनी क्षेत्रकै अहिलेसम्मकै सुविधा सम्पन्न एकीकृत वस्ती विकासको रुपमा लिईएको छ । आगामी ३ बर्षभित्र निर्माण सक्ने लक्ष्य लिएको आवास परियोजनाभित्र ‘क’ र ‘ख’ गरी २ वर्गका घरहरु निर्माण हुनेछन् । सहरी विकास मापदण्ड अनुसार दुबै वर्गका घरहरु भूकम्प प्रतिरोधी हुनेछन् । 

‘क’ वर्गमा १४ धुर क्षेत्रफलको जग्गामा २९ स्क्वयार फिटका ३८ वटा २.५ तले घरहरु बन्नेछन् । यस्ता घर २ करोड ५० लाख रुपैयाँमा उपलब्ध हुनेछन् । ‘ख’ वर्गमा १० धुर जग्गामा २२ सय स्क्वायर फिटका ८५ वटा आकर्षक घरहरु बनाइनेछ । यस्ता घरको मूल्य १ करोड ७५ लाख रुपैयाँ तोकिएको छ । 

अहिलेसम्म १५ वटा घर बुकिङ भएका छन् ।

अन्नपूर्ण अपार्टमेन्ट

पोखरामा ३ वटा अपार्टमेन्ट बन्दैछन् । घरजग्गा व्यवसायी कालु गुरुङले एकैपटक ३ वटा अपार्टमेन्ट निर्माण थालेका हुन् । 

अन्नपूर्ण अपार्टमेन्टको नामबाट २ वटा र दीप अपार्टमेन्टको नामबाट एउटा अपार्टमेन्ट बनाउने योजनामा उनी छन् । पोखरामा दीप हाउजिङ निर्माण गरिसकेका गुरुङले अन्नपूर्ण अपार्टमेन्ट मास्बारको बुकिङ खुलेको बताएका छन् । 

लभ्ली हिल्स रेसिडेन्सी

पोखरामै ह्वाइट हर्स डेभलपर्सले लभ्ली हिल्स रेसिडेन्सी बनाईरहेको छ । १३ घरसहित २ वटा टावर भएको अपार्टमेन्ट आगामी १ वर्षभित्रै निर्माण सकिने छ । 

५० हजार वर्गफिटमा बन्दै गरेको परियोजना भित्र ४४ युनिटको अपार्टमेन्ट हुनेछन् ।

सुगम र हरिहर कोलोनी 

झापाको बिर्तामोडमा शिवम् हाउजिङले २९ घरसहितको सुगम कोलोनी बनाउँदैछ । 

शिवम्ले बिर्तामोडमै हरिहर कोलोनी पनि बनाउँदैछ । ८५ घरसहितको कोलोनीको हालसम्म २० पटा घर बुकिङ भएका छन् । 

सीई कोलोनी

सीई कन्स्ट्रक्सनले विराटनगरस्थित सनिहाट मार्गमा सीई कोलोनी बनाउँदैछ । कोलोनीमा साढे २ तल्लाका २५ वटा आकर्षक घर रहने छन् । २ हजार ४५ वर्गफिट र २३ सय ९ वर्गफिट गरी २ प्रकारका घर निर्माण हुने छन् । 

एउटा घरको मूल्य १ करोड ९९ लाख ५० हजारदेखि २ करोड ७७ लाख ७० हजार रुपैयाँसम्म पर्ने बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved