लिटरमै सय रुपैयाँले कसरी बढ्यो खाने तेलको मूल्य ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 30, 2021 | 05:02:11 PM मा प्रकाशित

laxmi  sunrise bank

खाने तेलको मूल्य अस्वभाविक रुपमा बढेको छ । ६ महिना अगाडीको तुलनामा अहिले खाने तेलको भाउ लिटरमै १ सयसम्म बढेको छ । यसलाई उपभोक्ता र खुद्रा व्यापारीले अस्वभाविक भनेपनि उद्योगीहरु भने कच्चा पदार्थको मूल्य बढ्दा त्यसको असर तयारी तेलमा परेको बताउँछन् ।

४ महिना अगाडीसम्म १२० देखि १४० रुपैयाँ प्रतिलिटर पर्ने खाने तेलको मूल्य अहिले लिटरमै २४० देखि २५० सम्म पुगेको खुद्रा व्यापारीको गुनासो छ । 

‘उद्योगी र थोक विक्रेता जिम्मेवार हुनुपर्छ’

भटमासको तेलको भाउ २२० रुपैयाँ प्रतिलिटर घटी पाउन छोडिएको छ । आफूहरुले थोक व्यवसायीबाट ल्याएकै मूल्यमा तेल बिक्रि गर्दा पनि ‘ठगी’ र ‘कालोबजारी’ को आरोप लाग्ने गरेको खुद्रा व्यवसायीहरुको गुनासो छ । 

पछिल्लो ३ महिनामा खाने तेलको मूल्य ग्राहकको क्रयशक्ति भन्दा बाहिर गएको खुद्रा व्यापारीहरु नै बताउँछन् । नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राज कुमार श्रेष्ठ उद्योगी र थोक विक्रेता यसको मुल्य जिम्मेवार हुनुपर्ने बताउँछन् । 

‘हामी त थोक विक्रेतासँग ल्याएर बेच्ने हो, मूल्य बढ्नुमा हाम्रो कुनै संलग्नता हुँदैन’ उनी भन्छन्, ‘तर, सिँधै उपभोक्तासँग हामी ठोकिन्छौँ, गाली हामीले खानु परेको छ । तर, यसको मूल्य जिम्मेवार उद्योगी र थोक व्यापारी हुन् ।’

‘उद्योग र पसल सिल गर्न नपरोस्’

वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभागले भने ठूला भनिएका उद्योगी र थोक विक्रताको पसलमा सिल गर्न सम्म पछि नपर्ने चेतावनी दिएको छ । विभागका प्रवक्ता शिवराज सेढाईँ यसअघि पनि ठूला उद्योगीहरुलाई ऐनले दिएको अधिकार प्रयोग गर्दै अधिकतम् जरीवाना तिराईएको स्मरण गर्दै अब पनि जानाजान मूल्य बढाएको भए उद्योग नै सिल गर्ने चेतावनी दिए ।

‘म आयातकर्ता, वितरक र विक्रेता सबैलाई यो भन्न चाहन्छु कि, अब वाणिज्य, आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग तपाईहरुका गल्तीमा टुलुटुलु हेरेर बस्दैन’ उनले भने, ‘आयातकर्ता, वितरक र विक्रेताबाट गल्ती भएको रहेछ भने विभाग सिल गर्न पनि पछि हट्दैन ।’

अध्ययन जारी

विभागले खाने तेलको मूल्य बढ्नु अस्वभाविक हो वा प्राकृतिक हो भन्ने विषयमा अध्ययन पनि थालेको छ । कृत्रिम रुपमा थोक विक्रेता र उद्योगी मिलेर मूल्य बढाए भन्ने गुनासो आएपछि विभागले अध्ययन थालेको प्रवक्ता सेढाईँको भनाई छ । 

उद्योगीहरुले भने भारतबाट आयात हुने भटमास लगायतको कच्चा पदार्थको मूल्य निकै आकाशिएका कारण मूल्य बढेको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved