१२ स्मार्ट सिटी बनाउन बजेट माग्दै शहरी विकास, शिलान्यासको पर्खाइमा प्रधानमन्त्री

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

May 03, 2021 | 11:11:36 AM मा प्रकाशित

sarbottam cement

सात वटै प्रदेशमा पर्नेगरी मूलुकभर १२ वटा स्मार्ट सिटी बन्ने भएका छन् । काठमाडौँ उपत्यकाको मुहार नै परिवर्तन गर्ने परियोजना भनेर हल्ला फैलाईएका ‘स्याटेलाइट सिटी’ बनाउने अवधारणाबाट पछि हटेको शहरी विकास मन्त्रालय सातै प्रदेशमा ‘स्मार्ट सिटी’ बनाउन कस्सिएको छ । 

चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकले नयाँ स्मार्ट सहर बनाउन त्यस्ता शहरको नाम, शहर बन्ने स्थान लगायत टुंगो लगाएको थियो । शहरी विकास मन्त्रालयले यसअघि काठमाडौँमा बन्ने भनेका स्याटेलाइट सिटीलाई भनेजस्तै ‘गेम चेन्जर’ परियोजना भनेको छ । 

कहाँ कहाँ बन्दैछन् स्मार्ट शहर ?

सहरी विकास मन्त्रालयअन्तर्गतको नयाँ शहर विकास आयोजनाका प्रमुख रोशन श्रेष्ठले मन्त्रिपरिषद्बाट निर्णय भएर आएसँगै अध्ययन, डिजाइन, बजेट निकासा र प्रधानमन्त्रीबाट शिलान्यासको तयारी एकसाथ थालिएको बताए । 

प्रदेश १ को धनकुटा र गौरीगञ्ज, प्रदेश २ को रौतहटको मौलापुर र चन्द्रपुर, बागमती प्रदेशको काभ्रेको काभ्रे भ्याली र भक्तपुरको गुन्डु स्मार्ट शहर बन्ने ठाउँको सूचीमा परेका छन् । गण्डकी प्रदेशको वालिङ, लुम्बिनीको लुम्बिनी र तुलसीपुर, कर्णालीको दुल्लु र सुदूरपश्चिमको भीमदत्त र अमरगढी नयाँ बन्ने स्मार्ट शहर हुन् ।

१२ मध्ये ११ वटा नयाँ शहर शहरी विकास मन्त्रालय अन्तर्गतको नयाँ शहर विकास आयोजनाअन्तर्गत र भक्तपुरको गुन्डु काडमाडौँ उपत्यका विकास प्राधिकरणअन्तर्गत बनाईने छ ।

बजेट कति ?

शहरी विकास मन्त्रालयले यी शहरको वातावरणीय प्रभाव अध्ययनका लागि बोलपत्र आह्वानको तयारी गरेको छ । यसपछि विस्तृत आयोजना प्रतिवेदन बनाएर भौतिक काम सुरु गर्ने तयारी छ ।

आयोजना प्रमुख श्रेष्ठका अनुसार प्रस्तावित हरेक स्मार्ट सहरका लागि १÷१ अर्ब रुपैयाँ लागत अनुमान गरिएको छ । बहुवर्षीय बोलपत्र आह्वानको अनुमतिका लागि शहरी विकास मन्त्रालयले आवश्यक प्रक्रिया पूरा गरेर राष्ट्रिय योजना आयोग समक्ष अनुरोध पत्र पठाईसकेको छ । 

‘सुरुमा योजना आयोगले बहुवर्षीय बोलपत्र आह्वान गर्न मन्त्रालयलाई अनुमति दिनुपर्छ, आयोगको अनुमतिपछि आयोगकै पत्रसहित शहरी विकास मन्त्रालयले आवश्यक बजेटको सुनिश्चितता गर्न अर्थ मन्त्रालय समक्ष पत्राचार गर्छ’ श्रेष्ठले भने, ‘बजेटको सुनिश्चितता भएपछि स्मार्ट शहर निर्माणका लागि बोलपत्र आह्वान हुन्छ र सोही अनुसार काम अघि बढ्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved