घरजग्गा धितो राखेर ऋण लिने ५ हजार व्यक्ति कालोसूचीमा

निरोज कुमार थापा

निरोज कुमार थापा

May 07, 2021 | 01:46:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कोभिडको माहामारीकै बीचमा यसवर्ष घरजग्गा कारोबारले महिनैपिच्छे रेकर्ड ब्रेक गर्यो । २०७६ सालको चैत्र ११ गतेबाट मूलुकमा लकडाउन भयो । २०७७ साउनसम्म लकडाउनकै स्थिती हुँदा रोकिएको कारोबारले भदौ महिनापछि भने लय समात्न थाल्यो ।

भूमी व्यवस्थापन विभागका अनुसार पौष, माघ, फाल्गुण र चैत महिनामा घरजग्गाको किर्तीमानी कारोबार भयो । यो बीचमा कारोबार मात्रै किर्तीमानी भएन, ५ हजार बढी ऋणीहरु कालोसूचीमा थपिए ।

कर्जा सूचना केन्द्रको तथ्यांकअनुसार २०७६ चैत ११ गते (लकडाउन सुरु भएको मिति) देखि २०७८ बैशाख १५ गते (पुनः लकडाउन सुरु भएको मिति) सम्म ५ हजार ३२ जना ऋणी कालोसूचीमा थपिएका छन् । 

कालोसूचीमा कसरी थपिए ऋणी ?

घरजग्गा कारोबारमा बैंकहरुले हरेक ३/३ महिनामा ऋणको ब्याज र किस्ता तिर्ने गरी सम्झौता गरेका हुन्छन् । ऋणीले ३ महिनामा तिनुपर्ने ब्याज र किस्ता यदि एकपटक मात्रै तिर्न सकने भने पनि कर्जा सुरक्षण केन्द्रमा स्वतः ‘डिफल्टर’को प्रक्रियामा जान्छ ।

त्यसपछि बैंकहरुले सीबीआईमा भएका आफ्ना त्यस्ता ऋणीहरुको सूची छनोट गरेर कालोसूचीका लागि सिफारिस गर्ने गर्दछन् । यसको मतलब, बैंकहरुले डिफल्टर ऋणीहरुको सूचीबाट आफ्ना ऋणीहरुको नाम लिएर कर्जाको किस्ता र ब्याज नतिरेकाहरुको नाम कालोसूचीमा राख्न चिठी पठाउँछन् ।

एक पटक मात्रै पनि किस्ता तिर्न नसक्दा कालोसचीमा पर्ने अवस्था रहेकाले एक वर्ष एक महिना (१३ महिना) को अवधिमा ५ हजार बढी ऋणीहरु कालोसूचीमा परेको बैंकहरु नै बताउँछन् । अर्को कारण भनेको तराईका जिल्लाहरुका ऋणीहरुमा किस्ता र ब्याज समयमै नतिर्ने किसिमको नियतले पनि कालोसूचीका ऋणीहरुको संख्या बढेको घरजग्गा कारोबारीहरुको बुझाई छ ।

हालसम्मको तथ्यांक हेर्दा ऋण लिएकामध्ये झण्डै ४० प्रतिशत ऋणीले घरजग्गा धितो कर्जा समयमै बुझाउन नसकेको देखिएको छ । 

कुन महिनामा कतिले तिरे किस्ता र ब्याज ?

चालु आर्थिक वर्षको साउनमा २६ हजार २०९ घरजग्गा बन्धक राखेर ऋण लगानी भएकोमा १९ हजार २०१ ऋणीले मात्रै समयमै किस्ता र ब्याज तिरेका छन् । भदौमा १८ हजार ७७९ धितो बन्दक राखिएकोमा जम्मा ११ हजार ५९९ ऋणीले मात्रै धितो फुकुवा गराएका छन् ।

असोजमा अत्याधिक ३६ हजार ४३६ घरजग्गा धितो बन्धकमा राखेर ऋण लगेकामध्ये आधाभन्दा कम १८ हजार ११८ ले मात्रै समयमै कर्जा तिरेर धितो फुकुवा गराएका छन् । कार्तिकमा कारोबार नै भएन ।

मंसिरमा ५३ हजार २८१ घरजग्गा धितो बन्धकमध्ये ३२ हजार २६० धितो फुकुवा, पौषमा ६९ हजार १८२ धितो बन्धकमध्ये ४० हजार २६५ धितो फुकुवा र माघमा ६२ हजार ११६ धितो बन्धक राखिँदा ३८ हजार ३२० मात्रै धितो फुकुवा भएका छन् ।

फागुनमा ६४ हजार धितो बन्धक राखेर ऋण लगेकामध्ये ३६ हजार ९४२ ऋणीले धितो फुकुवा गर्दा चैतमा ७४ हजार ८७५ धितो बन्धक राख्नेहरुमध्ये ४१ हजार ९५८ ऋणीले मात्रै धितो फुकुवा गराएका छन् ।

यो तथ्यांक हेर्दा हरेक महिना ऋण लिनेमध्ये ५० प्रतिशतले ऋणको किस्ता र ब्याज नबुझाएको देखिएपनि कर्जा सूचना केन्द्रको तथ्यांक अनुसार २०७६ चैत ११ गते (लकडाउन सुरु भएको मिति) देखि २०७८ बैशाख १५ गते (पुनः लकडाउन सुरु भएको मिति) सम्म ५ हजार ३२ जना ऋणी कालोसूचीमा थपिएका छन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved