कोभिड महामारीमा नदेखिएका एनजीओ भन्छन्, ‘एकैपटक ५ अर्ब बजेट खर्च गर्दैछौँ’

निरोज कुमार थापा

निरोज कुमार थापा

May 13, 2021 | 02:39:02 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसको संक्रमण तीव्र रुपमा फैलिँदा सबै क्षेत्र आफ्नो क्षमता अनुसार सरकारलाई सघाउन तल्लिन रहेका गैर–सरकारी संघ–संस्थाहरुको उपस्थिती भने देखिएको छैन । उद्योगी व्यवसायीसहित समग्र निजी क्षेत्र आर्थिक र भौतिक सहयोगमा जुटिरहेका बेला मूलुकभर रहेका १ हजार २ सय बढी गैरसरकारी संस्थाहरुको गैसस महासंघ किन बाहिर आएन भन्ने चासो आम सर्वसाधारणले राख्न थालेका छन् । 

गैरसरकारी संस्थाहरुको नियमनकारी निकाय समाज कल्याण परिषदले यसअघि नै कोरोना माहामारीमा केन्द्रित हुन आह्वान गरेको छ । स्वास्थ्य मन्त्रालयले स्वास्थ्य क्षेत्रमा काम गर्ने गैरसरकारी संस्थाहरुसँग सहयोगको अपील गरिसकेको छ । तर, हालसम्म गैरसरकारी संस्थाहरु ‘फिल्ड’ मा देखिएका छैनन् । 

५ देखि २० प्रतिशत बजेट खर्च गर्न आह्वान

समाजकल्याण परिषदले वार्षिक बजेट रकमान्तर गरी कोभिड विरुद्दको अभियानमा लाग्न गैरसरकारी संस्थाहरुलाई अनुरोध गरेको छ । स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरुले काम अघि बढाईसकेको जानकारी परिषदमा पुगेको छ ।

‘समाजकल्याण परिषदले रेगुलर बजेटको भोलुम अनुसार ५ देखि २० प्रतिशत बजेट कोभिड माहामारी विरुद्द खर्च गर्न भनेको छ’ गैसस महासंघका अध्यक्ष जिताराम लामा भन्छन्, ‘कोभिडका लागि भनेर सुरुमै बजेट छुट्टिने अवस्था थिएन, किनकी यो एकाएक आएको समस्या हो, हामी सम्बन्धित डोनर एजेन्सिसँग बजेट माग गर्दैछौँ ।’

५ करोडसम्मको परियोजनाबाट २० प्रतिशत बजेट कोभिडविरुद्द खर्च गर्न परिषदले स्वीकृति दिएको छ । १० करोडसम्मको मूल परियोजनाबाट १५ प्रतिशत, २५ करोडसम्म मूल बजेट भएका परियोजनाबाट १० प्रतिशत, ५० करोडसम्मका परियोजना भए ७ प्रतिशत र ५० करोड बढीको बजेट भएका परियोजनाबाट ५ प्रतिशत बजेट रकमान्तर गरी कोरोना विरुद्दको अभियानमा खर्च गर्न परिषदले स्वीकृति दिएको छ । 

अध्यक्ष लामाले महासंघमा सदस्य रहेका गैरसरकारी संस्थाहरु स्थानीय तहसँग मिलेर माहामारी विरुद्दको अभियानमा लागिरहेको दाबी पनि गरेका छन् । 

‘अगाडी देखिने त सरकार नै हो, हामीले त सरकारलाई सहयोग गर्ने हो’ अध्यक्ष लामा भन्छन्, ‘हामी स्थानीय सरकार सँगसँगै कोभिड विरुद्दको अभियानमा छौँ, फ्रण्ट लाइनमा देखिने त सरकार नै हो, अनि हामी कसरी देखिन्छौँ त ?’

५ अर्ब बजेट कोभिडविरुद्द खर्च गर्ने लक्ष्य

राष्ट्रिय गैरसरकारी संस्थाको वार्षिक बजेट १८ अर्बको हाराहारीमा छ । नेपालभर सक्रिय २३० अन्तराष्ट्रिय गैरसरकारी संस्थाको बजेट १९ अर्ब बढी छ । राष्ट्रिय र अन्तराष्ट्रि गैससको गरी कुल बजेट ३८ अर्बको हाराहारीमा छ ।

विदेशबाट अक्सिजन सिलिण्डर लगायतका मेडिकल सामग्री खरिदका लागि केही संस्थाहरुले टेण्डर प्रक्रियासमेत सुरु गरिसकेको अध्यक्ष लामाको दाबी छ । देशका विभिन्न क्षेत्रमा क्वारेन्टिन, आइसोलेसन कक्षलगायत व्यवस्थापन गर्न चालु ५ अर्ब रुपैयाँ बजेट खर्च गर्ने गरी प्लान भईरहेको उनको भनाई छ । 

‘केही संस्थाहरुले बाहिरबाट मेडिकल सामग्री ल्याउन प्रक्रिया अगाडी बढाएका छन्, कतिपयले टेण्डर पनि गरिसकेका छन्’ अध्यक्ष लामाले भने, ‘यो तत्काल निर्णय गर्नुपर्ने भएकाले निर्णय त भएका छन् तर, निर्णय हुनासाथ नै कार्यान्वयन हुन्छ भन्ने हुँदैन, समय लाग्छ । हामीले अहिले भएको रेगुलर बजेटबाट छुट्याएर भएपनि ५ अर्ब बजेट खर्च गर्ने प्लान बनाएका छौँ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved