
 2mb (1).gif)
सरकारले जग्गाको हदबन्दीमा नयाँ नियम ल्याएपछि घरजग्गा व्यवसायीहरु हदबन्दी भन्दा धेरै जग्गा कसरी राख्ने भन्ने ध्याउन्नमा छन् । यद्यपी, रियलस्टेट व्यवसायीहरुले राख्ने जग्गाको हदबन्दी पनि घटेको छ । तर, हदभन्दा धेरै जग्गा राख्नै नपाउने भने होइन ।
‘जग्गाको हदबन्दी छुट दिने सम्बन्धि आदेश, २०७८’ मा हदभन्दा बढी जगा खरिद गर्न पूर्व स्वीकृति लिनुपर्ने प्रावधान राखिएको छ । स्वीकृति लिन पेश गर्नुपर्ने निवेदनमा १५ वटा सर्त पूरा भएको हुनुपर्ने छ ।
के के हुन् सर्त ?
१. खरिद गर्न चाहेको जग्गा रहेको स्थान, अधिकतम क्षेत्रफल, जग्गाको प्रकार र उपलब्ध भएसम्मको अन्य विवरण
२. उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थासँग सम्बन्धित मन्त्रालयको सिफारिस
३. उद्योग, प्रतिष्ठान वा कम्पनीको दर्ता प्रमाणपत्र र उद्योग, प्रतिष्ठान वा कम्पनीको स्तर खुलाउनु पर्ने भए सोको विवरण
४. संस्थाको सञ्चालक समितिको जग्गा खरिद गर्ने निर्णयको प्रतिलिपि र अख्तियारी पत्र
५. खरिद गर्न चाहेको जग्गा रहेको स्थानीय तहको सिफारिस
६. विधान वा प्रबन्धपत्र र नियमावलीको प्रतिलिपि
७. स्थायी लेखा नम्बरको दर्ता प्रमाणपत्रको प्रतिलिपि र कर चुक्ताको प्रमाणपत्रको प्रतिलिपि
८. आयोजना स्वीकृत हुनुपर्ने उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा त्यस्तो आयोजना स्वीकृति पत्रको प्रतिलिपि
९. लगानी बोर्डबाट स्वीकृत परियोजनाको हकमा लगानी वोर्डको सिफारिस
१०. संस्थापक तथा सञ्चालकहरु नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्रको प्रतिलिपि र विदेशी नागरिक भए राहदानीको प्रतिलिपि
११. संस्थापक तथा सञ्चालकको नाम, स्थायी ठेगाना, बसोबास गरेको स्थान खुल्ने कागजातको प्रतिलिपि वा सञ्चालक हेरफेर भएमा सो सम्बन्धी कागजातको प्रतिलिपि
१२. सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाबाट भइरहेका कार्यहरुको विवरण
१३. विदेशी लगानी गर्ने उद्योग, प्रतिष्ठान र आयोजना भए विदेशी लगानी स्वीकृति पत्र
१४. उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको नाममा रहेको सम्पूर्ण घरजग्गाको जग्गाधनी दर्ता प्रमाणपूर्जा र सो जग्गाको मालपोत (तिरो) तिरेको रसिदको प्रतिलिपि
१५. सञ्चालनमा रहेका उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको हकमा पछिल्लो वर्षको लेखा परीक्षण प्रतिवेदन आदेशमा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै उद्योग, प्रतिष्ठान, कम्पनी वा संस्थाको दर्ताको प्रकृतिका आधारमा सोही उपदफामा उल्लिखित कुनै विवरण वा कागजातहरु त्यस्तो उद्योग, प्रतिष्ठान, कम्पनी आयोजना वा संस्थासँग सम्बन्धी नहुने भए त्यस्तो विवरण पेस गर्नु नपर्ने
यसअघिः
जग्गाको नयाँ हदबन्दी लागू, बढी जग्गा धितो राखेर ऋण लिन नपाईने
यसरी उल्लेखित १५ सर्त पूरा गरेर निवेदन दिएपछि हदभन्दा बढी जग्गा पनि खरिद गर्न पाईनेछ । आवासीय घरजग्गा कारोबारीहरुले पहाडी जिल्लामा १ सय रोपनी, काठमाडौँ उपत्यकामा ५० रोपनी र तराईका जिल्लामा २० विघासम्म जमिन राख्न पाउने भएका छन् ।
यो भन्दा बढी जग्गा राख्न परेमा स्वीकृति लिनुपर्नेछ । यसअघि आवासीय घरजग्गा कारोबार गर्ने रियलस्टेट कम्पनीले पहाडमा ३ सय रोपनी, काठमाडौँमा १ सय रोपनी र तराईका जिल्लामा ५० विघासम्म जमिन राख्न पाउँथे ।