नेपालमा सिटामोलको अभाव, उद्योगी भन्छन्, ‘घाटाको ब्यापार किन गर्ने ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 02, 2021 | 01:03:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका संक्रमित बढिरहेकै बेला सिटामोलको अभाव हुने भएको छ । कच्चा पदार्थ महँगो हुँदै गएपनि तयारी सिटामोलको मूल्य भने २०६४ सालकै कायम रहेको भन्दै उद्योगीहरुले सिटामोल बनाउन छोडेका छन् । 

नेपालका सबैजसो औषधि उद्योगसँग पारासिटामोल बनाउने लाइसेन्स भएपनि ५ वटाले मात्रै उत्पादन गर्दै आएका थिए । तर, यी उद्योगहरुले पनि ७ महिनायता उत्पादन गरेका छैनन् । जसका कारण सरकारी स्वामित्वको नेपाल औषधि लिमिटेडलाई भार थपिएको छ । औषधि लिमिटेडले पनि अब धान्न मुस्किल पर्ने देखिएको छ ।

‘मूल्य नबढेसम्म उत्पादन गर्दैनौँ’

औषधि उत्पादकहरुले पारासिटामोलको मूल्य नबढेसम्म उत्पादन नगर्ने नीति लिएका छन् । कच्चा पदार्थ र प्याकेजिङ मेथडको मूल्य २०६४ सालको तुलनामा दोब्बर भईसकेपनि सिटामोल प्रति ट्याबलेट १ रुपैयाँमै बेच्नुपर्ने भएकाले आफूहरुले उत्पादन नगरेको औषधि उत्पादक संघका अध्यक्ष नारायण बहादुर क्षेत्रीको भनाई छ ।

‘एउटा ट्याबलेट बनाउन १ रुपैयाँ ४० पैसादेखि १ रुपैयाँ ५० पैसासम्म लाग्छ, तर १ रुपैयाँमा बेच्नुपर्छ’ क्षेत्री भन्छन्, ‘सधैँभरी एउटा ट्याबलेटमा ५० पैसा घाटा खाएर बेच्न सकिँदैन । बरु नबनायो आनन्द ।’

एउटा ट्याबलेटको मूल्य २ रुपैयाँ पुर्याए सबै उद्योगले उत्पादन गर्ने अध्यक्ष क्षेत्री बताउँछन् । तर, स्थानीय उद्योगलाई प्रोत्साहन गर्नुको सट्टा आयात गरेरै माग धान्ने नीतिका कारण नेपालका औषधि उद्योगहरु मर्कामा परिरहेको उनको गुनासो छ ।

कति बढ्यो कच्चा पदार्थको भाउ ?

पारासिटामोल बनाउन चाहिने मुख्य कच्चा पदार्थ नै पारासिटामोल हो । यसबाहेक स्पर्च, बीटीसी लगायतका सहायक कच्चा पदार्थ पनि चाहिन्छ । अहिले यी कच्चा पदार्थको मूल्य बढिरहेको छ । 

‘पहिला ३५० भारुमा पाईने कच्चा पदार्थ अहिले ९५० भारु पर्छ’ अध्यक्ष क्षेत्रीले भने, ‘यतीका वर्ष हामीले सीएसआर (सामाजिक उत्तरदायित्व) कै रुपमा घाटा खाएर पनि उत्पादन गरेकै हौँ, तर उद्योगले सधैँ घाटा खाएर सेवा मात्रै गरिरहन सक्दैनन् ।’

‘निको’ बन्न छोड्यो, भारतबाट पनि आएन

पारासिटामोलकै काम गर्ने ‘निको’ पनि बन्न छोडेको छ । ३ महिनादेखि निकोको कुनै पनि ब्याच उत्पादन भएको छैन । नेशनल हेलथ केयरले बनाउने निकोले बजार हिस्सा ६० प्रतिशत ओगटेको भएपनि अहिले उत्पादन हुन छोडेको हो ।

भारतबाट पनि नोभेम्बर यता एक पटक मात्रै १५ लाख ट्याबलेट आएको छ । भारतमै सिटामोलको मूल्य प्रति ट्याबलेट १.७५ भारु (२.८ नेपाली रुपैयाँ) पर्छ । त्यसमा ढुवानी खर्च जोड्दा प्रति ट्याबलेट २ रुपैयाँ ५० पैसासम्म पर्छ । 

औषधि लिमिटेडसँग पनि स्टक शून्य

नेपालमा आजको दिनमा पारासिटामोल बनाउने कम्पनी नेपाल औषधि लिमिटेड मात्रै छ । यो पूर्ण सरकारी स्वामित्वको हो । औषधि लिमिटेडका महाप्रवन्धन्क मोहम्मद शफिउल्लाह सिटामोलको स्टक शून्य रहेको बताउँछन् । बजारमा एकदमै अभाव भने नरहेको तर, अब औषधि लिमिटेडले पनि माग धान्न सक्ने अवस्था भने नरहेको उनको भनाई छ ।

‘हामीले हुम्ला, जुम्लामा पनि पठाएका छौँ, अहिलेसम्म धान्यौ’ उनले भने, ‘अब चाँहि जटिल हुने सम्भावना छ ।’

उनले अभाव हुन नदिन जतिसक्दो चाँडो कच्चा पदार्थ ल्याउने कसरत भईरहेको बताए । अहिले ७ देखि ८ ब्याचलाई पुग्ने कच्चा पदार्थ भने स्टक छ । १० दिनभित्र कच्चा पदार्थ ल्याईसक्ने कसरत भईरहेपनि सार्वजनिक खरिद ऐनका प्रावधानले समस्या सिर्जना गरेको महाप्रवन्धक मोहम्मद शफिउल्लाहको गुनासो छ ।

अभाव हुन नदिन बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म कर्मचारी खटेर काम गरिहेको उनको दाबी छ । निजी उद्योगले बनाउन छोडेपछि सिटामोल अभाव हुन नदिने दायित्व सरकारी उद्योग भएकाले औषधि लिमिटेडकै हो भन्नेमा आफूहरु जानकार रहेको महाप्रवन्धक मोहम्मद शफिउल्लाह बताउँछन् ।

औषधि लिमिटेडले एक ब्याचमा ३ लाख ५० हजार ट्याबलेट सिटामोल बनाउँछ । सिटामोल बाहेक औषधि लिमिटेडले जीवनजल र स्यानिटाइजर पनि बनाउँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved