
 2mb (1).gif)
नेपालका एक मात्र अर्बपति विनोद चौधरीको चौधरी ग्रुप अन्तर्गतको एक वियर फ्याक्ट्रीमा आगलागी भयो । नवलपूरको देवचुली नगरपालिका २ स्थित रजरमा रहेको बियर फ्याक्ट्रीको गोदाममा आगो लाग्दा करोडौँको क्षति भएको छ ।
दमकल, नेपाली सेना, प्रहरी र कर्मचारीहरुले समेत आगोल निभाउन नसकेपछि भवनहरू डोजर लगाएर भत्काईयो । यो जेठ १९ गतेको घटना हो ।
तर, यसअघि पनि चौधरी ग्रुपकै उद्योगहरुमा पटक पटक आगलागी भएका छन् । चौधरी ग्रुपकै उद्योगमा किन पटक पटक आगो लागिरहन्छ ? साँच्चै आगलागि भएकै हो कि, आगो आफैँले लगाईएको भन्ने आशंका उब्जिएका छन् ।
२०६९ असोजमा फर्किदा
२०६९ असोज २८ गते चौधरी ग्रुपकै गोदामा भएको आगलागीको घटना विवादमा छ । अहिलेसम्म निरुपण हुन नसकेको यो घटना काठमाडौँको सतुंगलस्थित सिजी इम्पेक्स, इओएल प्रा.लि. र सिजी इलेक्ट्रोनिक्समा भएको थियो ।
बीमावापत मोटो रकम हात पार्ने दाउमा चौधरी समूह आफैँले आगो लगाएको भन्दै त्यतिबेला विवाद चुलिएको थियो । उक्त आगलागीको घटनापछि चौधरी ग्रुपले ७० करोड १५ लाख रुपैयाँ नोक्सान भएको दाबी बीमा कम्पनी समक्ष गरेको थियो। उद्योगको दाबी अनुसार युनाइटेड इन्स्योरेन्स कम्पनीले २०७० साल असोज ८ गते ५९ करोड रुपैयाँ बीमा दाबी वापत भूक्तानी दिएको थियो ।
तर, शंका लागेर थालिएको अनुसन्धानको मुद्दा अदालतसम्म पुगेपछि उच्च अदालत पाटनले बीमा दाबीमा कीर्ते गरेको भन्दै सिजी इलेक्ट्रोनिक्सलाई बीमा कम्पनीले भरपाइ गराएको ५९ करोडमध्ये २४ करोड रुपैयाँ फिर्ता लिन बीमा समितिलाई निर्देशन दिएको थियो ।
कानुन नै संशोधन
चौधरी समूहको २६ प्रतिशत सेयर हिस्सा रहेको आफ्नै कम्पनीमा आफूखुशी गर्यो भन्दै मुद्दा अख्तियारमा पनि पुग्यो । उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बीमा समितिलाई छानबिन गर्न निर्देशन दियो ।
तर, समितिले सर्भेयरको प्रतिवेदन नल्याउँदै युनाइटेड इन्स्योरेन्सले चौधरी समूहलाई दाबी भुक्तानी दियो । यो घटना पश्चात बीमा समितिले युनाइटेड इन्सोरेन्सलाई केही समय कारोबारमा रोक पनि लगाएको थियो ।
यति मात्रै नभई यस घटना पश्चात एकै घरानाका दुई कम्पनीबीच बीमा गर्न प्रतिबन्ध समेत लगाइएको थियो। यस घटना पश्चात औद्योगिक व्यवसायिक घरानाले आफ्नै लगानी रहेको बीमा कम्पनीमा आफ्नै अन्य उद्योग व्यवसायको बीमा गर्न नपाउने व्यवस्था समेत गरिएको छ।
डेढ वर्ष अघि पनि आगलागी
२०७६ पुस २२ गते पनि चौधरी समूहको उद्योगमा आगलागी भएको थियो । सुनसरीको दुहबीस्थित पशुपति बिस्कुट उद्योगमा आगलागी भएपछि बीमा दाबी गर्न आफैँले आगो लगाएको धेरैको अनुमान छ। त्यतिबेला पनि सीजी ग्रुपले हतार हतार करोडौँको बीमा दाबी गरेपनि आगो लाग्नुको कारण भने आजसम्म पनि पत्ता नलागेको जानकार बताउँछन्।