पहाडका डाँडामा डोजर आतंकः चुनावपछि मात्रै १ खर्ब ५० अर्ब रकम विदेशीयो

निरोज कुमार थापा

निरोज कुमार थापा

Jun 09, 2021 | 01:11:27 PM मा प्रकाशित

laxmi  sunrise bank

चुरेको पहाड फोरेर ढुंगा र बालुवा बेच्ने नीति ल्याईयो भन्दै अहिले आलोचना भईरहेको छ । यद्यपी, अर्थमन्त्री विष्णु पौडेलले चुरेबाट ‘एक डोको बालुवा पनि बेच्दैनौँ’ भन्दै प्रष्टिकरण दिईसकेका छन् । तर, पहाडका डाँडामा डोजर चलाएर भईरहेको प्रकृतिको दोहन प्रति भने कसैको ध्यान गएको छैन ।

चुरे जस्तै, हिमाल र पहाडका खोल्साबाट निस्केको पानीले तराईको खेतीयोग्य जमिन सिँचाई हुने भएपनि पहाडका जंगलमा डोजर लगाएर जथाभावी बाटो खनिँदा प्राकृतिक विनाश भईरहेको छ । गाउँ गाउँका बस्तीहरु नै जोखिममा परेका छन् ।

एक समय राष्ट्रियसभा सदस्य राम नारायण बिडारीले ‘पहाडका डाँडामा हन्द्रयाङ हन्द्रयाङ डोजर चलाएपछि पहिरो नगएर के जान्छ त ?’ भन्दै प्रश्न गरेका थिए ।

१ खर्बका डोजर आयात

स्थानीय तहको चुनावपछि निर्वाचित भएर आएका ८० प्रतिशत वडाध्यक्ष अहिले डोजरका मालिक छन् । केन्द्र र प्रदेश सरकारले पठाएको अनुदान रकम वडा वडामा वितरण हुँदा वडा आफैँले आयोजनामा खर्च गर्न पाउने भयो । सबैजसो वडाले सडक पूर्वाधारलाई प्राथमिकतामा राखेर मनलाग्दी बाटो खन्न थाले । 

सडक निर्माणमा बढी खर्च हुने देखेपछि वडाध्यक्षहरु आफैँ डोजर तथा एक्साभेटर किन्न थाले । २०७३ सालदेखि २०७८ बैशाखसम्म १ खर्ब बढीका डोजर तथा एक्साभेटर आयात भएका छन् । भन्सार विभागका अनुसार डोजरका लागि चाहिने बकेटको आयात गणना छुट्टै ‘कोलम’ तथा ‘क्याटोगरी’ मा हुने भएकाले पछिल्लो ५ वर्षमा १ खर्ब ५० अर्ब बराबरका डोजर र डोजरलाई चाहिने सामान आयात भएका छन् । 

बूलडोजर र एक्साभेटर मात्रै ९२ अर्बको आयात भएका छन् ।

१० महिनामा १० अर्बका डोजर आयात

चालू आर्थिक वर्ष २०७७/०७८ को १० महिनामा १० अर्बको डोजर आयात भएको छ । बैशाखको मध्यबाट लकडाउन हुँदा केही तथा बूलडोजर र एक्साभेटर भन्सारमै रोकिएका पनि छन् । फागुनसम्म १ हजार ४७६ डोजर तथा एक्साभेटर आयात भएकोमा बैशाख मध्यसम्म आईपुग्दा यो संख्या १५ सय पुगेको छ । 

चालु वर्षको १० महिनामा बूलडोजर र एक्साभेटर आयात गरेर मात्रै १० अर्ब १ करोड भन्दा बढी रकम बाहिरिएको छ । 

पछिल्लो ५ वर्षको तथ्यांक हेर्दा

आर्थिक वर्ष २०७३/०७४ मा मात्रै १८ अर्ब २२ करोड ८१ लाख रुपैयाँ बराबरका डोजर आयात भएका छन् । बूलडोजर र एक्साभेटरको मूल्य बढेसँगै त्यसपछिका वर्षमा भने बूलडोजर र एक्साभेटर पनि महँगो हुँदै गएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा भने ५ वर्ष यताकै बढी मूल्यका डोजर तथा एक्साभेटर आयात भएका छन् । आ.व. २०७४/०७५ मा २९ अर्ब ९५ करोड २४ लाख ३१ हजार रुपैयाँको डोजर आयात भएका छन् । यो प्रदेश र संघको निर्वाचन भएको वर्ष पनि हो ।

आर्थिक वर्ष २०७५/०७६ मा १५ अर्ब ५ करोड ७८ लाख ७७ हजार रुपैयाँ बराबरको डोजर आयात भएको छ । 

आर्थिक वर्ष २०७६/०७७ मा ८ अर्ब ३० करोड २३ लाखको डोजर आयात भएका छन् ।  चालु आर्थिक वर्षको २०७७/०७८ १० महिनामा १० अर्ब १ करोडको डोजर आयात भएको छन् ।

महालेखा परीक्षकको कार्यालयका अनुसार स्थानीय तहमा अहिले धेरै बेरुजू हुने गरेको छ । वडाध्यक्षहरुले आफूखुशी बाटो खन्दै बजेट निकासा गर्दै गर्ने भएकाले स्थानीय तहमा चरम आर्थिक अनियमितता रहेको महालेखाको विश्लेषण छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved