उपत्यकामा स्मार्ट सिटीः मध्यमवर्ग र गरिबमाथिको विभेद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 27, 2021 | 03:27:05 PM मा प्रकाशित

laxmi  sunrise bank

काठमाडौँ उपत्यकाभित्र ४ वटा अत्याधुनिक ‘स्याटेलाइट सिटी’ बनाउने भनेर ३ वर्षसम्म जग्गा रोक्का राखिएको थियो । काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार स्मार्ट सिटीभित्र ८ आनाभन्दा कम जग्गाको कित्ताकाट हुँदैन । ८ आनाभन्दा कम जग्गा कित्ताकाट गर्न नपाउने मापदण्ड भएपनि मालपोत र नापीले सम्बन्धित स्थानीय तहको सिफारिसमा यस्तो काम गर्दै आएका छन् । 

प्राधिकरणले नयाँ शहर बनाउने प्रस्ताव पेश गरेपछि २०७४ बैशाख २५ को मन्त्रिपरिषद बैठकले काम अगाडि बढाउन निर्देशन दिँदै प्रस्तावित शहरले ओगट्ने क्षेत्रको जग्गा ३ वर्षका लागि रोक्कासमेत गरेको थियो । ललितपूर महानगरपालिकाले यसअघि नै स्याटेलाइट सिटी अस्वीकार गरेपछि काठमाडौँ र भक्तपूरका विभिन्न क्षेत्र समेटेर ३ वटा स्याटेलाइट सिटीको डीपीआर भने बनाईएको छ । 

मध्यम वर्गीय समुदायमाथिको विभेद

ईशान, आग्नेय, (पूर्व दक्षिण) र नैऋत्य नाम दिईएका यी शहर उपत्यकामा नै पहिलोपटक व्यवस्थित शहरका रुपमा बन्ने भनिएको छ । भक्तपुरको गुन्डु क्षेत्रलाई स्मार्ट शहर बनाउने योजना छ ।

तर, यी क्षेत्रमा ८ आनाभन्दा कम जग्गाको कित्ताकाट हुँदैन । यसले मध्यम वर्गीय परिवारलाई काठमाडौँमा आफ्नै घर बनाएर बस्ने बाटो बन्द गरिदिएको रियलस्टेट व्यवसायीहरुको आरोप छ ।

‘स्मार्ट सिटीभित्र ८ आनाभन्दा कम जग्गा कित्ताकाट नहुने मापदण्ड छ, तर मिलिमतोमा भईरहेको छ । यदि काठमाडौँ बाहिरबाट आएर ४ आना जग्गा किनेको व्यक्ति भोली स्मार्ट सिटीको मापदण्ड अनुसार कम्तीमा ८ आना हुनुपर्ने भनेर समस्यामा पर्यो भने को जिम्मेवार ?’ एक जना रियलस्टेट व्यवसायी प्रश्न गर्छन्, ‘काठमाडौँमा ४ आना जग्गा किनेर घर बनाउँछु, छोराछोरी यतै पढाउँछु भनेर गाउँको जमिन बेचेर आएको मध्यम वर्गीय र गरिबमाथिको अन्याय हो कि होइन यो ?’ 

अहिले किनेको जग्गा मापदण्डमा परेन भन्यो भने जिम्मेवार को ?

अहिले लुकीछिपी ४ आना जग्गा पनि कित्ताकाट भईरहेको व्यवसायीहरु नै बताउँछन् । स्याटेलाइट सिटी बन्दैछ भन्ने लोभमा जग्गा ओगटेर बसेकाहरु अहिलेसम्म कुनै प्रक्रिया सुरु नभएपछि जग्गा बेच्ने मनस्थितीमा पुगेका छन् । ठूलो परिणाममा जग्गा भएकाहरुले धेरै दाम आउने देखेर ४ आना ५ आनामा टुक्रा गरेर जग्गा बेच्न थालेका छन् ।

यसैको फाइदा उठाउँदै अनौपचारिक रुपमा जग्गा दलालको काम गर्दै आएकाहरुले सोझा खरिदकर्तालाई जग्गा ‘भिडाईरहेको’ एक जना रियलस्टेट व्यवसायी बताउँछन् ।

‘अहिले पनि ३ आना ४ आना जग्गा बिक्रि भईरहेको छ । भोली स्याटेलाइट सिटी, स्मार्ट सिटीको मापदण्ड अनुसार परेर वा भएन भनेर त्यो ३ आना ४ आना जग्गा किन्नेको बिचल्ली हुने अवस्था आयो भने को जिम्मेवार ?’ एक जना व्यवसायीले नै प्रश्न गरे, ‘धनीहरुले ८ आना मात्रै होइन, रोपनीका रोपनी जग्गा जाडेका हुन्छन् । ४ आना ५ आना किन्ने भनेको मध्यम वर्गीय र गरिब परिवारको व्यक्तिले हो । के उनीहरु चाहिँ काठमाडौँमा बस्नै नपाउने हो ?’

के भन्छ प्राधिकरण ?

काठमाडौँ उपत्यका विकास प्राधिकरणले भने ८ आनाभन्दा कम कित्ताकाट गर्न पूर्ण बन्देज नगरिएको बताएको छ । प्राधिकरणकी सूचना अधिकारी सुष्मा गौतमले घना बस्ती भएका ठाउँमा ८ आना भन्दा कम जग्गा पनि कित्ताकाट गर्न पाईने बताइन् । 

‘८ आनाभन्दा कम जग्गाको कित्ताकाट घना बस्तीमा मात्रै गर्न पाइन्छ, खाली जग्गामा पाइँदैन’ उनले भनिन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved