डिजिटल युगमा प्रवेश गर्यो मालपोत प्रशासन, देशैभरी अनलाइन प्रणाली लागू

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 08, 2021 | 11:07:32 AM मा प्रकाशित

laxmi  sunrise bank

मालपोत कार्यालय सम्पूर्ण रुपमा अनलाइन प्रणालीमा प्रवेश गरेको छ । कागजी ढड्डा प्रणालीलाई विस्थापित गर्दै बुधबारबाट देशभरका मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएको हो । 

६ वर्षअघि कलंकी मालपोत कार्यालयबाट सुरु भएको ‘भू–अभिलेख सूचना व्यवस्थापन प्रणाली’ बुधबारबाट देशभर रहेका १२६ वटै मालपोत कार्यालयमा लागू भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार डोल्पा, मुगु, रुकुम पश्चिम, मनाङ, रूपन्देहीको मझगवा, गुल्मीको मजुवा बजार, गोरखाको सिर्दिबास र खोटाङको खोटाङ बजार मालपोत कार्यालयमा पनि अनलाइन प्रणाली लागू भएपछि देशका सबै मालपोत कार्यालयहरुबाट ढड्डा प्रणाली विस्थापित भएका हुन् । 

ढड्डा प्रणाली हटाएर अनलाइन प्रणालीमा प्रवेश गरेसँगै मालपोत प्रशासन अब डिजिटल युगमा प्रवेश गरेको महानिर्देशक पौडेलको भनाई छ । उनले यसलाई ऐतिहासिक उपलब्धि भनेका छन् ।

‘हामी छिट्टै हाम्रो सिस्टमलाई नागरिक एपमा जोड्छौँ,’ महानिर्देशक पौडेलले भने, ‘त्यसपछि आफ्नो घरजग्गाको क्षेत्रफल, सँधियार, रोक्का, राजस्व लगायतका सबै विवरण नागरिक एपबाटै हेर्न सकिनेछ ।’ 

अनलाइन प्रणालीका फाइदा के ?

सबै मालपोत कार्यालयमा अनलाइन प्रणाली लागू भएपछि अब एक जिल्लाको जग्गा अर्को जिल्लाको मालपोत कार्यालयबाट पनि नामसारी हुने सुविधा थपिएको छ । एउटा जिल्लामा बसेर अर्को जिल्लाको कारोबार गर्न सकिने भएकाले यसका लागि विभागले सबै प्रदेशलाई पत्राचार गरिसकेको छ । 

यसअघि किर्ते घटनाले रोकिएको बेजिल्ले पास पनि अब सुचारु भएको छ । 

मालपोतको रजिस्ट्रेसन शुल्क प्रदेश सरकारअन्तर्गत पर्ने भएकाले प्रदेशभित्र बेजिल्ले पास गर्न ३ प्रतिशत थप र अन्तरप्रदेशमा पास गर्न ५ प्रतिशत थप रजिस्ट्रेसन शुल्क लाग्छ । 

विदेशमै बसेर पनि नेपालमा घरजग्गा किनबेच गर्न सकिने खालको प्रणालीको विकास गर्न लागिएको विभागले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved