सर्वोच्चको फैसलामा नीजि क्षेत्रको प्रतिक्रिया, ‘जसको सरकार आएपनि बजेट कार्यान्वयन होस्’

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Jul 12, 2021 | 03:59:28 PM मा प्रकाशित

सर्वोच्च अदालतको आजको फैसलाले प्रतिनिधिसभा पुनःस्थापना गरेको छ । यति मात्रै नभई सर्वोच्चले नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत दिएको छ । 

प्रतिनिधिसभा भंग गरी निर्वाचनको मिति घोषणा भईसकेको अवस्थामा सर्वोच्चको आजको फैसलाले थप अस्थिरता सिर्जना गरेको कोणबाट पनि टिप्पणी भईरहेका छन् । असारको अन्तिम हप्ता अर्थात् चालु आर्थिक वर्ष २०७७÷०७८ को अन्तिम साता, मौद्रिक नीति आउने दिन नजिकिईरहेको बेलामा चरम राजनीतिक अस्थिरता देखिँदा त्यसले अर्थतन्त्रमा पनि असर पार्ने उद्योगी व्यवसायीको बुझाई छ ।

आफूहरुले वर्षौदेखि राजनीतिक स्थिरता चाहेको भएपनि राजनीतिक दलहरुले कहिल्यै स्थिरता दिन नसकेको उनीहरुको गुनासो छ । यद्यपी, राजनीतिक रुपमा हुने अस्थिरताले नीजि क्षेत्रमा खासै निराशा भने देखिएको छैन ।

के छ निजी क्षेत्रको धारणा ?

जसको सरकार बनेपनि बजेट अक्षरस कार्यान्वयन होस्ः सतिश कुमार मोर (अध्यक्ष, नेपाल उद्योग परिसंघ)

राजनीतिक विषयमा हामी खासै जानकार पनि हुँदैनौँ, बोल्न पनि आवश्यक ठान्दैनौँ । तर अहिले कोभिडको महामारीको बेला छ, सबैलाई भ्याक्सिन उपलब्ध गराउनुपर्ने प्रमुख दायित्व छोडेर राजनीतिक दलहरु अन्यत्र नलागे राम्रो हुन्छ ।

बजेट कार्यान्वयन गर्नुपर्ने बेला छ, मोनिटरी पोलिसी आउने बेला छ । अहिलेको अवस्थामा राजनीतिमा जे जे भएपनि आगामी वर्षका लागि आएको बजेट अक्षरस कार्यान्वयन होस् भन्ने हाम्रो चाहाना हो । जसको सरकार बनपनि बजेट कार्यान्वयनलाई प्राथमिकता दिईनुपर्छ भन्ने हो । अरु त खासै जानकारीको विषय होइन हाम्रो लागि ।

सुरु भएका काम नरोकियोस्ः राजेन्द्र मल्ल (अध्यक्ष, नेपाल चेम्बर अफ कमर्श)

लिडरसीप स्थिर होस् भन्ने चाहाना हो । दरिलो सरकार खोजेका हौँ । यसो भयो भने नीतिहरु लङ ट्रम जान सक्थे । अहिले देखिएको पोलिटिकल पिक्चरले हामीलाई आफ्नो सेवा गर्न खासै बाधा पुग्दैन पनि होला ।

हाम्रो चाहाना भनेको जो सुकै सरकारमा आएपछि एकले सुरु गरेका काम अब आउने अर्को सरकारले पनि निरन्तरता देओस् भन्ने हो । लगानीका केही वातावरण, रोजगारी सिर्जना जस्ता केही काम सुरु भएका छन्, अब आउनेले यी कामलाई निरन्तरता दिनुहुनेछ भन्ने विश्वास छ ।

राजनीतिक विषय भएकाले हामी धेरै बोल्न आवश्यक पनि हुँदैन ।

नेताहरु आफ्नै समस्यामा रुमल्लिएः दिनेश श्रेष्ठ (जिल्ला नगर उपाध्यक्ष, उद्योग वाणिज्य महासंघ)

हामीले राजनीतिक स्थिरता चाहेको हो । मन्त्रिहरु १०/१२ दिनमै फेरिने नियतिले नीजि क्षेत्रले अहिलेसम्म कोरोनाको खोप पाएको छैन । नेपाल मात्रै एउटा यस्तो देश हो, जहाँ हरेक विपत्तिको भार नीजि क्षेत्रको टाउकोमा थपिँदै जान्छ । तर, हामीले गरेको योगदान कहिल्यै देखिँदैन ।

कोभिडको यस्तो परिस्थितीमा नीजि क्षेत्रले फ्रन्ट लाइनमा बसेर आपुर्ति व्यवस्था सहज बनायो । हरेक विपत्तिमा अग्र पंक्तिमा खटिने नीजि क्षेत्रले अभिभावक पाउनै मुस्किल भो । हाम्रो समस्या कसलाई सुनाउने ? नेताहरु आफ्नै समस्यामा रुमल्लिएका छन् । 

आर्थिक मुद्दामा राजनीतिक प्रभाव नपरोस्, तपाईहरुको राजनीतिक विषय आफैँ मिलाउनु, आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने खेल नखेल्नु भनेर अनुरोध गर्नुबाहेक अरु केही भन्नु छैन ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved