कसरी उत्कृष्ट बन्यो नेपालकै कान्छो पाँचतारे ‘होटल मेरियट’ ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 15, 2021 | 03:45:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अहिले काठमाडौँको नागपोखरीस्थित ‘होटल मेरियट’ (मेरियट काडमाडौँ) निकै चर्चामा छ । करिब साढे २ वर्षअघि एक सय वर्ष पूरानो अमेरिकी बहुराष्ट्रिय ब्राण्ड ‘मेरियट’ नेपाल प्रवेश गरेको हो । 

कान्छो पाँचतारे होटल हो मेरियट । लगानीकर्ताहरु २ दशकदेखि नेपालमा पाँचतारे होटलमा लगानी गर्न हिचकिचाईरहेको अवस्था थियो । अमेरिकी मल्टिनेशनल ब्राण्डले व्यवस्थापनका सबै काम हेर्ने गरी कान्छो पाँचतारे होटलका रुपमा मेरियटको उदय भएपछि नेपालको हस्पिटालिटी र होटल क्षेत्रमा मेरियटको चर्चा एकाएक चुलियो ।

स्थापनाको ६ महिनामै एशिया क्षेत्रका सबै उपाधि जितेको मेरियट काठमाडौँ साढे २ वर्षको कलिलो उमेरमै अहिले विदेशी पाहुना, नेपालकै प्रतिष्ठित व्यवसायी र उच्च तहका राजनीतिक नेतृत्वको पहिलो रोजाई बनेको छ ।

अन्तराष्ट्रिय मापदण्ड

होटल खोल्ने लक्ष्यका साथ शशिकान्त अग्रवालले करिब ७ वर्ष अगाडी नागपोखरीमा १३ रोपनी जग्गा किनेका थिए । नेपाल प्रहरीको केन्द्रीय कार्यालयबाट पुगनपुग १ किलोमिटर र नारायणहिटी दरबार संग्रहालयबाट पनि उत्तिकै दूरीमा पर्ने नागपोखरी क्षेत्र काठमाडौँको बीचमा पर्छ । यो क्षेत्रमा अन्तराष्ट्रिय स्तरको तारे होटल सञ्चालनको योजनामा अग्रवालले जग्गा किनेका थिए ।

जग्गा किनेर होटलका लागि भवन उभ्याउँदासम्म उनले ख्याति प्राप्त अन्तराष्ट्रिय ब्राण्डहरुसँग छलफल गरे । अन्तिममा मेरियटलाई भित्र्याए । 

मेरियटको खाना र कोठाको गुणस्तर १०० प्रतिशत अन्तराष्ट्रिय छ । विश्वभरी ८ सय होटल सञ्चालन गर्दै आएको मेरियटले मेरियट काठमाडौँमा पनि खानाको मेनुदेखि हरेक व्यवस्थापनको काम आफैँले गर्छ । 

भित्रै रेष्टुरेन्ट, बार, ३ वटा ठूला हलहरु, क्यासिनो, जिम, स्पा, स्वीमिङ पुल र पार्लरदेखि सैलुनसम्म होटलभित्रै उपलब्ध छन् । 

‘मेरियटको ब्राण्ड, मेरियटको सर्भिस, मेरियटकै छनौटका स्टाफ भएकाले अन्तराष्ट्रिय स्तरको सर्भिसमा कुनै शंका छैन’ सञ्चालक शशिकान्त अग्रवाल भन्छन्, ‘यति मात्रै नभई अब डेप्लोमेटहरुलाई तालिम पनि दिँदैछौँ । कुटनीतिक नियोगमा जानेहरु, विशेषगरी राजदूतहरुले खाना कसरी खाने, प्लेट कसरी उठाउने भन्ने तरिका हुन्छ । अब हामी यो तालिम पनि सुरु गर्दैछौँ ।’

२१४ कोठा

विशाल गगनचुम्बी भवनमा सञ्चालित होटल मेरियटमा अग्रवालको एकल लगानी छ । ४ अर्ब रुपैयाँ लगानी रहेको यो होटलमा २१४ कोठा छन् ।

यीमध्ये एउटा ‘प्रेसिडेण्टल स्वीट्स रुम’ छ । २ हजार स्क्वायर फिट अर्थात ८ आना जग्गा बराबरको क्षेत्रफलमा फैलिएको यो कोठा भिभिआई र भिआईपीको रोजाईमा पर्छ । यो कोठा प्रयोग वापत एक रातको १५ सय अमेरिकी डलर तिर्नुपर्छ ।

काठमाडौँ उपत्यका वरपरको सौन्दर्य प्रष्टसँग अवलोकन गर्दै प्राकृतिक दृश्यावलोकन गर्न सकिने यो कोठाबाट काठमाडौँ पूरै ३६० डिग्रीमा देख्न सकिन्छ । नजिकैको नारायणहिटी दरबार संग्रहालय, स्वयम्भूका सबै स्तुपा र सिंगै डाँडो, काठमाडौँको मध्यभागमा उभिएको धरहरा, नजिकैको नाँगपोखरी र कमलपोखरी छ्याङ्ग देखिने भएकाले ‘प्रेसिडेण्टल स्वीट्स रुम’ विशेष छ ।

यसबाहेक २० वटा स्वीट्स रुम छन् । एक रातको २५० अमेरिकी डलर पर्ने यी कोठाहरु अन्तराष्ट्रिय स्तरका छन् । बाँकी १९३ कोठाको भने एक रातको न्युनतम १० हजार रुपैयाँ पर्छ ।

आफूलाई पाँचतारे होटलमा सेवा लिन नसक्ने वर्गका रुपमा लिँदै आएका मिडल क्लास (मध्यम वर्गीय) परिवारले पनि सहजै सेवा लिन सक्ने गरी सुलभ मूल्यमै कोठादेखि खानासम्मको व्यवस्था गरिएको दाबी अग्रवाललको छ ।

२५० कर्मचारी

होटल मेरियटले २५० जनालाई रोजगारी दिएको छ । यीमध्ये ५ जना विदेशी छन् । व्यवस्थापक चेन ब्राण्ड मेरियटले नै फ्रान्सका एकजनालाई म्यानेजरका रुपमा पठाएको छ । मार्केटिङको जिम्मेवारीमा पनि विदेशी महिला कार्यरत छिन् ।

‘कर्मचारी को राख्ने, कसरी छनौट गर्ने सबै काम उनीहरुले नै गर्छन्’ अग्रवालले भने, ‘अहिले ५ जना विदेशी छन् । २४५ जना नेपालीले एउटा होटलमा रोजगारी पाउनु आफैँमा ठूलो हो । टोटल कर्मचारीको ५ प्रतिशतसम्म विदेशी राख्न पाउने व्यवस्था छ, हामीले २ प्रतिशत मात्रै विदेशी राखेका छौँ ।’

स्मार्ट लोकेशन र भिआईपीको रोजाई

होटल मेरियट नागपोखरी, नक्साल, कमलपोखरी, हात्तिसार जहाँ अवस्थित छ भनेपनि हुन्छ । तर, नागपोखरी छेवैको जग्गामा अवस्थित हुनाले मेरियट नागपोखरीमा पर्छ । 

यो ‘लोकेशन’ केन्द्रमा पर्छ । केपी ओली प्रधानमन्त्रीमा बहाल रहँदा बालुवाटारबाट फुत्त निस्केर माधब नेपालसँग वार्ता गर्न पुग्ने ठाउँ पनि होटल मेरियट नै हो । जनता समाजवादी पार्टीका सांसदलाई एमाले सांसद महेश बस्नेतले तराईबाट उठाएर ल्याएर राखेको होटल पनि मेरियट नै हो । 

जताबाट सहजै आउन सकिने, सडकमा जामको बाधा नपर्ने, बालुवाटार, सिंहदरबार जताबाट पनि नजिकै हुनाले पनि मानिसहरुको रोजाईमा मेरियट परेको सञ्चालक अग्रवालको बुझाई छ ।

बंगलादेशका राष्ट्रपति, चीनका विदेशमन्त्री, कतारका राजकुमार लगायतलाई सेवा दिईसकेको होटल मेरियट भिआईपीको पनि पहिलो रोजाई बन्ने गरेको छ ।

सेवाग्राहीका प्रतिक्रिया लिखित नभई भौतिक

तारे र पर्यटक स्तरका होटलले सेवाग्राहीका प्रतिक्रिया लिन कोठामै डायरी र कलमको व्यवस्था गरेका हुन्छन् । मेरियटमा अनलाइनबाट पनि प्रतिक्रिया दिन सकिने व्यवस्था छ । सेवाग्राहीहरु लिखित रुपमा प्रतिक्रिया दिएर बाहिरिन्छन् ।

तर, उनीहरु पुनः फर्केर आउँछन् । मेरियटमा एकपटक सेवा लिएको सेवाग्राही काठमाडौँ आउँदा मेरियटमै बस्न रुचाउँछ । नेपाली मात्रै नभई विदेशी पाहुनाको हकमा पनि यसै भएको छ ।

‘एकपटक आएर सेवा लिएका सेवाग्राही दोहोर्याएर आउनुहुन्छ, यो नै हाम्रो लागि फिडब्याक हो’ अग्रवाल भन्छन्, ।

यसलाई मेरियटले सेवाग्राहीबाट प्राप्त भौतिक ‘फिडब्याक’ भन्ने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved