उमेश श्रेष्ठः २० अर्बको मालिकदेखि मन्त्रीसम्म

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 28, 2021 | 10:14:13 AM मा प्रकाशित

laxmi  sunrise bank

शिक्षा क्षेत्रका नामी व्यवसायी उमेश श्रेष्ठ अहिले स्वास्थ्य राज्यमन्त्री छन् । प्रधानमन्त्री शेर बहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्री बनाएपछि उनको आलोचना भईरहेको छ । नागरिक आन्दोलनको नाममा नारायण वाग्लेदेखि डा. गोविन्द केसीसम्म सडकमा छन् ।

कतिपयले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले मोतिलाल दुगडलाई काखी च्यापेकै शैलीमा देउवाले पनि उमेश श्रेष्ठलाई समाएको भन्दै आलोचना गरेका छन् । 

तर, नीजि क्षेत्र भने श्रेष्ठको बचाउमा छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नीजि क्षेत्रको कुशल व्यवस्थापक राज्य सञ्चालनमा पनि योग्य हुने भन्दै ट्वीट नै गरेका छन् । 

नियतमाथि शंका

आँखिर श्रेष्ठ मन्त्री बन्नै नहुने पात्र हुन् त ? नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभाका सांसद रहेका श्रेष्ठ मन्त्री बन्न नपाउने भन्ने पनि हुँदैन । तर, देउवाले राम्रो उदेश्य राखेर भने उनलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा शंका उब्जिएको छ ।

आफ्नी श्रीमति आरजु राणा देउवाको दबाबमा मेडिकल कलेजको व्यवसायीलाई मन्त्री बनाउन देउवा बाध्य भए । 

अर्कोतर्फ काँग्रेसको महाधिवेशन पनि आईरहेको र निर्वाचनको मिति पनि दिनप्रतिदिन नजिकिएका कारण व्यवसायीलाई सत्तामा छिराउँदा आफूलाई फाइदा पुग्ने देखेरै देउवाले श्रेष्ठलाई मन्त्री बनाएको चर्चा पनि हुन थालेको छ । 

यति मात्रै नभई मन्त्री नबनाएको अवस्थामा महाधिवेशनमा आफूले शेखर कोइरालालाई सघाउने भन्दै उमेश श्रेष्ठले घुर्की लगाएपछि देउवाले महाधिवेशनमा आफूलाई सघाउने ग्यारेन्टी गरेर मन्त्री बनाएको पनि लख काट्न थालिएको छ ।

को हुन् उमेश श्रेष्ठ ?

भोजपूरबाट ४१ वर्षअघि काठमाडौँ छिरेका उमेश श्रेष्ठ अहिले २० अर्ब बढीको मालिक छन् । उनी बैंक, नीजि कलेज र जलविद्युत क्षेत्रका नामी लगानीकर्ता हुन् ।

निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र हिसानको अध्यक्षसमेत भईसकेका श्रेष्ठ संविधानसभा सदस्य पनि हुन् । 

बैंकिङतर्फ उनी प्राइम बैंकका प्रोमोटर सेयर होल्डर हुन् । १६ अर्ब चुक्ता पूँजी रहेको प्राइममा श्रेष्ठको सेयर स्वामित्व ३.१० प्रतिशत अर्थात् ४९ लाख ८५ हजार ४३५ कित्ता छ । प्राइम बैंकमा मात्रै उनको सम्पत्ति २ अर्ब ६३ करोड रुपैयाँ छ । 

ललितपुरपस्थित लिटिल एञ्जल्स स्कुलसहित अन्य नीजि कलेजमा पनि लगानी गरेका श्रेष्ठले लगानी गरेका ९ वटा जलविद्युत आयोजना छन् । लिटिल एञ्जल्सलाई ‘यूनिभर्सिटी’ बनाउने दाउमा पनि उनी लागिरहेकै छन् ।

होटल तथा पर्यटनतर्फ धुलिखेलमा भर्खरै मात्र सञ्चालनमा आएको हिमालयन दृश्य रिसोर्ट, चितवनको सिराइचुली होटल लगायतमा पनि श्रेष्ठको लगानी छ । पोखरामा पनि उनको होटल बन्दैछ ।

तनहुँमा घाँसी एग्रो रिसर्च प्रा.ली. मा लगानी गर्दै उनले कृषि क्षेत्रमा पनि हात हालेका छन् । 

स्वास्थ्यतर्फ ललितपूरको एकान्तकुनामा हेलोइस अस्पतालमा पनि उनको लगानी छ । 

यी बाहेक पनि अन्यत्र श्रेष्ठले ठूलो रकम लगानी गरेका छन् । उनलाई नजिकबाट चिन्नेहरु हालसम्म उनीसँग २० अर्ब बढीको सम्पत्ति रहेको दाबी गर्छन् । पार्टी राजनीतिमा भने शेखर कोइरालाका निकट मानिने श्रेष्ठ अविवाहित छन् । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved