कुलमानलाई प्रश्न, ‘बिजुली दिन नसकेपनि पैसा चाहिँ तिर्नुपर्छ भन्नु कति जायज ?’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 17, 2021 | 10:21:39 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल विद्युत प्राधिकरणको कार्यकारी नेतृत्व एकपछि अर्को विवादमा तानिएको छ । लोडसेडिङ अन्त्य गरेर देशभरी चर्चा कमाएका कुलमान घिसिङ दोस्रो कार्यकालका लागि अहिले प्राधिकरणको कार्यकारी निर्देशकमा बहाल छन् । तर, उनले लोडसेडिङ अवधिमा लोडसेडिङको मार खेपेका उद्योगीहरुमाथि निरन्तर डण्डा प्रहार गर्दा अत्याधिक विद्युत खपत गर्ने उद्योग व्यवसायको क्षेत्र त्रसित बनेको छ ।

२०७२ फागुन ११ गते नदीहरूमा जलस्तर घट्न गई विद्युत उत्पादन केन्द्रहरूबाट न्यून रूपमा विद्युत उत्पादन भएको हुँदा उद्योगहरूलाई लोडसेडिङको तालिकामा रहन अनुरोध गर्दै प्राधिकरणले एउटा सूचना निकाल्यो । तर, अहिले त्यो सूचनाको विरुद्द हुने गरी कुलमान उद्योगीहरुमाथि निरन्तर डण्डा बर्षाइरहेका छन् ।

‘अर्को निर्णय नभएसम्मका लागि नेपाल सरकारका विभिन्न निकाय तथा सरकारी कार्यालय/अस्पताल, सुरक्षा अंग तथा संवेदनशील निकायहरूबाहेक निजी क्षेत्रबाट सञ्चालित प्रतिष्ठान/उद्योग/अस्पताल तथा नर्सिङ–होम आदिलाई डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति दिने कार्य स्थगित गरिएको र डेडिकेटेड फिडरमार्फत विद्युत आपूर्ति लिइरहेका निजी औद्योगिक/प्रतिष्ठान/अस्पताल लगायतका ग्राहकहरूलाई २०७२/११/११ गतेदेखि लागू हुने गरी लोडसेडिङको तालिकाभित्र रहने गरी विद्युत आपूर्ति गर्ने व्यवस्था मिलाइने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ’ भनिएको छ । 

तर, प्राधिकरण सञ्चालक समितिको २०७२ साल असार १२ गते बसेको ७१०औं बैठकले डेडिकेटेड लाइनको महशुल दर तोक्ने गर्ने निर्णय गरेको थियो । २०७२ साउन १ देखिको विद्युत खपतमा नयाँ दररेट अनुसार महशुल उठाइने भनिएपनि २०७२ फागुनमा आएर डेडिकेटेड फिडरमार्फत विद्युत दिन नसकिने भन्दै प्राधिकरण पन्छियो ।

तर, ‘म बिजुली दिन सक्दिनँ, मैले बिजुली दिन नसकेपनि तिमीहरुले महशुल चाहिँ बुझाउनुपर्छ’ भन्ने प्राधिकरणको तर्क कति न्यायसंगत हो ? अहिले उद्योगीहरुले बारम्बार उठाउँदै आएको प्रश्न हो यो ।

दोहोरो चरित्र

प्राधिकरणसँग विद्युत महशुल तोक्ने कानुनी अधिकार छैन । तत्कालीन विद्युत महशुल निर्धारण आयोग नै बिजुलीको शुल्क तोक्ने निकाय थियो । तर, प्राधिकरणले २०७२ पुस २० गते आफूले तोकेको नयाँ महशुल दर अनुमोदनका लागि आयोगमा पत्र पठायो । आयोगले पनि प्राधिकरणको माग र अनुरोध अनुसार नै माघ १७ गते नयाँ महशुल दर अनुमोदन गरिदियो । 

ट्रंक लाइन र डेडिकेटेड फिडरमा विवाद भएपछि प्राधिकरण आयोग गुहार्न पुग्यो । ट्रंक लाइनको पनि डेडिकेटेड फिडरसरह नै महशुल उठाउन पाउने व्यवस्थाको माग गर्दै आयोग पुगेको प्राधिकरणको उक्त माग पनि आयोगले अनुमोदन गरिदियो । २०७३ असार १६ गते आयोगले ट्रंक लाइनको पनि डेडिकेटेड फिडरसरह नै भएकोले ट्रंक लाइनले पनि डेडिकेटेड फिडर अनुसार नै महशुल तिर्नुपर्ने निर्णय गरिदियो ।

तर, आफ्ना सबै निर्णय आयोगबाट अनुमोदन गराएपछि प्राधिकरणले लोडसेडिङको सूचना निकालिदियो । उद्योगीहरु २०७२ फागुनदेखि लोडसेडिङमा बस्न बाध्य भए । लोडसेडिङको तालिका सार्वजनिक गरेर सोही अनुसार बिजुली उपलब्ध गराएको प्राधिकरणले डेडिकेटेड लाइनको महशुल तिर भन्नु प्राधिकरणको दोहोरो चरित्र भएको हाल अर्थमन्त्री रहेका तत्कालिन उर्जामन्त्री जनार्दन शर्माले पनि स्वीकार गरिसकेका छन् ।

मुकेश काफ्लेको निर्णय देखाएर कुलमानको एकोहोरोपन

मुकेशराज काफ्ले १३ महिना प्राधिकरणको कार्यकारी प्रमुख रहे । २०७२ सालमा प्राधिकरणको कार्यकारी निर्देशक रहेका काफ्लेले २०७३ भदौ २५ गते पदबाट राजीनामा दिए । 

२०७३ भदौ २९ देखि २०७७ भदौ २८ अर्थात् ४ वर्ष कुलमान घिसिङले एकछत्र प्राधिकरणको नेतृत्व गरे । काफ्लेको कार्यकाल २०७२ साउनदेखि २०७२ माघ १७ सम्म डेडिकेडेट फिडरको नाममा महशुल उठान मिल्ने देखिँदैन । किनकी, त्यो अवधिमा आयोगले प्राधिकरणको प्रस्ताव स्वीकृत गरेकै छैन । 

२०७२ माघ १८ गतेदेखि २०७३ असार १५ गतेसम्मको पनि ट्रंक लाइनको महशुल उठाउन मिल्ने कानुनी आधार प्राधिकरणसँग छैन । किनभने, आयोगले असार १६ गते मात्रै ‘ट्रंक लाइनलाई डेडिकेटेड फिडरसरह’ मान्दै प्राधिकरणको प्रस्ताव अनुमोदन गरेको छ । 

२०७३ साल असारमा प्राधिकरणले साउनदेखि लागू हुने गरी महशुल संकलन विनियमावली सर्वजनिक गरेको थियो । विनियमावली कार्यान्वयनमा आएको र तत्कालिन आयोगले प्राधिकरणकै प्रस्तावअनुसार महशुल दर स्वीकृत गरेको भएपनि २०७३ साल साउनदेखि उठाउनुपर्ने ट्रंक र डेडिकेटेड फिडरको महशुल ३ वर्षसम्म नउठाएर कुलमानले २०७६ सालमा उद्योगीहरु नै झसंग हुने गरी किन बिल पठाए भन्ने जानकारी अहिलेसम्म न प्राधिकरणसँग छ, न कुलमानले नै सार्वजनिक गर्न सकेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved