केवल टिभी व्यवसायीद्वारा कुलमानविरुद्द अदालत जानेसम्मको चेतावनी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2021 | 01:39:55 PM मा प्रकाशित

laxmi  sunrise bank

बुधबार केवल टिभी व्यवसायीहरुले राष्ट्रिय भेलाको आयोजना गरे । विद्युत प्राधिकरणले पोलको भाडा बढाएपछि आन्दोलित भएका केवल टिभी व्यवसायीहरुले बुधबार काठमाडौँमा राष्ट्रिय भेलाको आयोजना गरेका हुन् । 

भेलामा उपस्थित भएर केवल टिभी व्यवसायी इतरका व्यक्तिहरुले पनि उनीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । बन्दसत्रमा प्रदेश अनुसार टोली बनाएर छलफल गरेका व्यवसायीहरुले कुलमान घिसिङ र प्राधिकरणविरुद्द संघर्ष समिति नै बनाएर आन्दोलन गर्ने निष्कर्ष सुनाएका छन् ।

प्रदेश १ (दिनेश सुवेदी–टोली नेता)

समूहगत छलफलको निष्कर्ष सुनाउँदै प्रदेश नम्बर १ का टोली नेता दिनेश सुवेदीले बढेको पोलको भाडा तिर्नै नसक्ने बताए । उनले एप्सहरुलाई कानुनी दायरामा ल्याउनुपर्ने, एनालकलाई डिजिटलमा जाने समय थप हुनुपर्ने र पोलको भाडा बढाएका कुलमानविरुद्द केवल टिभी व्यवसायी महासंघले संघर्ष समिति नै बनाएर आन्दोलन गर्नुपर्ने सुनाए ।

प्रदेश २ (पवन कुमार शाह–टोली नेता)

प्रदेश नम्बर २ का व्यवसायीका तर्फबाट छलफलका निष्कर्ष सुनाउँदै टोली नेता पवन कुमार शाहले यसअघि प्राधिकरणले तोकेको पोलको भाडा तिर्दापनि व्यवसायीलाई जानकारी नै नदिई पोल सारेर प्राधिकरणले अनावश्यक दुःख दिने काम गरेको गुनासो गरेका छन् । 

उनले अब बढेको पोलको भाडा तिर्न आफूहरु नसक्ने र सिमा क्षेत्रमा भारतीय डीटीएचका कारण नेपाली व्यवसायी मर्कामा परेको दुखेसो पोखेका छन् । 

बागमती प्रदेश (पुष्पलाल श्रेष्ठ–टोली नेता)

बागमतीका टोली नेताका रुपमा छलफलको निष्कर्ष सुनाएका पुष्पलाल श्रेष्ठले संघप्रति नै आक्रोश पोखे । ठूला केवुल व्यवसायीहरुले सानालाई हेप्ने गरेको उनको गुनासो छ । 

‘भन्दा साथीहरुलाई चित्त दुख्ला, तर हाम्रा ठूला केवुल व्यवसायीहरुले सानालाई जहिल्यै हेपाहा नजरले हेर्नुभयो’ उनले भने, ‘आज खोइ महासंघ, कहाँ छ ? ३ वर्षदेखि महासंघ हराएको छ ।’

यसअघिः
केवल टिभी व्यवसायीदेखि चलचित्र निर्मातासम्मको निष्कर्ष, ‘कुलमानमा दम्भ बढ्यो’

उनले साना व्यवसायीहरु मिलेर छुट्टै महासंघ बनाएर जाने सोच रहेको पनि सुनाए ।

यसैक्रममा उनले पोलको भाडा तिर्न नसकिने बताउँदै इन्टरनेटबाट चल्ने विदेशी एप्सहरुलाई करको दायरामा ल्याउन वा यसो गर्न नसकिए बन्द गर्न पनि सरकारसँग माग गरे ।

गण्डकी प्रदेश (महाप्रसाद सुवेदी–टोली नेता)

अन्य प्रदेशका टोली नेताभन्दा निकै आक्रोशित देखिएका महाप्रसाद सुवेदीले प्राधिकरणले बढाएको भाडा मात्रै नभई यसअघि तिर्दै आएको भाडा पनि अब नतिर्ने चेतावनी दिए ।

‘हाम्रै खेतमा पोल गाडेर प्राधिकरण व्यापार गर्ने, अनि हामीसँगै पैसा माग्ने ?’ उनले प्रश्न गर्दै भने, ‘बिजुली हामीलाई पनि चाहिएको छ भनेर हामीले पोल गाड्न दिएको हो, त्यसमा केवल टिभीका तार टाँगेवापत केही शुल्क पनि तिरेकै हौँ, तर एकोहोरो पेल्ने नीति प्राधिकरणले लिएको छ, अब त्यो तिर्दै आएको पैसा पनि तिर्दैनौँ, हाम्रो खेतमा पोल गाडेवापत प्राधिकरणसँग अब मुआब्जा माग्ने हो ।’

प्राधिकरणले पोल गाडेको छेउको जग्गा धितो राखेर ऋण लिन खोज्दा बैंकले नदिने र घर बनाएर बस्न पनि स्थानीय तहले नक्सा पास नगरिदिने उनको गुनासो छ । 

सुवेदीले महासंघका अध्यक्ष सुधिर पराजुलीले सदस्य व्यवसायीका माग सम्बन्धित निकायमा राख्न नसकेको आरोप पनि लगाए ।

लुम्बिनी प्रदेश (मनोहरी योगी–टोली नेता)

लुम्बिनी प्रदेशका केवुल टिभी व्यवसायीका तर्फबाट छलफलको निष्कर्ष सुनाउन मञ्चमा पुगेका मनोहरी योगीले कुलमान घिसिङ र प्राधिकरण विरुद्द अदालत जानुपर्ने बताएका छन् । कानुन व्यवसायीले पनि अत्याधिक चर्को शुल्क लिनेगरी प्राधिकरणले गरेको निर्णय संविधानमा उल्लेख भएका अधिकार विपरित भएकाले अदालत जान सुझाव दिएकाले अब ढिला गर्न नहुने उनको तर्क छ ।

उनले सुरुमा कानुन व्यवसायीसहित सञ्चार र उर्जा मन्त्रालयमा डेलिकेशन जान पनि नेतृत्वलाई सुझाए ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved