कौसी खेतीको नाममा १० हजार अनुदान थाप्दैछन् करोडौँका घर भएका धनाढ्यहरु

बिजपाटी सम्बाददाता

बिजपाटी सम्बाददाता

Oct 06, 2021 | 09:56:43 AM मा प्रकाशित

laxmi bank

कौसीखेती गरेका तस्बिरहरु अहिले सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती छन् । गाउँमा कयौँ रोपनी जमिन बाँझो भएकाहरु काठमाडौँमा भएको घरको छतमा मुस्किलले फलाएको ‘काँक्रो’ को चारतिरबाट तस्बिर खिचेर फेसबुक रङ्ग्याउनेहरु टन्नै छन् । 

वास्तविक किसानले अनुदान नपाएको, मलको अभाव खेपेको समाचारहरु वेवास्ता गर्दै बागमती प्रदेश सरकारले शहरमा भव्य घर भएकाहरुलाई कौसीखेती गर्न १० हजार अनुदान दिँदै आएको छ ।

काठमाडौँमा घर भएकालाई कौसीखेती गर्न सरकारले अनुदान दिनुपर्ने अवस्था पक्कै छैन । काठमाडौँमा घर हुने मान्छे कम्तीमा पनि २ करोड रुपैयाँको मालिक हुन्छ । उसैको घरको छतमा तरकारी फलाउन १० हजार अनुदान दिनु आफैँमा विरोधाभाष देखिएको जानकारहरु बताउँछन् ।

काठमाडौँ उपत्यकाका ३ जिल्लाका १७ सय बढी घरधनीले कौसी खेतीका लागि अनुदान लिईसकेका छन् । 

‘भीआईपी एरिया’का घरधनी १० हजार अनुदान बुझ्दै

एउटा समूहमा २५ जना भएपछि मात्रै अनुदान पाइन्छ । यस्तो अनुदान लिनेमा काठमाडौँको सबैभन्दा बढी महँगो जग्गा भएको क्षेत्र नयाँ बानेश्वर, थापाथली, न्युप्लाजामा घर भएका घरधनीहरु पनि छन् । 

बानेश्वरका २५ घरधनीले १०/१० हजारका दरले २ लाख ५० हजार रुपैयाँ अनुदान बुझेका छन् । 

ललितपुरको भैँसेपाटी, भक्तपुरको सूर्यविनायक लगायतका भीआईपी क्षेत्रमा घर भएका धनाढ्यहरु १० हजार अनुदान लिन समूह बनाएर पुग्ने गरेका छन् । २ वर्षमा काठमाडौँका ३ जिल्लाका १ हजार ६९८ घरधनीले १ करोड ६९ लाख ८० हजार अनुदान बुझेका छन् । 

उपत्यका बाहिर चितवनमा मात्रै यो कार्यक्रम लागू छ । चितवनमा २ वर्षमा जम्मा ४ सय घरधनीले एक घर बराबर १० हजारका दरले कौसीखेती गर्न अनुदान लगेका छन् ।

के भन्छन् विज्ञ ?

कृषि मन्त्रालयमा रहँदा कृषि अनुदानका सम्बन्धमा लामो समय अध्ययन गरेका पूर्व सहसचिव तेजबहादुर सुवेदी कौसी खेतीका लागि अनुदान दिने नमूना कार्यक्रम भएपनि पैसा आवश्यक नै नपर्ने वर्गलाई यस्तो अनुदान दिए जस्तो देखिने बताउँछन् ।

‘१० हजार २० हजार रुपैयाँ यो वर्गलाई ठूलो होइन, त्यसैले नचाहिने वर्गलाई अनुदान दिए जस्तो देखिन्छ’ उनी भन्छन्, ‘विपन्नले पाएका छैनन्, सम्पन्नले पाए भन्ने कोणबाट पनि कुरा उठ्न सक्छ तर, कौसी खेतीमा गएको अनुदान समग्र कृषिमा गएको अनुदान हेर्ने हो भने एकदमै थोरै हो ।’

उनले ‘यो पनि गर्न सकिन्छ है, यसरी पनि ताजा तरकारी फलाउन सकिन्छ है’ भनेर शहरमा शारिरीक श्रम नगरी बसेकाहरुलाई काममा लगाउन पनि यो कार्यक्रम आएको बताएका छन् । 

‘पैसा मात्रै गएको छ भनेर हेर्नु हुँदैन, वर्षमा १० हजार दिँदा त्यो घरका मान्छेहरु बिहान बेलुका कौसीखेतीमा लागे भने उनीहरुले शारिरीक श्रम गर्छन्, यसले स्वास्थ्यलाई फाइदा पुग्छ’ सुवेदी थप्छन्, ‘ताजा तरकारी खान पाएपछि त्यसले पनि स्वास्थ्यलाई फाइदा गर्छ, यसरी दोहोरो फाइदा पनि हेर्नुपर्छ, नागरिकको स्वास्थ्यका लागि पनि यो कार्यक्रम राम्रो हो, कार्यक्रम कार्यान्वयन गर्ने निकायले अनुगमन मूल्यांकनमा कुनै खराब नियत नराखे राम्रो हो ।’

बागमती प्रदेशसँगै काठमाडौँ महानगरपालिकाले पनि कौसीखेती गर्न अनुदान दिने गरेको छ । महानगरले ८० प्रतिशत अनुदान दिन चालू आर्थिक वर्षमा १६ लाख विनियोजन गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved