प्रेम आलेले भने, ‘पर्यटन मन्त्रालय चलाउन सकिँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 11, 2021 | 01:13:07 PM मा प्रकाशित

laxmi  sunrise bank

नेकपा एमालेबाट विभाजन भएर नेकपा एकिकृत समाजवादी बन्दा एमालेको केपी ओली समूहका केही नेता माधब नेपालको पक्षमा लागे । एमाले छोडेर नेकपा एस बनेका नेतामध्येका एक हुन् प्रेम बहादुर आले ।

ओली नेतृत्वको तत्कालिन सरकारमा बनमन्त्री रहेका आले ओलीको बहिर्गमनसँगै मन्त्रालयबाट च्युत भए । मन्त्री बन्ने दाउमा माधब नेतृत्वको नेकपा एसमा लागेका आलेले पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका छन् । तर, मन्त्री बनेको ४८ घण्टामै आलेले पर्यटन मन्त्रालय चलाउन नसकिने अभिव्यक्ति दिएका छन् ।

निगमप्रति कटाक्ष

मन्त्री प्रेम आले सबैभन्दा बढी आक्रोशित नेपाल वायुसेवा निगमप्रति देखिए । किनभने, कुनै समय संसदीय समितिमा रहँदा वाइडबडी प्रकरणमा उलेख्य कटाक्ष गरेका आले अहिले आफैँ पर्यटनमन्त्री भएपछि निगममा भईरहेको कर्मचारीको आन्दोलनबारे उनले असन्तुष्टि पोखे ।

पर्यटन मन्त्रालय सम्बद्ध निकायहरुले आयोजना गरेको स्वागत कार्यक्रममै मन्त्री आलेले ‘अहिलेकै अवस्थामा पर्यटन मन्त्रालय चलाउन सकिँदैन’ भनिदिए ।

नेतृत्वलाई सहयोग गर्नुको सट्टा जहाजलाई घाममा सुताएर कर्मचारीहरु ९९ दिनदेखि आन्दोलित हुनु सैह्य कदम नभएको उनको भनाई छ ।

९९ दिनदेखि ट्रेड युनियनको आन्दोलन जारी रहेको निगमप्रति नै उनको आलोचना धेरै रह्यो । उनले नियमित उडान नगराई जहाज घाममा सुतिरहेको र बेलैमा जहाज उडाउन नसकेकोमा असुन्तुष्टि पोखे ।

नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीसहित निगमका महाप्रवन्धक डिम प्रकाश पौडेल सहभागी कार्यक्रममा आलेले ‘यस्तो तालले यो (पर्यटन) मन्त्रालय चलाउन सकिँदैन, वाइडबडीको ऋण मात्रै २७÷२८ अर्ब छ, ती वाइडबडी जहाज चाहिँ घाममा सुताएर राखिएको छ, जहाजलाई तातो घाममा सुकाएर पैसा आउँछ ? यसरी त पैसा आउँदैन होला नि, त्यसलाई उडाएपछि पो पैसा आउने हो त, युज नगरी सुकाएर हुन्छ ?’

‘आन्तरिक विमानस्थल चरन क्षेत्र भए’

मन्त्री आलेले आन्तरिक विमानस्थलमा पनि उडान संख्या थप हुन नसकेकोमा असन्तुष्टि देखाए । 

‘हाम्रा पहाडका एयरपोर्ट युज भएका छैनन्, एयरपोर्ट छन् तर, त्यहाँ उड्ने टुइनटर, एटीआर जहाज छैनन्’ उनले भने, ‘त्यतातिर खोइ ध्यान ? अब आन्तरिक उडान पनि थप गर्नेगरी काम सुरु हुन्छ ।’

उनले सरकारले खर्च गरेर बनाएका डोमेस्टिक एयरपोर्टहरु चरन क्षेत्र हुनु दुर्भाग्य भएको भन्दै अब यस्तो हुन नदिईने दाबी गरे ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved