५ वर्षमा भित्रिएको ३७७ किलो अवैध सुन कहाँ गयो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 25, 2021 | 11:13:16 AM मा प्रकाशित

laxmi  sunrise bank

पछिल्ला वर्षहरुमा सुनको अवैध आयात क्रमशः कम हुँदै गएको देखिएपनि रोकिएको भने छैन । पछिल्ला ५ वर्षमा मात्रै ३७७ किलो सुन अवैध रुपमा आयात भएको छ । यो बरामद भएको सुन हो । 

अवैध रुपमा भित्रिएको तर, प्रहरी, भन्सार, एयरपोर्टलगायत कसैले पनि थाहा नपाएको वा पूर्व सूचना नभएको अवस्थामा अवैध रुपमा भित्रिएको सुन बरामद हुने कुरा नै भएन । र, यसरी बरामद नभएको सुनको तथ्यांक पनि हुँदैन । 

कुन वर्ष कति भित्रियो अवैध सुन ?

आर्थिक वर्ष २०७३/०७४ देखि २०७७/०७८ सम्म आईपुग्दा ३ सय ७७ किलो सुन अवैध रुपमा भित्रिएको छ । आर्थिक वर्ष २०७८/०७९ को साउन, भदौ र असोजमा अवैध रुपमा सुन नेपाल भित्र्याउने व्यक्तिहरु पक्राउ परेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ को साउन र भदौ र असोजको दोस्रो हप्तासम्मका घटना हेर्दा यो वर्ष ७.५ किलो सुन बरामद भईसकेको छ । यद्यपी, असोज मसान्त सम्मको तथ्यांक आउन बाँकी छ ।

तर, आर्थिक वर्ष २०७३/०७४ मा ६४ किलो, आर्थिक वर्ष २०७४/०७५ मा २ सय किलो, आर्थिक वर्ष २०७५/०७६ मा ५१ किलो र आर्थिक वर्ष २०७६/०७७ मा ३० किलो सुन बरामद भएको थियो । २०७६/०७७ मै ३३ किलो सुन काण्डका रुपमा चर्चित बनेको गोरे समूहले तस्करीमार्फत ल्याएको उक्त परिमाणको सुन अझै भेटिएको छैन ।

यद्यपी, यो घटनामा मुख्य संग्लन भनिएका गोरे भनिने चूडामणी उप्रेतीको समूहले ३८ क्वीन्टल सुन अवैध रुपमा ओसारपसार गरेको छानबिन समितिको निष्कर्ष थियो । तर, अदालतले सुन काण्डमा गोरेसहित सबैलाई उन्मुक्ति दिँदै गोरेलाई भने शनम शाक्यको हत्या अभियोगमा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अवैध रुपमा सुन तस्करी हुने प्वाल हामीले टाँलिदियौँ’ भनेर दाबी गरेको वर्ष ०७७/०७८ मा मात्रै ३२ किलो अवैध सुन बरामद भएको छ ।

कहाँ जान्छ बरामद भएको अवैध सुन ?

बरामद भएको अवैध सुनमा पहिलो हक राष्ट्र बैंकको हुन्छ । भन्सार नियमावली २०६४ अनुसार बरामद भएको सुन यदि राष्ट्र बैंकले किन्न नचाहेमा भन्सार विभागको स्वीकृत लिई यस नियमावली बमोजिम कायम भएको मूल्यका आधारमा १ लाख रूपैयाँसम्म मूल्यको भएमा डाँक बढावढद्वारा र १ लाख रूपैयाँभन्दा बढी मूल्यको भएमा बोलपत्रको माध्यमद्वारा लिलाम गर्नुपर्ने व्यवस्था छ ।

भन्सार नियमावलीको नियम ३६ को उपनियम ९ मा ‘यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जफत भई वा भन्सार कार्यालयबाट छुटाई नलगी नेपाल सरकारको हुन आएकोे सुन, चांदी, हिरा, जवाहरात, अमूल्य खनिजपदार्थ वा यसबाट वनेका गहना तथा अन्य वस्तुहरू नेपाल राष्ट्र बैंकले खरिद गर्ने भएमा सो बैंकमा दाखिला गर्न पठाई प्रचलित मूल्य बमोजिम बिक्री गर्नु पर्नेछ’ भनिएको छ ।

सोही उपनियममा ‘नेपाल राष्ट्र बैंकले खरिद नगरेमा वा आंशिक रूपमा मात्र खरिद गरी बाँकी रहेमा त्यस्ता वस्तुहरू विभागको स्वीकृत लिई यस नियमावली बमोजिम कायम भएको मूल्यका आधारमा एकलाख रूपैयाँसम्म मूल्यको भएमा डाँक बढावढद्वारा र एकलाख रूपैयाँभन्दा बढी मूल्यको भएमा बोलपत्रको माध्यमद्वारा यस नियमावलीबमोजिम लिलाम गर्नु पर्नेछ’ भनेर उल्लेख गरिएको छ ।

वैध आयातमा कोरोनाको असर

नेपालमा सुन आयातको काम वाणिज्य बैंकहरुले गर्दै आएका छन् । आर्थिक वर्ष २०७५/०७६ मा ७ हजार ४५० किलो सुन आयात भएकोमा २०७६/०७७ मा भने तीन गुणाले आयात घट्यो । यो वर्ष जम्मा २ हजार ४ सय किलो सुन मात्रै भित्रियो । 

२०७६ चैतबाटै कोरोनाको भयावह स्थिती सिर्जना भएका कारण आर्थिक वर्ष २०७६/०७७ मा सुनको आयात घट्यो । त्यसपछि आर्थिक वर्ष २०७७/०७८ मा ३ हजार ९ सय किलो सुन आयात भएको छ । यो सुन बिक्रि भईसकेको छ ।

हाल बैंकहरुले दैनिक २० किलो सुन आयात गर्ने अनुमति पाएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved