तीव्र महत्वकांक्षाले डुबेका ‘धुर्मुस–सुन्तली’ अब के गर्लान् ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 26, 2021 | 01:56:20 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाली हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) रिल मात्रै नभई रियल लाइफमा पनि श्रीमान श्रीमति हुन् । तर, २०७२ सालको महाभुकम्पले उनीहरुको कलाकारितालाई धराहरालाई जस्तै गर्ल्याम्म ढालिदियो ।

धराहरा त करिब करिब उठ्यो, तर धुर्मुस–सुन्तली भने झनझन भाँसिदै गएको उनीहरुकै अभिव्यक्तिबाट बुझ्न सकिन्छ ।

यसरी ‘करियर’ ढल्नुमा बाहिरी प्रभाव केही होइन, उनीहरुको चरम महत्वकांक्षा नै कारक बन्यो । भुकम्पको समयमा अमेरिकामा रहेका उनीहरु त्यहाँ रहेका नेपालीले दिएको सहयोग लिएर काठमाडौँ आईपुगे । यहाँ ओर्लनासाथ उनीहरुमा एकाएक समाजसेवाको मात चढ्यो र ह्वात्तै हाम फाले ।

करोडको कामपछि सिँधै ३ अर्बमा हात

सहयोग उठाएर उनीहरुले केही एकिकृत बस्ती बसाए । सुरुमा ‘धुर्मुस–सुन्तली एकीकृत बस्ती’ नाम राखेर उनीहरुले गिरानचौरमा बस्ती बनाएपछि सहयोगीहरु बढ्न थाले ।

सहयोगीकै देनमा उनीहरुले पहरी बस्ती, महोत्तरीको बर्दिबासमा एकीकृत बस्ती र रौतहटको सन्तपुरमा एकीकृत नमुना बस्ती बनाए । 

सन्तपुर बस्ती बनाउँदा ५ करोड ९५ लाख सहयोग उठेकोमा ५ करोड ५४ लाख खर्च भएको धुर्मुस–सुन्तली फाउण्डेशनको विवरणमा उल्लेख छ । मुसहर बस्ती बनाउन ७ करोड ६३ लाख सहयोग उठेकोमा ५ करोड ४ लाख खर्च भएको र गिरानचौर बस्तीका लागि ६ करोड १८ लाख रुपैयाँ संकलन भएको र त्यसमध्ये ५ करोड १३ लाख रुपैयाँ खर्च भएको विवरण फाउण्डेशनमा छ ।

पहरी बस्ती बसाल्न ६७ लाख २० हजार सहयोग उठेको र यो रकम सबै खर्च भएको बताइन्छ । 

यसरी साना पैसा उठाएर समाजसेवाको रुपमा करोडका ४ वटा प्रोजेक्ट सकेका धुर्मुस–सुन्तली सिँधै अर्बको प्राजेक्टमा हात हाल्न पुगे ।

क्रिकेट रंगाशालाको लागत ३ अर्ब अनुमान गरिएको थियो । तर, यो सबै रकम बस्ती बसाउन आउने सहयोग रकम जसरी नै आउँछ भन्ने सोचे । एकातिर नमूना बस्ती बनाएपछि ‘महान समाजसेवी’ कहलिएको बेला र अर्कोतिर नेपालमा क्रिकेटको उच्च प्रशंसा भईरहेको समयमा उनीहरु चरम महत्वकांक्षी बनेर अन्तराष्ट्रिय क्रिकेट रंगाशाला बनाउने लहडमा लागे ।

५४ करोड खर्च, १६ करोड ऋण

रंगाशालाको काम अहिलेसम्म ३५ प्रतिशत सकिएको छ । यसो हुनुमा आर्थिक संकट नै सबैभन्दा पहिलो कारक बनेको छ । बस्ती बसाउन रकम संकलन गरेकै मोडल अपनाउँदा उनीहरुले १ अर्ब पनि संकलन गर्न सकेनन् ।

दाताको सहयोग र सरकार (विभिन्न तहका सरकार) बाट संकलन भएको ५४ करोड खर्च गरे । उनीहरुले यो बाहेक उदारो सामान किनेको ठाउँमा १६ करोड ऋण तिर्न बाँकी रहेको बताउँदै आएका छन् । 

अब के गर्लान् ?

बास्तवमा भन्ने हो भने, लहडमा लागेर चरम महत्वकांक्षी बन्दा धुर्मुस–सुन्तलीको अहिले ‘हरिबिजोग’ भएको छ । एकातिर प्रोजेक्ट अलपत्र हुने खतरा छ भने अर्कोतिर अब पुनः कलाकारितामा फर्किएर अहिलेको ‘ट्रेण्ड’मा स्थापित हुन अर्को सकस पर्नेछ ।

दीपकराज गिरी र दिपाश्री निरौलाको टेलिश्रृङखला ‘तितो सत्य’ले दर्शक हँसाउन छोडेको समयमा हास्य टेलिश्रृङखला ‘मेरी बास्सै’ को उदय भएको थियो ।

तितो सत्य भन्दा ३ वर्षपछि नेपाल टेलिभिजनबाट प्रसारणमा आएको ‘मेरी बास्सै’ ले केदार घिमिरे (माग्ने बुढा) र धुर्मुस–सुन्तलीलाई स्थापित गरायो । 

तर, समाजसेवाको नाममा नमूना बस्ती बनाउँदा उठाएको रकम पारदर्शी रुपमा सार्वजनिक नगरेको जस्ता आरोप उनीहरुमाथि लाग्यो । यसबारे उनीहरुले खासै उत्तर नै दिएनन् । 

त्यतिबेला मनग्य आर्थिक आम्दानी गरेका यी दम्पतीले कलाकारिता चटक्कै छोडे । एउटा फिल्म बनाएको भएपनि त्यसले ब्यापार गर्न सकेन । झन, रंगाशालाकै निर्माण सुरु गरेपछि उनीहरु अर्को तनावमा परे । 

रंगाशाला बनाउन सकिँदैन भन्दै सञ्चारमाध्यममा आएपनि उनीहरुले फाउण्डेशन सरकारलाई हस्तान्तरण गर्ने वा नगर्ने भन्ने केही बोलेका छैनन् । रंगाशाला बनाउँदा लागेको १६ करोड तिर्न अब के गर्ने भन्ने प्लान पनि उनीहरुले बनाएको देखिँदैन ।

कलाकारितामै फर्किएपनि उनीहरुले विगतको ‘हाइट मेन्टेन’ गर्न नसक्ने विश्लेषण पनि हुँदै आएको छ । यसबारे उनीहरुले कहिले मुख खोल्छन्, त्यो भने हेर्न बाँकी नै छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved