वर्षमान र कुलमानले ४ अर्ब घोटला गरेको आरोपमाथि किन भएन छानबिन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 28, 2021 | 02:53:19 PM मा प्रकाशित

laxmi  sunrise bank

२०७६ साल असार १ गते आइतबार तत्कालिन उर्जामन्त्री वर्षमान पुन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि गम्भीर आरोप लाग्यो । प्रतिनिधिसभाको बैठकमै सांसद प्रकाश रसाईली ‘स्नेही’ले पुन र कुलमान मिलेर ४ अर्ब २९ करोड रुपैयाँ भ्रष्टाचार गरेको आरोप लगाएका थिए ।

तर, २ वर्ष ४ महिना (२८ महिना) भईसक्दा पनि संसदमै उठेको यो विषयले गम्भीरता पाएन । यस बारेमा वर्षमान पुन र कुलमान घिसिङ कसैले पनि जवाफ दिएनन् । न त सांसद रसाईलीले नै यसबारे बारम्बार प्रश्न उठाउन आवश्यक ठाने ।

सांसद रसाईलीले पुन र कुलमान मिलेर उद्योगीसँग लिनुपर्ने ४ अर्ब २९ करोड रुपैयाँ नलिएर घोटला गरेको आरोप लगाएका थिए । 

‘एउटा उपसमिति बनेको थियो । त्यो उपसमितिको प्रतिवेदनमा प्राधिकरणमा मन्त्रालयका मन्त्री अध्यक्ष रहेको सञ्चालक समितिलाई ४ अर्ब २९ करोड रुपैयाँ उठाउनु पर्छ भनेर निर्देशन दिएको थियो’ उनले भनेका थिए, ‘आज त्यो प्रतिवेदन कहाँ लुकाएर राखेको छ थाहा छैन । नेपाली जनताले तिरेको करबाट उठेको पैसा व्यापारीसँग मिलेर ठग्ने काम भएको छ ।’

अहिले कुलमानले उद्योगीसँग मागेको पैसा त्यही हो ?

अतिरिक्त बिजुली प्रयोग गरेको भन्दै अहिले कुलमान घिसिङ नेतृत्वको विद्युत प्राधिकरणले उद्योगी व्यवसायीसँग २०७२ सालदेखिको बक्यौता तिर्नुपर्ने भन्दै ताकेता गर्दै आएको छ । तर, उपलब्ध कागजात, २०७२ माघ १० तथा २०७३ साल साउन १२ गतेको प्राधिकरणको आफ्नै निर्णयले पनि उद्योगीहरुले त्यतिबेला अतिरिक्त बिजुली नपाएको देखिन्छ ।

तर, संसदमा समेत पैसा उठाउन नसकेको, पैसा नउठाएर व्यापारीसँग मिलेको, कमिशन खाएको तथा घोटला गरेको लगायतका आरोप लागेपछि कुलमान आक्रामक बनेको बताइन्छ । 

‘त्यतिबेला ४ वर्षसम्म पैसा किन नउठाई बसेको भन्ने प्रश्न अहिले आउनु स्वभाविक हो’ स्रोत भन्छ, ‘उद्योगीहरुले त्यतिबेला बिजुली प्रयोग गरेको देखिँदैन पनि, बिजुली नै प्रयोग नगरेपछि पैसा माग्ने कुरा आएन । तर, संसदबाट बनेको एउटा उपसमितिले टन्नै पैसा उठाउन बाँकी छ भन्दियो । केही नलागेपछि प्राधिकरण चिठी काट्न बाध्य भएको हो, तर यो पैसा उठ्दैन, किनकी उनीहरुले प्रयोग नै नगरेको बिजुलीको पैसा किन तिर्छन् ।’

के भन्छन् सांसद स्नेही ?

बझाङबाट नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेर प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद प्रकाश रसाईली स्नेही अहिले पनि त्यतिबेला तत्कालिन उर्जामन्त्री पुन र कुलमान व्यवसायीसँग मिलेको दाबीबाट पछाडी फर्किएका छैनन् । 

‘राज्यलाई ठग्ने काम भएकै हो, तर जति बोलेपनि सुनुवाई नहुने अवस्था छ’ उनले बिजपाटीसँग भने, ‘व्यापारीसँग मिलिमतो गरेकै हुन्, अब फेरि बोल्नुपर्ला । अहिले संसद अवरुद्ध छ, खुलेपछि यो कुरा फेरि राख्छु ।’

उनले त्यतिबेला मन्त्री (वर्षमान पुन) र प्राधिकरणका हाकिम व्यापारीसँग मिलेको बताउँदै २ वर्षभन्दा अगाडी आफूले संसदमा उठाएको यो विषय कसैले पनि गम्भीरताका साथ नलिनु दुःखद भएको पनि बताएका छन् ।

त्यतिबेला एमाले र माओवादीको गठबन्धनका कारण छानबिन हुन नसकेको स्नेहीले संकेत गरेका छन् । तर, अहिले पनि काँग्रेस र माओवादी मुख्य सत्ता घटक रहेका कारण छानबिन हुनेमा भने उनी विश्वस्त देखिएका छैनन् । यद्यपी, संसदमा यो विषय अब बारम्बार उठाउनेमा भने उनी दृढ देखिएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved